म बर्सौ देखी हिँडिरहेको छु
यो बाटो
यात्रामा हजार ठेसहरुले मुर्छा दिलाएका छ्न्
कति काडाँहरुले चिथोरिरहेका छ्न्
पैतालाहरुमा,
कति दिलमा खिल बनेर बसेका छ्न
तर पनि मलाई हिंड्नु छ यही बाटो
जुन
मनले हिंड्न निर्देशित गरेको छ।
हिँडिरहनेछु यही बाटो
जहाँ अनेकन चोट, हार,प्रहारले पनि आनन्दित गराउँछन्
यो त एउटा जिन्दगीको महशुस न हो
जन्म र मृत्यु बिचको
यही महशुस
जिन्दगी
र जिन्दगी हिंडाउने एउटा बाटो।
अचेल
सत्यको बाटो हिंड्न सरल र सहज कहाँ छरु
थाह छ यो परिवर्तनको यूग हो
स्वार्थका खातिर मान्छेहरु कति सजिल्यै बाटो परिवर्तन गर्छ्न।
अरुको तलुवा चाटेर
शिर ठाडो पार्दै ठाँट्टिनेहरु
कौडीमा विकेर गाँठ्ठीनेहरु
बीच बाटोमा उभिएर भन्छन्
बाटो परिवर्तन गर
मलाई लाग्छ
परिवर्तनको बाटो त्यो हुँदै हैन।
बाटो केका लागि परिवर्तन गर्नेरु
यात्रामा अप्ठ्यारो हुनसक्छ,
केही समय लाग्न सक्छ गन्तव्यमा पुग्नका लागि
तर धैर्यताले
यही बाटोका
घुम्तीहरुमा
उकाली र ओरालीका खड्करीहरुमा
कहिले मोडीनु छ,
कहिले चढ्नु छ त कहिले झर्नु छ सुस्केरा हाल्दै
जिन्दगीको अनन्त सम्म
अन्याय अत्याचार र वेथितीका विरुद्ध।
ओ वैरीहरु हो
बिन्ती मलाई हिँडिरहेको बाटोमा रोक्न नखोज्नु
विचार र मुल्यको तराजुमा जोख्न नखोज्नु
ओ कालो धनमा पौडीने चाकडीबाजहरु
मलाई राम्रोसँग थाहा छ
पातहरुले झिल्को सङ्ग खेल्दाको परिणाम ।
उद्देश्यका खातिर हिँड्नु छ अझै
आफ्नै श्रम, पशिनाले एक छाक खाएर
एकसरो लाएर
स्वतन्त्रताको
मानवताको
स्वाभिमानको
रास्ट्रियताको
सार्वभौमिकताको
अखण्डताको र समृद्धि उन्मुख समाजबादको बाटो।



लोकपाटी न्यूज

