काठमाडाैं। नेकपा माओवादी केन्द्रले सबै कमिटीमा एक व्यक्ति एक पदको अवधारणा लागू गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा शुक्रबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधानमा सामान्य संशोधनसमेत गर्दै यस्तो निर्णय गरेको हो ।
माओवादी केन्द्रको प्रदेश र पालिका कमिटीमा सात/सात पदाधिकारी रहने भएका छन् । यस्तै, वडा कमिटीमा पाँच पदाधिकारी र टोल कमिटीमा अध्यक्ष र सचिव गरी दुई पदाधिकारी रहने छन् ।
माओवादी केन्द्रले पछिल्लो समय संगठन विस्तार र सुदृढीकरणलाई प्राथमिकता दिँदै आएको र सोही अनुसार जिम्मेवारी बाँडफाँटलाई प्रभावकारी बनाउन र जिम्मेवारी पाएकाहरुबाट प्रभावकारी परिणाम हासिल गराउन पार्टीले ‘एक व्यक्ति एक पद’ को अवधारणालाई लागू गरेको जनाइएको छ ।
यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही दिन यता पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन काठमाडौं उपत्यका मात्र नभई उपत्यका बाहिरका जिल्लामा समेत सहभागी भएका छन् । सोही धपेडीका कारण सामान्य अस्वस्थ भए पनि उनले शुक्रबार पार्टीको केन्द्रीय कमिटीको बैठकको अध्यक्षता गरेको जनाइएकाे छ। भर्चुअल माध्यमबाट बसेको सो बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन भने गरेनन् । यद्यपि उनको स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै आएको बताइएको छ ।



लोकपाटी न्यूज

