काठमाडाैं। नेपाल बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्न परिचालित करिब ५० जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थन गर्दै सडकमा निस्किएको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएकाे छ।
बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्नका लागि आइतबार दुई वटा समूह सडकमा उत्रिएको थियो । बार एशोसिएसनले सर्वोच्च अदालत परिसरभित्रै विरोधको कार्यक्रम आयोजना गरिरहेको बेलामा प्रधानन्यायाधीशको समर्थनमा साे समूहले सडकमा नाराबाजी गरेकाे थियाे ।
यस क्रममा प्रहरीसँग केहीबेर झडप भएको थियो । सो क्रममा एक प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका छन् । यसैबीच बार एशोसिएसनका पदाधिकारीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘भिजिलान्ते’ र ‘भाडाका टट्टु’ प्रयोग गरेर प्रतिकार समूह बनाएको आरोप लगाएका छन् ।
सर्वोच्च अदालत परिसरमा आइतबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनीहरुले भ्रष्टाचार गरेको रकम प्रयोग गरेर कानुन व्यवसायीको आन्दोलनलाई दबाउन खोजिएको बताएका हुन् ।



लोकपाटी न्यूज

