काठमाडौं। राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले पोखरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। लघुवित्तले एक कार्यक्रमकाबीच पोखराको चौथेमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। उक्त शाखा सञ्चालनमा आएसँगै लघुवित्तको शाखा सङ्ख्या ९९ वटा पुगेका छन्।
नेपाल भ्रमणमा रहेका ग्रामीण ट्रस्टका प्रबन्ध निर्देशक ए.हाई खाँले लघुवित्तको शाखा उद्घाटन गरेका हुन्। लघुवित्तका पिता (फादर अफ माइक्रो फाइनान्स) एवम् ग्रामीण ट्रस्ट बंगलादेशका अध्यक्ष प्रो. मोहम्मद युनुसको सम्मानमा राष्ट्र उत्थान लघुवित्तले युनुस-पोखरा शाखा स्थापना गरेको हो।
शाखा कार्यालय उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गण्डकी प्रदेश प्रमुख डा. रामशरण खरेल र पोखरा महानगरपालिका १४ का वडा अध्यक्ष प्रेम कार्कीको विशेष उपस्थिति रहेको थियो।
एमडी हाई खाँले लघुवित्तको मुख्य प्रवर्तक नेपाल ग्रामीण विकास संस्था (नेपाल रुलर डेभलपमेन्ट अर्गनाइजेशन (नेरुडो)) सँग दशकौँ पुरानो सम्बन्धको बारेमा जानकारी गराउँदै लघुवित्तलाई सबै सहयोग गर्ने आश्वासन दिए।
राष्ट्र बैङ्कका प्रमुख डा. खरेलले ग्रामीण ट्रस्टसँग मिलेर विपन्न वर्गको उत्थानका लागि राष्ट्र उत्थान लघुवित्तले खेलेको भूमिकाको प्रशंसा गरेका थिए। लघुवित्तका प्रमुख कार्यकारी निर्देशक सुधीर प्रसाद लोहनीले युनुस-पोखरा शाखाको आगामी योजना तथा कार्यक्रमबारे जानकारी गराएका थिए।
प्रो.युनुस एक बंगलादेशी सामाजिक उद्यमी, बैङ्कर, अर्थशास्त्री र नागरिक समाजका नेता हुन्। जसलाई ग्रामीण बैंकको स्थापना र लघु ऋण र लघुवित्तको अवधारणालाई अग्रगामी गरेकोमा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।



लोकपाटी न्यूज

