विश्वकप लिग-२ : घरेलु टोली यूएई ओमानसँग पराजित

लोकपाटी न्यूज

काठमाडौं। आईसीसी विश्वकप लिग-२ अन्तर्गत एकदिवसीय सिरिजमा ओमानले १५ औं जित निकालेको छ। सिरिज अन्तर्गत शनिबार घरेलु टोली यूएईलाई १२ रनले हराउँदै ओमान ३२ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा कायमै छ।

दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा ओमानले दिएको २२६ रनको लक्ष्य पछ्याएको यूएईले ४८.५ ओभरमा सबै विकेट गुमाएर २१३ रन मात्र बनाउन सक्यो। उसका लागि कप्तान अहमद राजाले टिमलाई जित नजिक पुर्‍याए पनि सफल हुन सकेनन्।

४२.६ ओभरमा १७२/९ को खराब अवास्थामा रहेको यूएईलाई राजाले जित नजिक पुर्‍याए पनि हार टार्न सकेनन्। उनले ३३ बलमा दुई छक्का र एक चौकासहित ३१ रनको योगदान दिए। त्यस्तै, वृत्त अरविन्दले ४४, बसिल हमीदले ३२, रोहन मुस्तफाले २५, अफिफ खानले २२, चुन्दगापोयल रिजवानले २१, र चिराग सुरीले १२ रन बनाए।

ओमानका बिलाल खानले सर्वाधिक पाँच विकेट लिए। खानले ९.५ ओभरमा १ मेडन राखेर ३१ रन खर्चिदै ५ विकेट लिएका थिए। कलिमुल्लाहले २, मोहम्मद नदिम, खवर अली र अयान खान १/१ विकेट लिए ।

त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २२५ रन बनाएको थियो।उसका लागि शोएब खानले अर्धशतकीय पारी खेले। ८९ बल खेलेका उनले तीन चौकासहित ६१ रन बनाएका थिए। त्यस्तै, अयान खानले ३९, कप्तान जीशान मक्सूदले ३५, सन्दीप गौडले २२ र जतिन्दर सिंहले १९ रनको योगदान दिए।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन्। यूएईका जाहूर खानले तीन, रोहन मुस्तफाले दुई, बसील हमीद र जुनैद सिद्धिकीले एकरएक विकेट लिए। यो सँगै २४ खेलमा १५ जित, ७ मा हार र दुई खेलमा अंक बाँडेको ओमान ३२ अंक जोड्दै शीर्षस्थानमा छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्