सर्वोच्च अदालतमा प्रहरी र कानुन व्यवसायीबीच धकेलाधकेल

लोकपाटी न्यूज

काठमाडाैं। सर्वोच्च अदालतमा प्रहरी र कानुन व्यवसायीबीच धकेलाधकेल भएको छ । मंगलबार बार एशोसिएशनको अगुवाइमा विरोध प्रदर्शनका लागि सर्वोच्च अदालत परिसरभित्र प्रवेश गर्न खोजेका कानुन व्यवसायीलाई प्रहरीले रोक्ने प्रयास गर्दा दुइ पक्षाबीच धकेलाधकेल भएकाे हाे।

बार एशोसिएसनले केही दिन यता दैनिक सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै प्रदर्शन गर्दै आएको छ । सोही क्रममा मंगलबार बार एशोसिएशनबाट सर्वोच्च परिसरमा प्रवेश गर्न खोजेका कानुन व्यवसायीलाई प्रहरीले रोक्न खोजेको थियो ।

प्रहरीसँगको धक्कमधक्काका बीच कानुन व्यवसायीहरु सर्वोच्च अदालत परिसरमा प्रवेश गरेर प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नाराबाजी गरेका छन् । उनीहरुले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म आफूहरुको प्रदर्शन जारी रहने बताउँदै आएका छन् ।

बार एशोसिएसनले इजलास बहिष्कार गर्दै प्रधानन्यायाधीशमाथि राजीनामाका लागि दबाब बढाएको छ भने प्रधानन्यायाधीशले बार एशोसिएशनलाई वार्ताका लागि आह्वान गरेका छन् । बारले प्रधानन्यायाधीश जबरासँग वार्तामा नबस्ने अडान राखेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्