काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय स्थिति र आवश्यकता हेरेर मात्र काँग्रेसले चुनावी तालमेल गर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत बिहीबार महामन्त्री शर्माले तालमेलको लागि ‘स्थानीय स्थिति र आवश्यकता’ बटमलाइन रहेको बताएका हुन्।
‘केन्द्रबाट गठबन्धन नथोपर्ने काँग्रेस केन्द्रीय समितिको संस्थागत निर्णय हो। त्यसैले निर्णयमा स्थानीय स्थिति र आवश्यकता हेरेर मात्र ‘तालमेल गर्न सक्ने’ उल्लेख छ,’ उनले लेखेका छन्, ‘गर्न सक्ने भन्नुको अर्थ स्थानीय स्थिति अनुकूल गर्ने, भावना प्रतिकुल नगर्ने भन्ने पनि हो। हामी बिलकुल प्रष्ट छौं।’
उनले पार्टीले तय गरेको मोडालिटी भन्दा बाहिर गएर कसैले चुनावी तालमेलको लागि दबाब दिए त्यो मान्य नहुने पनि स्पष्ट पारे। केन्द्रबाट गठबन्धन नथोपार्ने पार्टी केन्द्रीय समितिको संस्थागत निर्णय रहेको पनि उनले प्रष्ट्याए। चुनावी तालमेलको निर्णय ‘स्थानीय स्थिति र आवश्यकता’ हेरेर मात्र लिइने उनको भनाई छ।
‘काँग्रेस केन्द्रले सर्वसम्मत गरेको संस्थागत निर्णय भन्दा दायाँबायाँ, तलमाथि केही नगर्न हामी प्रतिबद्ध छौं,’ उनले अगाडि भनेका छन्, ‘तर, बटमलाइन’ प्रष्ट छ- स्थानीय स्थिति र आवश्यकता’। ‘मोडालिटी’ भनिरहँदा त्यसभन्दा बाहिर गएर थोपर्ने कुरा व्यवहारिक हुनेछैन, हामी यसमा पनि एकदम प्रष्ट र दृढ छौं।’ काँग्रेसले केन्द्रबाट स्थानीय चुनावमा गठबन्धन लाद्न खोजेको आरोप आइरहेका बेला महामन्त्री शर्माले त्यस विषयमा प्रस्टोक्ति दिएका हुन्।




लोकपाटी न्यूज

