काठमाडौं । शिक्षक सेवा आयोगले चालु आर्थिक वर्ष २०७८/७९ को पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गर्दै मंसिरमा विज्ञापन आह्वान गर्ने बताएकाे छ। आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार खुलातर्फको विज्ञापन आगामी मंसिर महिनामा खुल्ने भएकाे हाे ।
खुला विज्ञापनको सामान्य परीक्षा आगामी फागुनमा, विषयगत परीक्षा आगामी जेठमा हुनेछ । सामान्य परीक्षाको नतिजा २०७९ वैशाखमा र विषयगत परीक्षाको नतिजा २०७९ साउनमा प्रकाशन गर्ने आयोगको कार्यतालिका छ ।
त्यसपछि भदौमा अन्तर्वार्ता गरी असोजमा शिक्षक सिफारिस गर्ने आयोगले बताएको छ । प्राथमिक तहका शिक्षकको सिफारिस भने कात्तिकमा हुनेछ । यस अनुसार आगामी शैक्षिक वर्षको मध्यमा मात्र नयाँ शिक्षकहरु कक्षाकोठामा पुग्नेछन् ।
आयोगका प्रवक्ता सुर्दशन मरहठ्ठाका अनुसार परीक्षार्थी बढी हुन सक्ने भएकाले त्यही अनुसार कार्यतालिका तयार गरिएकाे हाे। उनले उम्मेदवार नै तीन लाख भन्दा बढी हुने अनुमान रहेकाे बताएका छन् ।’
सात लाख जना भन्दा बढीले शिक्षण अध्यापन अनुमति पत्र लिएको आयोगले जनाएको छ । आयोगका अनुसार हालसम्म प्राथमिक तहमा दुई लाख दुई हजार ७१२ जनाले, निम्न माध्यामिक तहमा तीन लाख सत्तरी हजार १२ जनाले र माध्यामिक तहमा एक लाख ४४ हजार तीन सय ८१ जना गरी सात लाख १७ हजार एक सय पाँच जनाले लाइसेन्स लिएका छन् ।
आयोगले खुलातर्फ माध्यामिक तहमा १ हजार ४२ दरबन्दी, निम्न माध्यामिक तहमा १ हजार ९१३ दरबन्दी र प्राथमिक तहमा ९ हजार ६०१ रिक्त दरबन्दीमा विज्ञापन खुलाउने तयारी गरेको छ ।
शिक्षक सेवा आयाेगद्वारा पदपूर्तिसम्बन्धी कार्यतालिका सार्वजनिक



लोकपाटी न्यूज