काठमाडाैं। कुनै समय थियो, आक्कलझुक्कल झुक्याएर आँखा जुधाएकै भरमा उ पनि आफूप्रती आकर्षित हो कि भनेर अनुमानको आधारमा घण्टौँ लगाएर प्रेमपत्र कोरेर आफ्नो मनको बाहव अक्षरमा उतार्नु पर्थ्यो। घण्टौँ लगाएर कोरिएका प्रेमपत्र प्रेषित गर्न त्यहाँ भन्दा तेब्बर पापड बेल्नुपर्थ्यो। बल्लतल्ल एउटा साथीलाई मनाएर पत्र हातमा थमाएपछि पनि हप्तौंसम्म जवाफको प्रतीक्षा गर्नुपर्थ्यो। पत्रकै फ्यान्टासीमा प्रेमको चरम आनन्द महसुस गर्नुपर्थ्यो। अहिले समय फेरिएको छ । प्रेमपत्र पनि लेख्ने चलन थियो भन्ने सुन्दा मात्रै पनि नयाँ पुस्तालाई अचम्मै लाग्छ होला। त्यसरी प्रेम गर्दाको रमाइलो अहिलेको स्वच्छन्द प्रेमीलाई के थाहा ? अनायासै नोस्टल्जिया ! त्यही पुरानो चलन स्मृतिमा घुमिरहेको हुनाले आज एउटा प्रेमपत्र लेख्ने जमर्को गरेको छु।
हजारौंको भीडभाड बीचमा केही हराए जस्तै लागेर मेरो आँखा छिटोछिटो दौडिरहेका थिए। हेर्दाहेर्दै मेरा नयनको बाटो हुँदै मेरो हृदयको एक कुनामा केही अजीब किसिमको कम्पन उत्पन्न भयो। तिम्रो एकै नजरले मैले आफूलाई गुमाएँ। म अनायासै तिमीतिर तानिएँ। अन्योलग्रस्त मन तिमीलाई पाएको कल्पनामा आफ्नो सारा दुनियाँ भुलेर लोलाउन थाल्यो ! म तिम्रो निर्मल आँखाको सागरमा डुबुल्की मार्न चाहन्छु, हराउन चाहन्छु, अनि भुल्न चाहन्छु आफैंलाई भन्दै बर्बराउन थाल्यो । त्यही दिनदेखि मेरो निदरीले मबाट संवन्ध बिच्छेद गरेको छ। भोकले पनि मलाई हतपत सम्झिने गरेको छैन। म आफ्नो यो कायल अवस्थाको चित्रण यही पत्रमार्फत् तिम्रो अन्तर्मनसम्म पुर्याएर आफूलाई तिमीमा समाहित गर्न चाहन्छु।
तिमी त यो मेरो प्रेमबारे नै अनभिज्ञ छौ। अचम्म लाग्छ त्यत्रा हतियारधारी सिपाहीले स्कर्टिङ गरेको गाडीमा सवार मन्त्रीमाथि धावा बोल्न दुस्साहस गर्ने म, किन तिमीसँग आँखा जुधाउन सक्दिनँ ? मेरा आँखा अनायासै किन झुक्छन् ?, तिमी सामू हुँदा मेरो जिउ किन शिथिल हुन्छ ? तिम्रो समीपमा आउँदा म किन शब्दबिहीन हुन्छु ? के तिमीलाई मेरो यो अवस्थाको आभास हुँदैन ? कि तिमी निर्दोष बनिरहेकी छौ सानु जानीजानी ?
भन्थे माया बस्न मात्र एक नजर नै काफी छ । तर म त्यसको प्रतिकार गर्थें, वाहियात ठान्थें । सोच्थेँ, यी त सब भन्ने कुरा न हुन्। अनि विश्वास गर्थेँ यथार्थमा। अरूले व्यक्त गर्ने अनुराग कुरामा कहिल्यै विश्वासै लाग्दैनथ्यो। तर अहिले ! म गलत भइरहेछु सानु ती निश्चल र निर्मल नयनका सामू म झुकेँ वा झुकाइएँ ।
हर प्रेमिल संगीतका धुनमा तिमीलाई नै सुन्ने गरेको छु। मन्द बहने पवनमा तिमीलाई आभास गर्ने गरेको छु। हर फूलको खुस्बुमा तिम्रो प्रेमको मीठो वासनाको अनुभव गर्ने गरेको छु। मेरो हृदयको हर धड्कन तिम्रै नाममा धड्किरहेका हुन्छन्। यी ओठ केवल तिम्रो नाम पुकारिरहेका हुन्छन्। के तिमीले सुनेकी छौ मेरो दिलको आवाज ? मेरो मानसमा प्रवाहित तरङ्ग तिम्रो मनसम्म आइपुगेका छन् ? तर जे जस्तो होस्, म यो सानो पत्र तिम्रो नाममा कोर्दैछु, एउटा झिनो आशाको त्यान्द्रोले मलाई उक्साइरहेको छ र भनिरहेको छ तिमीले एकदिन मेरो भावना बुझ्नेछौ। मेरो बर्खा यामको नदी झैँ उर्लिएको प्रेमलाई तिमीले चिहान बन्न दिनेछैनौ। तर, यो त मात्र मेरो मनको आशा न हो । अनायासै जुन दिवा सपना पनि हुन सक्छ भन्ने लाग्यो । यत्तिकैमा सर्जक तथा गायक, कमल खत्रीको गीत सम्झिएँ।
“कोरेर प्रेमपत्र मायालुलाई दिन किन किन सकिन
राखेर मनभित्र मायालुलाई भन्न किन किन सकिन।”
तिमी विश्वास गर या नगर मेरो माया सागर जस्तो निर्मल, हिमताल जस्तै पवित्र, बादल जस्तो शितल छ, वसन्तको सौन्दर्य जस्तो सुन्दर छ, गोधुली साँझ जस्तो शान्त अनि पाहड जस्तै अटल छ। तर मेरो मायालाई स्वीकार गर्नु या नगर्नु त्यो त तिम्रो इच्छाको कुरा हो सानु । म त फेरि अन्तर्मुखी, एकान्तप्रेमी स्वभावको पहाडी मान्छे, तिमीले स्वीकार्यौ भने संसारको सबैभन्दा धेरै र ठूलो खुसी मिल्नेछ मलाई। यदि अस्वीकार गर्यौ भने पनि गायक दिपक लिम्बूको गितझैँ,
“च्यातिए पनि तिम्रै हातले च्यातिन पायो मेरो पत्र …”
अस्वीकार नै गर्यौ भने पनि न्यानो माया अनि मिठो सम्झना ! सानु जीवनमा पहिलो प्रेमपत्र तिम्रो नाममा कोर्दैछु । तिम्रो न्यानो स्नेह र साथको आशामा। सायद हजारौं अस्वीकार भएछ भने पनि म सागरको यस गहिराईबाट पक्कै पनि तैरिन सक्ने छैन।
तिमी, केवल तिमी। पूर्ण रूपमा बस् तिमीसँग समाहित हुन चाहन्छु। ती नीलो सिंगै सागर बोक्ने तिम्रो नयन, त्यो हिस्सी परेको मुखमण्डल अनि अनि त्यो मादक मधुर मुस्कान देख्दा लाग्छ तिमी मानव नभएर साक्षात् स्वर्गकी परी हौ । तिमी मेरो हुन्छौ भन्ने आशामा कल्पिँदा मात्रै पनि संसारका सबै सुख र खुसीहरु मेरा पाउमा झुकिरहेका छन् झैँ लाग्छ। के मादक छ तिम्रो मुस्कानमा, जसले हरक्षण मलाई पागल अनि पागल बनाउँदै लगिरहेको छ। तर यो पागलपन, उफ ! कस्तो आनन्दको आभास। तिमीलाई एउटा कुरो भनौं ? मेरा नजरहरू तिमीलाई नै खोजिरहन्छन्। एकोहोरो टोलाइरहन्छन्। आजकल तिमी हिँड्ने बाटोमा म मेरा नजर बिछ्याएर बसिरहन्छु। केवल तिमीलाई लुकेरै नियाल्न।
थाहा छैन यो पत्रको जवाफ दिन तिमी आवश्यक ठान्छौ या ठान्दिनौ । तर मैले तिमीलाई निस्वार्थ प्रेम गरेको छु। अस्वीकारै गरे पनि म दु:खी हुने छैन। मेरो मायामा कुनै स्वार्थ नै छैन अनि मैले तिमीलाई जबर्जस्ती पाउने चेष्ठा गर्ने पनि छैन। प्राप्ति मात्रै पक्कै प्रेम हैन त्यसैले अप्राप्तीमा पनि तिमीप्रती असीम माया पोखिदिनेछु छताछुल्ल हुने गरी, अनि हराउनेछु आँफैभित्र। मलाई थाहा छ, मेरा हरेक श्वासका झोंक्का तिमीप्रति समर्पित हुनेछन्। अनि मेरो प्रेम झन् प्रगाढ हुनेछ। तिमीप्रतिको प्रेम मेरा हरेक अवयवहरुमा सिंचित गरेर राख्नेछु अनि जिउने प्रयास गर्नेछु तिम्रै प्रेममा…
म तिम्रो जवाफ पर्खिरहनेछु कालान्तरसम्म अनि गरिरहनेछु निस्वार्थ प्रेम !
उही तिम्रो मायाको आशामा सवार मुसाफिर
शिवजी तिवारी पोखरा



लोकपाटी न्यूज

