प्रधानमन्त्री देउवाले छलफलका लागि बोलाए बारका पदाधिकारी

लोकपाटी न्यूज

काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन चर्काइरहेका नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।

नेपाल बारका महासचिव लिलामणि पौडेलले शुक्रबार बिहान साढे १० बजेका लागि प्रधानमन्त्री देउवाले भेट्न बोलाएको जानकारी दिए । दुवै बारका पदाधिकारी तथा वरिष्ठ अधिवक्ताहरूको टोलीले प्रधानमन्त्री देउवालाई प्रधानन्यायाधीश जबरालाई पदमुक्त गर्न भूमिका खेल्न आग्रह गर्ने उनले बताए ।

बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई गत सोमबार बुझाएको धारणापत्र प्रधानमन्त्रीलाई पनि बुझाउनेछ ।

प्रधानन्यायाधीश जबराविरुद्ध सर्वोच्च अदालतका १९ न्यायाधीशले इजलास बहिस्कार गरिरहेका छन् भने एक महिनादेखि नेपाल बारमा आबद्ध कानुन व्यवसायीहरू आन्दोलित छन् ।

सत्तारुढ गठबन्धनको कात्तिक ३० गतेको बैठकले न्यायालयको विवादमा उचित निकास न्यायालयभित्रबाटै यथाशक्य दिनुपर्ने निर्णय गरेको थियो । उक्त निर्णय भएको सातादिन बितिसक्दा पनि प्रधानन्यायाधीश जबराले पद नछोड्ने अडान देखाएपछि प्रधानमन्त्रीले अग्रसरता लिएका हुन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्