९ हाइड्रोपावर कम्पनीले गरे लाभांश घोषणा, कसले कति दिँदैछन् ?

लोकपाटी न्यूज

काठमाडाैं। नाै वटा हाइड्रोपावर कम्पनीहरुले लाभांशकाे घोषणा गरेका छन् । गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट न्यादी ग्रुप पावर कम्पनी लिमिटेड, अरुण काबेली पावर, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, राइराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अपी पावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट, सिनर्जी पावर डेभलपमेन्ट, रुरु जलविद्युत परियोजना लिमिटेड र सानिमा माई हाइड्रो लिमिटेडले शेयर लाभांश घोषणा गरेका हुन् ।

सो मध्ये सबैभन्दा बढी न्यादी ग्रुपले २१.०५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । ग्रुपले २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

यस्तै, अरुण काबेली पावरले १७ प्रतिशत बोनस सेयरसहित ०.८९ प्रतिशत नगद लाभांश दिने भएको छ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र राइराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी यी दुई कम्पनीले बोनस सेयरको साटो एकमुष्ट समान १२.६० प्रतिशत नगद लाभांश दिने भएको छ ।

यसैगरी अपी पावर कम्पनीले १०.५० प्रतिशत बोनस सेयर र ०.५५ प्रतिशत नगद गरी ११.०५ प्रतिशत लाभांश दिने भएको छ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टले १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश दिने भएको छ भने सिनर्जी पावर डेभलपमेन्टले पनि सोही दरमा १०ः०.५३ कै लाभांश प्रस्ताव गरेको छ ।

यस्तै रुरु जलविद्युत परियोजना लिमिटेड र सानिमा माई हाइड्राले समान १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ । लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयर लगानीकर्ताहरुमा वितरण हुने जनाइएकाे छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्