– मिलन आफन्त
मानव जीवनमा शिक्षाको ठुलो महत्त्व छ। शिक्षा प्राप्त व्यक्तिहरू नै अन्धकारबाट प्रकाशमा, अज्ञानताबाट ज्ञानमा, अवन्तिबाट उन्नति र निराशाबाट आशामा पुगेका हुन्छन्। यति महत्त्वपूर्ण शिक्षालाई वर्तमान पुँजीवादी संसारमा पैसा कमाउने माध्यम बनाइएको छ्। शिक्षालाई सर्वसाधारणको पहुँच भन्दा माथि पुर्याउने दुष्प्रयत्न भइरहेको छ। त्यसमा पनि वर्तमान शिक्षा प्रणाली अपरीपक्क र अवैज्ञानिक छ। वर्तमान शिक्षा प्राप्त व्यक्तिले अध्ययन पूरा गरिसकेपछि पनि बेरोजगारीको समस्या भोग्नु पर्ने हुन्छ।
जुनसुकै देशको शिक्षा नीति त्यस देशको राजनीतिको मातहतमा रहने हुँदा सामन्ती व्यवस्थामा सामन्त उत्पादन गर्ने योग्यता भएको शिक्षा प्रणाली हुन्छ। बुर्जुवा व्यवस्थामा बुर्जुवा योग्यता भएको जनशक्ति उत्पादन गर्ने शिक्षा प्रणाली हुन्छ। जन बादी र समाजवादी व्यवस्थामा जनताका दैनिक समस्या समाधान गर्ने योग्यता भएको जनशक्ति उत्पादन गर्ने शिक्षा प्रणाली लागु गरिन्छ। वास्तवमा शिक्षाका मार्क्सवादी मान्यता प्रयोग गरिएको शिक्षा प्रणाली नै विश्वको सबैभन्दा उत्कृष्ट शिक्षा प्रणाली हो। यस लेखमा हामीले शिक्षा सम्बन्धी मार्क्सवादी दृष्किोणलाई प्रस्ट पार्ने जमर्को गरेका छौँ।
जुनसुकै व्यवस्थामा पनि आफ्नो वर्गलाई मध्यनजर राखेर शिक्षा नीति तयार गरिएको हुन्छ। त्यसै गरी कम्युनिष्ट व्यवस्थामा सर्वहारा वर्गलाई मध्यनजर गरी शिक्षा ब्यवस्था अपनाइएको हुन्छ। कम्युनिष्ट व्यवस्थामा अपनाउने शिक्षा प्रणाली जन बादी दृष्किोणबाट वा मार्क्सवादी दृष्टिकोणले लेस भएको हुन्छ। मार्क्सवादी दृष्टिकोणमा लेस कम्युनिष्ट शिक्षा प्रणाली प्राप्त जनशक्ति कहिल्यै बेरोजगार हुनु पर्दैन। सबैले काम पाउँछन् , उत्पादन र वितरण व्यवस्थित हुन्छ। जीवनस्तर उच्च हुँदै अघि बढ्छन्। असमानता पनि कम हुँदै जान्छ। देश समुन्नतिको मार्गतर्फ अघि बढ्दछ। शिक्षा धनी व्यक्तिको मात्र पेवा नभइकन जनताको पहुँचसम्म पुग्दछ।
विद्यार्थीको चाहना र क्षमता अनुसार उच्च शिक्षासम्म विना रोकतोक अध्ययन गर्न सक्ने वातावरण सृजना हुन्छ। शिक्षाको मापदण्ड धनसम्पति नभै चाहना र क्षमता अनुसार सर्वसुलभ हुन जान्छ। शिक्षा सम्बन्धी मार्क्सवादी दृष्टिकोण यही हो भन्ने कुरा हामीले बुझ्नु पर्दछ। मास्र्कवादीको दृष्टिकोण नपुगेको संसारमा कुनै पनि वस्तु छैन। हरेक बस्तु प्रति फरक कोणबाट श्रमजीवी वर्गीय कोणबाट, प्रगतिशिल कोणबाट माक्र्सबादले आफ्नो धारणा बनाउँदछ। राजनीति,अर्थनीति , सांस्कृतिक हरेक क्षेत्रमा आफ्नो मौलिकपन माक्र्सबादीले सिद्ध गरिसकेको छ।
शिक्षामा पनि माक्र्सबादले भिन्न दृष्टिकोण अङ्गकार गर्ने गरेको छ। मार्क्सवादी शिक्षाको अन्तिम उद्देश्य पूर्ण मानव बनाउने हो। पुँजीवादी शिक्षा पद्धति दिनानुदिन दिन मान्छेलाई स्वार्थी र लोभी, एकलौटीपन बनाएको छ भने मार्क्सवादी शिक्षा पद्धतिले मानिसलाई व्यवहारिक र समाजप्रति उत्तरदायी बनाउँदछ। वर्तमान पुँजीवादी व्यवस्थाको शिक्षा नीति वर्ग समन्वयको शिक्षा नीति हो। परस्पर विरोधी वर्ग बिच समन्वयको आधारमा ज्ञान प्राप्त गर्ने भन्ने शिक्षा नीति हो त्यसो गर्दा सम्पन्न वर्गको स्वार्थ पूरा हुन्छ। वर्तमान व्यवस्थामा विपन्न वर्गका मानिसहरूले बढी परिश्रम गर्न र कम सुविधा लिन बाध्य हुन्छन्। साँचो अर्थमा भन्ने हो भने वर्तमान बुर्जुवा शिक्षा सर्वसाधारण जनता र मेहनतका जनताको हित विपरीत छ। तसर्थ पनि मार्क्सवादी शिक्षा दृष्टिकोण वर्तमान शिक्षा प्रणालीको विरुद्धमा छ।
मार्क्सवादी शिक्षा प्रणालीले सबै वर्गको होइन, श्रमजीवी सर्वहारा वर्गको सिद्धान्तलाई अङ्गीकार गरेको हुन्छ। यस्ले शोषक र शोषित मध्ये शोषितको पक्ष पोषण गरेको हुन्छ। मार्क्सवादी शिक्षा पुरातन, रुढी बाढी, धार्मिक, अन्धविश्वास ईश्वर भक्ति ढाँचाको होइन, वैज्ञानिक ढाँचाको हुन्छ। विज्ञान र प्रविधिमा आधारित रहेर मात्रै आधुनिक शिक्षा दिन सकिन्छ। लेनिनले भनेका थिए, ‘साम्यवादको निर्माण माक्र्साबादी दृष्टिकोणले लेस आधुनिक शिक्षाको आधारमा मात्र गर्न सकिन्छ। मार्क्सवादी दृष्टिकोणले लेस आधुनिक शिक्षा बेगर साम्यवाद परिकल्पना मात्र रहन जानेछ।’
पुँजीवादी व्यवस्थाको हालीमुहाली रहेको वर्तमान विश्वमा हामी मार्क्सवादी शिक्षा लिनबाट पुर्णरुपमा बन्चित छौँ। संसारमा कुनै मार्क्सवादी विद्यालय छैन तर पनि कम्युनिष्ट हिमायतीहरूले स्व-अध्ययनबाट मार्क्सवादी शिक्षालाई अवलम्बन गरिरहेका छन्। माक्र्सबादले ज्ञानको स्रोत निम्न ३ किसिमको हुन्छ भन्ने मान्यता राख्दछ। १) वर्ग सङ्घर्षको सिलसिलामा प्राप्त हुने ज्ञान २) उत्पादन सङ्घर्षका सिलसिलामा प्राप्त हुने ज्ञान ३) वैज्ञानिक प्रयोगका सिलसिलामा प्राप्त हुने ज्ञान।
अन्तमा के भन्दा अत्युक्ति नहोला भने शिक्षा सम्बन्धी मार्क्सवादी दृष्टिकोण नै शिक्षा सम्बन्धी सबैभन्दा उत्कृष्ट दृष्टिकोण हो। मार्क्सवादी दृष्टिकोणले लेस शिक्षाले मात्र विश्वभरिका जनताको मुहार फेर्न सक्दछ। मार्क्सवादी शिक्षाको लागि हामी विश्ववासीहरूले आ-आफ्नो सरकारलाई दबाब दिनुपर्दछ। अन्यथा हामीले जनवाद, सामाजबादको लागि सङ्घर्ष गर्न पनि पछि पर्नु हुँदैन जहाँ मात्र मार्क्सवादी शिक्षाको निश्चितता हुन्छ। शिक्षा सम्बन्धी मार्क्सवादी दृष्टिकोण अजेय छ, पूर्ण छ , जनताको पक्षमा छ।



लोकपाटी न्यूज

