राजेश हमालले दिए मेयर बन्नेबारे यस्तो प्रतिक्रिया

Rajesh-Hamal
लोकपाटी न्यूज

काठमाडौं। अभिनेता राजेश हमालको मेयर चाहना यतिबेला चर्चाको विषय बनेको छ। उनले बिहीबार आफ्नो अफिसियल युट्युव पेज सार्वजनिक गर्दै एक भिडियो अपलोड गरेका थिए। जसमा राजेशले काठमाडौं शहरलाई ब्युटिफाइ गर्ने कुरोमा कसैको ध्यान नदिएको भन्दै आफ्नो मेयर चाहना राखेका थिए।

उनको उक्त भिडियोपछि सर्वसाधारणमा यस बिषयले चर्चा पाउन थालेको छ। के राजेश हमाल राजनीतिमा आउन लागेका हुन्? उनी राजनीतिमा के आउँथे, उनी राजनीतिमा आउनुपर्छ भन्ने जस्ता बहस अहिले सर्वसाधारणले गरिरहेका छन्।

यतिसम्मकी बजारमा राजेश नेकपा एमालेमा प्रवेश गर्ने समेत चर्चा चल्न थालेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा रहेको समय पनि राजेश चलचित्र विकास बोर्ड अध्यक्ष बन्ने हल्ला चलेको थियो। उक्त समय ओली र हमालको पटक-पटक भेट पनि भएको थियो।

हुन त अभिनेता हमालले पनि राजनीतिमा आउने संकेत बेला बेलामा गर्दै आएका छन्। उनले अहिले दिएको काठमाडौंको मेयर नै बन्ने इच्छा पनि उक्त संकेत मान्न सकिन्छ। यस्तै बिहीबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा अतिथिका रुपमा पुगेका हमाललाई प्रश्न राखिएको थियो ‘तपाईं मेयर बन्ने चर्चा चलिरहेको छ, वास्तविकता के हो?’।

‘कागको पछाडि नदौडिनुहोस्, कान छाम्नुहोस्। त्यो हल्ला मात्रै हो, अरु केही होइन ’ राजेशले हाँसेर जवाफ दिँदै विषय यतिकै टुङ्ग्याएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्