– दीपक थापा
म झरिमा
रुझेका आँखाहरु झैं विक्षिप्त थिएँ
तिमी परेलीको डिलमा हेमलक झैं विषाक्त थियौ !
सुन्छु…, तिम्रो आवाज
सम्झन्छु म मेरो मौनता
तिमी सधैं तृप्त छौ…!
मेरो करुणाले सधैं मलाई बल्झाइरहन्छ
एउटा अप्रत्याशित सत्यभित्र !
र म आफैंलाई प्रश्न गर्छु- किन सक्दिन मौन बस्न ?
बाडुलीभित्र एकलौटी भएका छ्न् यादहरु !
छायाँले झैं पछ्याइरहन्छ अपमान र अल्पमतले !
बेखबर भएका नदी किनारहरु
र विधवा भएकी ए ! कालिगण्डकी…
तिम्रो रहरले जहर पिएँ
तिम्रो आबेगले बगर भएँ !
फिरफिरे र जुनकीरी,
कलेटी परेका ओठहरु
अथवा लिलामी यादहरुले…!
टुलुटुलु एकलौटी एकोहोरो
किन हेरिरहन्छन्
मोनालिसाको तस्वीर झैं…?
-अरुण गाउँपालिका ७, भाेजपुर, हालः काठमाडाैं ।



लोकपाटी न्यूज

