काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई अदालतमा भइरहेको विरोध प्रदर्शनमा अनावश्यक दमन नगर्न निर्देशन दिएका छन्। आज प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री खाणलाई बोलाएर देउवाले नेपाल बार एशोसिएशनले गरिरहेको प्रदर्शनमा ‘अनावश्यक दमन’ नगर्न निर्देशन दिएका हुन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै बारले सर्वोच्च परिसरमा केही दिनदेखि प्रदर्शन गर्दै आएको छ। बिहीवार प्रदर्शनका क्रममा अधिवक्ता र प्रहरीबीच झडप समेत भएको थियो। बारले प्रधानन्यायाधीशको ठाडो आदेशमा दमन भएको आरोप लगाएको थियो।शुक्रवार पनि प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेश गर्न नदिने भन्दै बारले सर्वोच्चको मूल गेट बाहिर प्रदर्शन गरेको थियो।
यद्यपि, प्रधानन्यायाधीश राणा अर्को ढोकाबाट सर्वोच्च प्रवेश गरेका थिए। राणालाई रोक्न विफल भएपछि बारले आफ्नो आन्दोलन थप चर्काउने घोषणा गरेको छ। आइतवार पनि राणालाई सर्वोच्च प्रवेशमा रोक लगाउने बारको तयारी छ। बारले सरकार र राजनीतिक दलले न्यायलयको विषयमा हालसम्म केही नबोलेको भन्दै अब पनि सरकार र राजनीतिक दलले नबोले उनीहरु विरुद्ध पनि संघर्ष गर्ने चेतावनी दिएको छ।



लोकपाटी न्यूज

