‘प्रेम निस्वार्थ गरौं, कसैको सुन्दर जीवनसँग खेलबाड नगरौं’

shivajit tiwari
लोकपाटी न्यूज

-शिवजी तिवारी

बहकिने मन एकतममा भएको छ। केही लेख्ने चाहानाले छटपटी भएको छ। लेख्ने के ? किन लेख्ने ? मेरो लेखाइका पाठक छन् कि छैनन् ?  यदि पाठक छन् भने उनीहरू मेरो लेखबाट सन्तुष्ट छन् कि छैनन् ? उत्तरको अपेक्षा त छैन तथापि उत्तरको खोजी गरिरहेको छ मन। जे जस्तो होस् उत्तर, मैले लेखनबाट आफूलाई पाउने सन्तुष्टि अरू कुनै कार्यबाट पाउन सक्तिन।

जीवनमा एक न एक पटक प्रेममा नपरेको मान्छे त शायदै होलान्। प्रेममा पर्ने बित्तिकै सबैका प्रेम सफल हुन्छन् भन्ने पनि छैन। पहिलो प्रेमको सफलता दर पनि निकै कम हुने गर्दछ भन्ने चर्चा हुने गर्छ बेलाबेला। प्रेम गर्नेहरू सबै भाग्यमानी हुन्छन् भन्ने पनि छैन। धेरै प्रेमीहरू एकतर्फी प्रेम गरेर आफ्नो प्रेमलाई अमर बनाइरहेका हुन्छन्।

एकतर्फी प्रेम त्यो हो, जसमा एउटाले माया गर्छ, तर अर्कोले त्यो प्रेम अस्वीकार गर्छ। मलाई पनि पहिले त्यस्तै लाग्थ्यो। आजभोलि बुझ्दै छु, एकतर्फी प्रेममा अर्कोले पनि माया त गरेकै हुन्छ तर अर्काको मायाको गहिराइ कति छ बुझेको हुँदैन। प्रेम गर्नेले बुझाउन सक्दैन। सम्भवतः त्यही कारणले उनीहरूको प्रेम सफल हुँदैन।

केही प्रश्नहरू निकै जटिल हुन्छन्, जस्तो कि आफ्नो प्रेम सम्बन्ध किन टुङ्गियो भन्ने धेरैलाई थाहै हुँदैन। आखिर प्रेम सम्बन्धमा के त्यस्ता कारणहरू हुन्छन्, जसले गर्दा टाढिन्छन् प्रेम गर्नेहरू ? प्रेम कस्तो हुन्छ ? के प्रेम निराकार हुन्छ हो ? प्रेम भनेको के हो ? माया भनेको के हो ? प्रेम र मायाको उत्तरको पछाडि दौडियौँ भने शायद यसको जवाफ यो जुनीमा भेट्न सकिँदैन होला। विभिन्न युगमा विभिन्न प्रेमी र विद्वानले प्रेमको परिभाषा आ-आफ्नो तरिकाले दिएका छन्। प्रेम परिभाषित गर्नेले साँच्चिकै प्रेम गर्छन् या गर्दैनन् त्यो त यसै भन्न सकिँदैन तर प्रेम गर्नेहरू यसको परिभाषा नजान्दै  प्रेमको गहिराइमा डुब्दै जान्छन्।

मानिसहरूले भने झैँ प्रेम निस्स्वार्थ छ भनौँ भने प्रेममा स्वार्थ पनि भेटेको छु। प्रेममा छलकपट हुँदैन भनौँ भने छलकपट गर्नेको लामै लाइन देखेको छु। मलाई लाग्छ प्रेम यथार्थ हो। लाग्छ जीवनको मीठो भोगाइ हो प्रेम। साहित्यमा नभेटिने रस हुन्छ प्रेममा। अन्धकारमा नदेखिने उज्यालो हुन्छ प्रेममा। निराकारमा देखिने आकार हुन्छ प्रेममा। तर, पनि प्रेमी विभिन्न चरण र बाध्यमा परेका हुन्छन्।

आमाले छोरालाई गर्ने प्रेम, बुवा-छोरीको प्रेम, दाजुभाइ, दिदीबहिनीको प्रेम, साथीसंगीको प्रेम र मानिस र जनावरको प्रेम। जति पनि प्रेमलाई हामीले नियाल्ने कोसिस गर्छौँ हरेक कुरामा माया तथा आत्मीयता भेट्छौं। त्यसैले प्रेम एक महान् सत्य हो। तर, आजभोलि जुन हिसाबले प्रेममा विकृति बढेको छ म फेरि सोच्न बाध्य हुन्छु आखिर के हो त यो प्रेम भन्ने चिज ? कोहीसँग घण्टौँको फोनमा कुराकानी गर्दैमा, कसैलाई मीठा कुरा भन्दैमा, गुलाफको फूल दिँदैमा हुने हो त प्रेम ? फेरि नियालेर हेर्छु, प्रेम होटेल रिपोर्टको रुमभित्र भेटिन्छ, परीक्षा हलमा, गजल बारमा, डिस्को र रात्रि क्लबमा, शपिंग सेन्टरभित्र, मुभी थिएटरमा भेटिन्छ। अनि भन्न मन लाग्छ  प्रेम सत्य नभई यौवनको आकर्षण मात्र हो।
बर्खे यामको खहरे जस्तो जवानीको रसपानको लागि मानिसहरू एकान्त स्थान खोजिरहेका हुन्छन् एकले अर्कालाई झुकाएर क्षणिक खुसी प्राप्त गर्न मात्र खोजिरहेको हुन्छन्। आकाशको तारा झार्नेदेखि बङ्गारा झार्नेमा गएर प्रेम टुङ्गिएको हुन्छ, प्रेम अनि भन्न मन लाग्छ,  केटाले केटीलाई र केटीले केटालाई भोग गर्ने बहाना मात्रै हो प्रेम। निश्चल, निष्कपट प्रेम त केवल लेखकीय भावना मात्रै हो।

प्रेम भावनात्मक हुनु पर्छ, एक अर्कालाई बुझ्ने हुनुपर्छ, एकले अर्कालाई समय दिनु पर्छ एक अर्को बिना बेचैनी हुनुपर्छ। एक अर्काप्रति समर्पण हुनुपर्छ। लाज, घिन, दुखसुख आदि इत्यादि भन्दा पर हुनुपर्छ प्रेम। एकतर्फी प्रेमले गर्दा मानिसलाई बेचैनी बढाउँछ, छपट्टि बढाउँछ, प्रेमीलाई डिप्रेसनमा लैजान्छ भने अन्ततः धेरै प्रेमीहरूले आत्महत्या समेत गरेका उदाहरण प्रशस्त छन्। तसर्थ कसैलाई झुटो आश्वासन दिएर स्वार्थ पूरा गर्न र शारीरिक आकर्षणको लागि मात्र प्रेम गर्नु भन्दा सुरुवात मानै दुवै प्रेमी प्रेमिकाले हर कुरा स्पष्ट बनाउँदा कसैको जीवन बरबाद हुनबाट जोगिन्छ भने जीवन सुखमय पनि हुन्छ। अर्को साँचो कुरा के हो भने शारीरिक मिलन मात्र प्रेम होइन। धन सम्पत्तिसँग र आफ्नो स्वार्थसँग साटिने प्रेमले गर्दा समाजमा माया प्रेम सम्बन्धी नकारात्मक सोच पैदा हुँदै गएको छ। विश्वासको धरातलमाथि उभिएर गरिने प्रेममाथि घृणा पैदा हुँदै गएको छ।

तसर्थ माया प्रेमलाई व्यापार नबनाऊ अरूको भावनासँग खेल्न बन्द गरौँ। समयको विभिन्न कालखण्डमा हामीले सुनेका भोगेका तथा देखेका प्रेम कहानीहरू समेत साक्षी छन्। सत्य युगका भावनाहरुका प्रेम कहानी, रसलीलादेखि अहिले कलियुगको रोमियो जुलियट, मुना मदनदेखि अहिले गाउँदेखि सहरको गल्ली गल्लीसम्म देखिने माया प्रेमले प्रेमको परिभाषालाई समेत फरक बनाएको छ भने अहिलेको समाजलाई चुनौती समेत दिएको छ। त्यसैले प्रेम निस्वार्थ गरौं, बुझेर गरौं, एकतर्फी प्रेममा पागल भएर जीवन बरबाद नगरौँ, कसैको सुन्दर जीवनसँग खेलबाड नगरौँ, प्रेम सम्झौतामा नगरौं सबैलाई शुभकामना ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्