काठमाडौं। पूर्वन्याधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन राजनीतिक दलहरुसँग आग्रह गरेका छन्।नेपाल बार र सर्वोच्च अदालतकै न्यायाधीशहरुले जबराको राजीनामा मागिरहेका बेला पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश जबरामाथि महाअभियोगको प्रस्ताव गरेको हो ।
मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फोरमले भनेको छ, ‘रञ्जन कोइरालाविरुद्धको फैसलाबारे सार्वजनिक अभिव्यक्ति दिएको, न्यायाधीशको आचारसंहिता उल्लंघन गरेको तथा पूर्वन्यायाधीश फोरमद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएका १५ बुँदे आधारमा महाअभियोग लगाउनका लागि पर्याप्त आधार भएकाले सरकार, राजनीतिक दल, सांसदहरुलगायत संविधान र प्रजातन्त्रप्रति आस्था राख्ने सम्पूर्ण चेतनशील नागरिकहरु समक्ष आफ्नो संवैधानिक कर्तव्य निर्वाह गरी न्यायपालिका जोगाउन हामी माग गर्दछौं ।’
पूर्वन्यायाधीशहरुले वार्ता आह्वान गर्दै जबराले जारी गरेको विज्ञप्तिलाई न्यायमा बिचलन र भ्रष्टाचार लुकाउन गरिएको दुश्प्रयास भनेका छन् । ‘आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाट जारी गरिएको वार्ताका लागि आह्वान गरिएको विज्ञप्ति न्यायका बिचलन तथा भ्रष्टाचार लुकाउन गरिएको दुश्प्रयास मात्र हो यो न्यायालयको हितमा देखिदैन,’ जारी विज्ञप्तिमा भनिएको छ ।




लोकपाटी न्यूज

