जर्मन दार्शनिक तथा वैज्ञानिक, जर्मन शास्त्रीय आदर्शवादका जन्मदाता, आलोचनात्मक अथवा प्रागनुभविक आदर्शवादका प्रणेता। पूर्वआलोचनात्मक अवधिमा (१७७० भन्दा पहिले) कान्टले आफ्नो विश्व-उत्पत्तिसम्बन्धी परिकल्पना निरुपित गरेका थिए, जसअनुसार सौर्यमण्डल कुनै आदिम नीहारिकाबाट उत्पन्न भयो। साथसाथै कान्टले हाम्रो आकाशगंगाभन्दा बाहिर एउटा बृहद ब्रम्हाण्डको अस्तित्वको परिकल्पना प्रस्तुत गरे, ज्वारीय घर्षणको फलस्वरुप पृथ्वीको घुम्ने क्रिया मन्द हुने कुरासम्बन्धी सिद्धान्त, गति र निष्क्रियताको सापेक्षतासम्बन्धी सिद्धान्त, आदिको विकास गरे।
ब्रम्हाण्ड तथा पृथ्वीको स्वाभाविक विकास विषयक भौतिकवादी विचारद्वारा सूत्रबद्ध यी अध्ययनहरूले द्वन्द्ववादको निरूपणमा महत्वपूर्ण भूमिका निर्वाह गरे। पूर्वआलोचनात्मक अवधिका कृतिहरूमा कान्टले ह्यूमको अनुभववाद तथा संशयवादको प्रभावअन्तर्गत वास्तविक तथा तार्किक कारणहरूको बीचमा अन्तर अंकित गरे, दर्शनमा निषेधात्मक मानको अवधारणालाई प्रचलनमा ल्याए र रहस्यवाद तथा अध्यात्मवादप्रति आफ्ना समकालीनहरूको अनुरागको खिल्ली उडाए। यी सबै कृतिहरूमा चिन्तनका आकारगत निगमानात्मक विधिहरूको भूमिकालाई अनुभवको हितमा संकुचित गरिएको छ।
१७७० मा कान्ट आलोचनात्मक अवधिका विचारहरूको पक्षमा आए, १७८१ मा उनका कृति ‘विशुद्ध बुद्धिको आलोचना’, त्यसपछि १७८८ मा ‘व्यावहारिक बुद्धिको आलोचना’ तथा १७९० मा ‘तर्कको क्षमताको आलोचना’ प्रकाशित भए। तिनीहरूमा कान्टले संज्ञानको आलोचनात्मक सिद्धान्त, नीतिशास्त्र, सौन्दर्यशास्त्र, प्रकृतिको प्रयोजनमूलकताको मतको लगातार प्रतिपादन गरे। आलोचनात्मक अवधिका कृतिहरूमा कान्टले संज्ञानका रूपहरू तथा मानिसका संज्ञानात्मक क्षमताहरूका सीमाहरूको आरम्भिक अध्ययनबिना चिन्तनात्मक दर्शनको (त्यस बेलाको शब्दावलीमा अधिभूतवादको) प्रणालीको रचनाको असम्भाव्यता सिद्ध गरे।
यो अध्ययनले उनलाई अज्ञेयवादतिर, यो दाबीतिर लिएर गयो कि मानौं वस्तुहरूको प्रकृति, जुन रूपमा तिनीहरू स्वयं विद्यमान छन् (वस्तु-निजरुप), सैद्धान्तिक रूपमा मानव-संज्ञानको लागि अप्राप्य छ। केवल आभासहरूको ज्ञान मात्र सम्भव छ, जसको माध्यमबाट वस्तुहरूले आफूलाई हाम्रो अनुभवमा प्रकट गर्दछन्। वास्तविक सैद्धान्तिक ज्ञान केवल गणित तथा प्रकृति विज्ञानमा मात्र सुलभ छ। कान्टका अनुसार निरपेक्ष ज्ञानको अदम्य आकांक्षा बुद्धिमा अन्तर्निहित छ। यो आकांक्षाको दबावमा मानिसको बुद्धिले समय तथा स्थानमा जगतको सीमितता वा असीमितता, जगतका अविभाज्य तत्वहरुको अस्तित्वको सम्भावना, जगतमा घटिरहेका प्रक्रियाहरूको स्वरुप, नितान्त अनिवार्य सत्ताको रूपमा ईश्वर विषयक प्रश्न समाधान गर्ने प्रयास गर्दछ।
कान्टले यो मान्दथे कि विपरीत समाधान समान रुपले सिद्ध गर्न सकिन्छ : जगत सीमित छ र असीमित छ; अविभाज्य कणहरू (परमाणुहरू) को अस्तित्व छ र अविभाज्य कणहरूको अस्तित्व छैन; सम्पूर्ण प्रक्रियाहरू कारणहरूमा आधारित छन् र यस्ता प्रक्रियाहरू छन्, जुन कारणहरूमा आधारित हुँदैनन्; नितान्त अनिवार्य सत्ता अस्तित्वमान हुन्छ र हुँदैन। यसरी बुद्धि आफ्नो प्रकृतिले विप्रतिषेधात्मक हुन्छ, अर्थात् अन्तर्विरोधहरूले विभक्त हुन्छ। तर यी अन्तर्विरोधहरू, कान्टका अनुसार, केवल आभास मात्र हुन्। रहस्यको समाधान ज्ञानलाई आस्थाको पक्षमा सीमित गर्नु, वस्तु-निजरुप तथा आभासमा अन्तर गर्नु, वस्तु-निजरुपको अज्ञेयतालाई स्वीकार गर्नुमा निहित छ। यसरी मानिस एकसाथ स्वतन्त्र छैन (आभासको जगतमा सत्ताको रूपमा) र स्वतन्त्र छ (अज्ञेय अधिप्राकृतिक जगतको कर्ताको रूपमा), ईश्वरको अस्तित्व सिद्ध गर्न सकिँदैन र साथसाथै यो आस्थाको आवश्यक अवधारणा हो, जसमाथि जगतमा नैतिक व्यवस्थाको अस्तित्वको हाम्रो विश्वास आधारित छ, आदि।
बुद्धिको विप्रतिषेधात्मक स्वरुपको बारेमा यो मतले, जसले कान्टको लागि वस्तु-निजरुप तथा आभासको द्वैतवादको लागि अज्ञेयवादको लागि आधारको काम गर्यो, शास्त्रीय जर्मन आदर्शवादमा सकारात्मक द्वन्द्ववादको विकासलाई उत्प्रेरणा प्रदान गर्यो। यसको विपरीत संज्ञान, आचरण र सृजनशीलतालाई बुझ्नमा यो मत द्वैतवाद, अज्ञेयवाद तथा आकारवादको दास बनिरह्यो। उदाहरणको लागि, नीतिशास्त्रमा कान्टले निरपेक्ष प्रवर्गलाई आधारभूत नियम घोषित गरे, जसले यो माग गर्दछ कि मानिस यस्तो नियमबाट निर्देशित हुनुपर्दछ, जुन क्रियाकलापको नैतिक अन्तर्वस्तुबाट नितान्त स्वतन्त्र हुनुको कारण आचरणको सार्वभौमिक नियम बन्न सकोस्।
सौन्दर्यशास्त्रमा उनले सुन्दरलाई निस्पृह आनन्दमा सीमित गरिदिए, जुन यो कुरामा निर्भर हुँदैन कि कलाकृतिमा चित्रित विषय वास्तवमा अस्तित्वमान छ वा छैन, र केवल रुपबाट मात्र निर्धारित हुन्छ। तर कान्टले आफ्नो आकारवादलाई सुसंगत ढंगबाट लागू गर्न सकेनन्। नीतिशास्त्रमा निरपेक्ष प्रवर्गको आकारगत स्वरुपको विपरीत कान्टले प्रत्येक व्यक्तिको स्वमूल्यको सिद्धान्त प्रस्तुत गरे, जसको समग्र समाजको कल्याण्डमात्रको लागि बलि दिनु हुँदैन; सौन्दर्यशास्त्रमा सुन्दरको बोधमा आकारवादको विपरीत उनले काव्यलाई कलाको उच्चतम रुप घोषित गरे, किनभने यसले आदर्शको चित्रण गर्न सक्दछ, आदि।
सामाजिक जीवनको ऐतिहासिक प्रक्रियामा विरोधहरूको भूमिका तथा शाश्वत शान्तिको आवश्यकताको बारेमा कान्टका मतहरू प्रगतिशील थिए। उनी विभिन्न राज्यहरूको लागि परस्पर लाभदायक अन्तर्राष्ट्रिय व्यापार तथा सम्पर्कलाई शान्तिको स्थापना र त्यसलाई कायम राख्ने साधन मान्दथे। अन्तर्विरोधहरूले भरिएको हुनुको बाबजुद कान्टवादले वैज्ञानिक तथा दार्शनिक चिन्तनको कालान्तरमा विकासलाई धेरै प्रभावित गरेको थियो। कान्टको आफ्नो आलोचनामा मार्क्सवाद-लेनिनवादका संस्थापकहरूले यो प्रदर्शित गरे कि कान्टका भ्रान्तिहरू, अन्तर्विरोधहरू तथा असंगतिहरुका सामाजिक कारणहरू जग त्यो अवधिको जर्मन बुर्जुवा वर्गको पछौटेपन र कमजोरीमा निहित थियो। १९औं शताब्दीको अन्त र २०औं शताब्दीका पूर्वार्धका बुर्जुवा दार्शनिकहरूले कान्टका असंगतिहरुको उपयोग गरे र स्वयं आफ्ना प्रतिक्रियावादी सिद्धान्तहरूलाई न्यायोचित सिद्ध गर्नको लागि कान्टका अनेक गलत कथनहरूलाई ग्रहण गरे। -रमेश सुनुवारको दर्शन विश्वकोशबाट



लोकपाटी न्यूज

