काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै आन्दोलनमा रहेका कानुन व्यवसायीलाई केही युवाहरुकाे समूहले कुटपिटको धम्की दिएकाे छ।
चार जनाको समूहमा आएका ती युवाले बार परिसरमा आन्दोलनमा रहेका कानून व्यवसायीलाई कुट्ने र कालो कोट च्यातिदिने धम्की दिएका हुन् । सर्वाेच्च परिसरमै आएर आन्दाेलनरत कानुन व्यवसायीलाई धम्की दिँदासमेत प्रहरी प्रशासन मुकदर्शक बनेको भन्दै बार परिसरमा रहेका वकिलहरुले आक्रोश व्यक्त गरेका छन्।
कानून व्यवसायीकाे भीडमा पसेर धम्की दिने साे समूहलाई केही समयपछि प्रहरीले बाहिर निकालेको थियो। त्याे समूह प्रधानन्यायाधीश जबरा पक्षधरकाे हुन सक्ने आकलन गरिएकाे भए पनि काे हुन् भनेर खुल्न सकेकाे छैन।
यसैबीच, प्रधानन्यायाधीशले बाेलाएकाे सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित उपलब्ध सबै न्यायाधीशहरूको उपस्थितिमा फुलकोर्ट बैठक सुरु भएको हो।
यसअघि प्रधानन्यायाधीश जबराबाहेककाे बैठक बस्ने चर्चा थियो। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कानुन व्यवसायी दुई हप्तादेखि निरन्तर धर्नामा छन्। सर्वोच्चका न्यायाधीशहरूले समेत जबराको बहिर्गमन हुनुपर्ने धारणा राख्दै आएका वेला जबराले आजका लागि फुलकोर्ट बैठक बोलाएका हुन्। आजको बैठकमा इजलास गठनमा गोलाप्रथा लागू गर्ने विषयमा निर्णय लिइने बताइएको छ।



लोकपाटी न्यूज

