वीरगन्ज। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट अलग भएको घोषणा गरेका नेता राजेशमान सिंह जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन्। सोमबार वीरगन्जमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा नेता सिंह जसपा प्रवेश गरेका हुन्। उनलाई जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले टीका र माला लगाएर पार्टीमा स्वागत गरेका हुन्।
संघीय सांसद् प्रदीप यादव, प्रदेश सांसदहरु तथा जिल्लाका नेताहरुको उपस्थितीमा सिंहसँगै लोसपा र अन्य राजनीति दल त्यागेर युवाहरुको एउटा ठूलो समूह पनि जसपा प्रवेश गरेको छ। नेता सिंहले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी एमाले जाने तयारी गरेका थिए। तर, एमालेले आफूभन्दा पहिले नै वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीलाई पार्टी प्रवेश गराएपछि उनी असन्तुष्ट भएका थिए।
सिंहलाई आगामी स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयर लडाउने जसपाको तयारी रहेको एक नेताले बताए। नेता सिंह पनि आफू आगामी निर्वाचनमा मेयरको चुनाव लड्ने बताएका छन्। मधेस आन्दोलनको एक जना चर्चित नेताको रुपमा उनको उदय भएको थियो। अघिल्लो निर्वाचनमा सिंह तत्कालिन राष्ट्रिय जनता पार्टीबाट मेयर लडेर तेस्रो लोकप्रीय मत ल्याएका थिए।



लोकपाटी न्यूज

