काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक कपिलवस्तुमा सुरु भएको छ। कपिलवस्तु शिवगढीस्थित आफ्नै कार्यालयमा बिहान ८ बजेदेखि जारी बैठकले स्थानीय तह निर्वाचनबारे पार्टीको धारणा तय गर्ने नेताहरूले बताएका छन्। बैठकमा मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे पनि छलफल हुने छ।
‘चार पार्टीको गठबन्धन सरकारले घोषणा गरेको स्थानीय निर्वाचनबारे पार्टी धारणासहित राष्ट्रिय/अन्तर्राष्ट्रिय विषयमा बैठकमा छलफल हुने छ र आगामी कार्यक्रमहरू तय गरिने छ,’ पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले भने। प्रवक्ता विश्वकर्माका अनुसार वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई उपयोग वा बहिस्कार गर्ने भन्नेबारे बैठकले नीतिगत निर्णय गर्ने छ।
गत फागुन २६ मा सम्पन्न भएको सचिवालय बैठकमै महासचिव विप्लवले चुनाव उपयोगबारे प्रस्ताव गरेका थिए। उक्त प्रस्तावबारे नेकपाको उच्च तहमै समान मत छैन। पाँच सदस्यीय सचिवालय बैठकमा विप्लवको प्रस्तावको पक्षमा प्रवक्ता विश्वकर्मा मात्रै उभिएका थिए। बास्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’यसको विपक्षमा थिए। अर्का सचिवालय सदस्य सन्तोष बुढामगर भने तटस्थ बसेका थिए। पार्टीमा विप्लव र प्रवक्ता विश्वकर्माको पकड भएकाले केन्द्रीय समिति बैठकले चुनाव उपयोगको नीति लिने अनुमान गरिएको छ।
संसदीय व्यवस्थाको विरोध गर्ने नेपाल कम्युनिस्ट पार्टीले अहिलेसम्म स्थानीय तह निर्वाचनमा भाग लिने/नलिने टुंगो लगाएको छैन। अघिल्लो स्थानीय तह निर्वाचन विप्लव समूहले बहिस्कार गरेको थियो। आफ्नै पार्टी कार्यालयमा बस्न लागेको पहिलो केन्द्रीय समिति बैठकले यसबारे निर्णय लिने बताइएको छ। पार्टी प्रवक्ता विश्वकर्मा भन्छन्, ‘केन्द्रीय कमिटीले निर्णय नगर्दै हाम्रो पार्टी स्थानीय निर्वाचनमा भाग लिन लागेको हल्ला फिजाइएको छ। यो सरासर गलत हो। यसबारे केन्द्रीय कमिटीले नै टुंगो लाउने छ।’



लोकपाटी न्यूज

