काठमाडाैं। गोलाप्रथा विधिबाट पेसी व्यवस्थापन गर्ने कार्य प्रारम्भ गर्न मंगलबार सर्वोच्च अदालतले पूर्ण बैठक राख्ने तयारी गरेको छ । सोमबार सर्वोच्च अदालत नियमावली २०७४ को संशोधन राजपत्रमा प्रकाशन भएपश्चात् मंगलबारका लागि पूर्ण बैठक राख्न लागिएको हो ।
सर्वोच्च अदालत स्रोतका अनुसार गोलाप्रथाबाट पेसी व्यवस्थापन गर्नेसम्बन्धी नियमावली र निर्देशिका राजपत्रमा प्रकाशन भएपछि पेसी व्यवस्थापन निर्देशन समिति बनाउन फुलकोर्ट बस्न लागेको हो ।
पेसी व्यवस्थापनसम्बन्धी निर्देशिकामा पेसी व्यवस्थापन निर्देशन समितिमा प्रधानन्यायाधीश र दुईजना वरिष्ठतम् न्यायाधीश तथा मुख्य रजिष्ट्रार गरी ४ सदस्य रहने उल्लेख छ । त्यसै निर्देशिकालाई कार्यान्वयनका लागि फुलकोर्ट बैठक बस्न लागेको हो ।
एक न्यायाधीशका अनुसार फुलकोर्ट बैठकले पेसी व्यवस्थापन सम्बन्धी निर्णय गर्ने भएपनि गोलाप्रथाको तयारी पूरा भइसकेको छैन । उनका अनुसार एक दुई दिनमै गोलाप्रथा सुरु गरिहाल्न सक्ने गरी सर्वोच्च प्रशासन तयार नभइसकेको हुँदा प्रशासन र सूचना प्रविधि टिमसँग बसेर छलफल गरेपछि गोलाप्रथाबाट पेसी व्यवस्थापन सुरु गर्ने दिन तोकिनेछ ।



लोकपाटी न्यूज

