रवीन्द्र मिश्र छोटे हिट्लर हुन् : मिलन पाण्डे

Rabindra-Misra_Milan-Pandya
लोकपाटी न्यूज

काठमाडौं। विवेकशील साझा पार्टीबाट निष्कासनमा परेका मिलन पाण्डेले पार्टी कार्यालय कसैको पेवा नभएको बताएका छन्। विवेकशील साझामा विवादले उग्र रूप लिएको बेला नेता पाण्डेले पार्टी कार्यालय अध्यक्ष रवीन्द्र मिश्रको पेवा नभएको प्रतिक्रिया दिएका हुन्।

पार्टीको संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच विवाद उत्पन्न भएपछि मंगलबार केहीबेर ललितपुरको बखुण्डोलस्थित पार्टी कार्यालय तनावग्रस्त बनेको थियो। पार्टी कार्यालयमा रहेको हलमा कार्यक्रम गर्ने विषयलाई लिएर दुवै पक्ष वादविवादमा उत्रिएका थिए। विवादले उग्र रूप लिएपछि पार्टी कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ। अध्यक्ष रवीन्द्र मिश्र पक्ष र संगठन विभाग प्रमुख निर्देश शिलवाल पक्षबीच पार्टी कार्यालयमा विवाद भएको थियो।

विवादका कारण कार्यालयमा ताला लागेपछि नेता पाण्डेले पार्टी अध्यक्ष रवीन्द्र मिश्रलाई ‘छोटे हिट्लर’को संज्ञा दिएका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘रवीन्द्र मिश्र नेपाली राजनीतिका छोटे हिट्लर हुन्।’ अध्यक्ष मिश्रले पार्टी कब्जा गर्न खोजेको आरोप पनि पाण्डेले लगाएका छन्।

‘आज रवीन्द्र मिश्रले आफ्नै पार्टीका नेताहरूलाई पार्टी अफिसमा प्रवेशमा रोक लगाएर पार्टी कब्जा गर्ने प्रयत्न गरेका छन्। यो उनको अर्को अलोकतान्त्रिक कदम हो,’ उनले भनेका छन्। यसअघि हिजो सोमबार असन्तुष्ट पक्षको बैठकले अध्यक्ष मिश्रलाई कारबाही गर्नेगरी छलफल गरेको थियो। सोही विषयमा प्रकाशित पार्न आज बिहान पार्टी कार्यालयमै पत्रकार सम्मेलन गर्ने बताएको थियो।

तर, अध्यक्ष मिश्र पक्षले कर्मचारीबाहेक अन्यका लागि पार्टी केन्द्रीय कार्यालय बन्द गरेको सूचना जारी गरेपछि पार्टीको असन्तुष्ट पक्ष आक्रोशित बनेको थिए। मिश्र पक्षले अवरोध गरेपछि पार्टी कार्यालयमा नाराबाजी चलेको थियो। यससँगै पार्टी कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्