हुम्ला। हुम्लाको नाम्खा गाउँपालिका-६ लिमीमा स्थानीय बासिन्दाले स्थानीय तहको चुनावअघि नै जनप्रतिनिधि चुनेका छन्। जुम्लाको उत्तरी नाम्खा गाउँपालिका-६ लिमीका स्थानीय बासिन्दाले गएको मंसिर ३० गते नै बैठक बसेर नयाँ जनप्रतिनिधि छनोट गरेका हुन्।
लिमीका स्थानीय बासिन्दाको आफ्नै नीति-नियम रहेको र यो कुनै नौलो कुरा नभएको नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा तामाङको भनाइ छ। उनका अनुसार आफ्नो गाउँ ठाउँका लागि स्थानीय बासिन्दा आफैँले जनप्रतिनिधि चयन गर्ने गरेका छन्। वडाका जनप्रतिनिधि छनोट पछि आउँदो वैशाख ३० गते हुने चुनावमा लिमीबासीले गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि मात्रै मतदान गर्ने छन्।
यो पहिलेदेखि नै चलिआएको रीति रिवाज भएको स्थानीयको भनाइ छ। लिमीका स्थानीय बासिन्दा महत्त्वपूर्ण निर्णय लिन कात्तिक अन्तिम हप्ता र मंसिरको पहिलो हप्ता बैठक बस्छन्। त्यही अनुसार गएको मंसिर ३० गते बसेको बैठकले वडाध्यक्ष र सदस्यहरू चयन गरेको हो। वडा अध्यक्षमा उनीहरूले पाल्जोर तामाङलाई नै दोहोर्याएका छन्।
वडा सदस्यहरू भने सबै नयाँ चयन भएका छन्। वडा अध्यक्षमा दोहोरिएका पाल्जोर तामाङ गाउँमा खाद्यान्न अभाव भएपछि सिंहदरबार गुहार्दै गएको मंसिरमा काठमाडौं आएका थिए। पाँच दिनको पैदल यात्रा अनि एक दिनको हवाई यात्रापछि वडाध्यक्ष तामाङ मंसिर ७ गते काठमाडौं आइपुगेको थिए। उनकै पहलमा गाउँमा चामल पुगेको थियो। आलु र उवा मात्रै उत्पादन हुने लिमी क्षेत्रमा खाद्यान्न अभाव हुने गरेको छ।



लोकपाटी न्यूज

