के हो वेखीवाद ?

Communists_Word_Shabda
लोकपाटी न्यूज

 रुसी बुर्जुवा वर्गको विचारधाराको एउटा प्रवृत्ति, जसको राजनीतिक आन्दोलनले रुसमा चलिरहेको जनवादी र सर्वहारा आन्दोलनको अवधिमा जन्म लिएको थियो। रुसी बुर्जुवा वर्गले शीघ्र नै आफ्नो प्रतिक्रान्तिकारिता प्रकट गर्‍यो। १९०२ मा भूतपूर्वक कानुनी मार्क्सवादीहरु स्त्रूवे, वेद्र्यायेव र बुल्गाकोभले कट्टर रहस्यवादीहरूसँग मिलेर ‘आदर्शवादका समस्याहरू’ शीर्षक एउटा लेखसंग्रह प्रकाशित गरे, जुन प्रत्यक्षवादको भौतिकवादी परिभाषा तथा भौतिकवादको विरुद्ध लक्षित थियो।

पछिका लेखसंग्रहहरु र दार्शनिक समाजहरूको स्थापनाको चरम बिन्दु थियो कार्यक्रमबद्ध संग्रह ‘वेखी’ (‘भूचिन्ह’) को १९०९ मा प्रकाशन। यो ‘उदारतावादी गद्दारीको विश्वकोश’ले, जस्तो कि लेनिनले यसलाई नाम दिएका थिए, तीन विषयहरूलाई आफ्नो परिधिमा लियो : १) रुसी तथा अन्तर्राष्ट्रिय जनवादको सम्पूर्ण विश्वदृष्टिकोणका विचारधारात्मक सिद्धान्तहरुको विरुद्ध संघर्ष, २) मुक्ति आन्दोलनको परित्याग, ३) जारशाहीको प्रसंगमा चाकडी भावनााहरु र तदनुरुप चाकडी नीति ।

‘वेखी’ले रुसी दार्शनिक-धार्मिक परम्परालाई, जसका प्रतिनिधि युरकेभिच, सोलोव्योभ तथा दोस्तोयेव्स्की थिए, भौतिकवाद तथ निरीश्वरवादको विरुद्धमा राख्ने प्रयत्न गर्‍यो। वर्गसंघर्षको नाराको विरुद्धमा उनीहरुले आन्तरिक, आत्मिक मुक्तिको खोजमा व्यक्तिको रक्षाको सिद्धान्त स्थापित गरे। उनीहरुले जारको सत्तालाई यो कुराको लागि आशिर्वाद दिए कि त्यसले हामीलाई जनताको आक्रोशबाट बचाइरहेको छ। प्रथम विश्वयुद्ध शुरु भएपछि वेखीवादीहरु अन्धराष्ट्रवादीहरुको पक्षमा र अक्टुवर क्रान्ति भएपछि राजतन्त्रवादी प्रतिक्रान्तिको पक्षमा देखिए।

प्रवासको क्रममा भूतपूर्व वेखीवादीहरुले प्रतिक्रान्तिको परित्याग गर्ने केही प्रवासी बुद्धिजीवीहरुमा विद्यमान प्रवृत्तिको विरोध गरे। आफ्नो विकासको क्रममा वेखीवादले यस्ता विभिन्न लक्षणहरु प्रकट गर्‍यो, जुन वर्तमान बुर्जुवा दर्शनका विशिष्ट लक्षणहरु हुन्। तिनीहरु हुन् : मार्क्सवादको विरुद्ध संघर्षको लागि धर्मका सूक्ष्म रुपहरुको उपयोग गर्ने प्रयत्न, नीतिशास्त्रमा चरम व्यक्तिवादको पक्षपोषण, दर्शनमा बौद्धिकताविरोध र आत्मवाद।

-रमेश सुनुवारको दर्शन विश्वकोशबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्