रुससँग शान्ति वार्ताका लागि टर्की पुग्यो युक्रेनी प्रतिनिधिमण्डल

फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। युक्रेनी प्रतिनिधिमण्डल रुससँगको शान्ति वार्ताका लागि टर्की पुगेको छ। युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभको नेतृत्वको प्रतिनिधिमण्डल टर्कीको इस्तानबुल पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ।

दुई हप्तापछि युक्रेन र रुसबीच वार्ता हुन गइरहेको छ। त्यस्तै, राष्ट्रपति कार्यालयका प्रमुख मिखाइल पोडोल्याक पनि वार्ता टोलीमा सहभागी छन्। युक्रेनले वार्तामार्फत युद्धविरामको प्रयास सफल बनाइने बताएको छ। दुई देशबीचको वार्ता टर्कीका राष्ट्रपति रेचेप तय्यप एर्दोआनको उपस्थितिमा हुनेछ। वार्ता स्थानीय समयअनुसार मंगलबार बिहान १० बजेदेखि सुरु हुने छ।

रुसले युद्धविरामका लागि युक्रेनले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)मा आबद्ध नहुने प्रतिबद्धता चाहेको छ भने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की उक्त सर्त मान्न तयार रहेको बताइएको छ।

त्यस्तै, वार्तामा पृथकतावादी समूहको नियन्त्रणमा रहेका युक्रेनी भूभागको भविष्यका बारेमा पनि कुरा हुने सम्भावना रहेको छ।