काठमाडौं । भोलि (शनिबार) नेकपा माओवादी केन्द्रको देशभर वडा सम्मेलन हुने भएकाे छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले वडा सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएकाे हाे ।
देशभर ६ हजार ७४३ वटा वडा छन । माओवादी केन्द्रले सबै वडामा एकैदिन नेतृत्व चयन गर्न लागेको हो। यसैसन्दर्भमा शुक्रबार प्रेस विज्ञप्ति निकालेर प्रवक्ता कृष्णबहादुर महराले विभाजित नभइ वडा सम्मेलनमा सहभागि हुन अपिल गरेका छन् ।
‘हाम्रो पार्टीको वडा सम्मेलनमा कुनै पनि विभाजित मनोविज्ञान एवं मानसिकता नराखी एकताबद्ध भएर सर्वहारा वर्गप्रति निष्ठावान, जनताप्रति उत्तरदायी र समाजवादी क्रान्तिको यात्रामा लाग्न सक्ने एवं रुपान्तरित पार्टी निर्माणमा लाग्न आम जनसमुदायमा हार्दिक अपिल गर्दै सम्मेलन शुभकामना व्यक्त गर्दछ’ महराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी, मंसिर ११ गते सबै पालिकाहरुमा र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन हुँदैछ । आगामी पुस ११, १२ र १३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन हुँदैछ । केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि प्रदेशमा ७ सदस्यीय, पालिकामा ५ सदस्यीय र वडा तहमा ३ सदस्यीय निर्वाचन समितिहरु समेत गठन गरेको छ ।




लोकपाटी न्यूज

