प्रधानन्यायाधीशले ताेकेकाे इजलासमा बसेनन् न्यायाधीशहरु

Sarbochcha_Adalat
लोकपाटी न्यूज

काठमाडौं । प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराले नियमित ढंगले नै इजलास ताेकेपछि न्यायाधीशहरुले साे इजलासकाे विराेध गरेका छन्।  जबराले आन्दोलनरत न्यायाधीशसँगको सहमति विपरीत सर्वोच्च अदालतलाई नियमित काममा फर्काउने प्रयास गरेकाे भन्दै न्यायाधीशहरुले इजलास इन्कार गरेका हुन्।

आफ्नो राजीनामा मागेर आन्दोलनरत १९ न्यायाधीशसँग प्रधानन्यायाधीश जबराले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको पेशी नतोक्ने र आफ्नो इजलास नराख्ने सहमति गरेका थिए । यसअघि सहमति अनुसार बन्दी प्रत्यक्षीकरणको मुद्दाको मात्र पेशी तोकेका प्रधानन्यायाधीश जबराले मंगलबार भने नियमित ढंगले इजलास तोकेपछि न्यायाधीशहरु इजलासमा नबसेका हुन् ।

प्रधानन्यायाधीश जबराले मंगलबार न्यायाधीशहरु तेजबहादुर केसी र डा. मनोजकुमार शर्माको इजलासमा एउटा बन्दी प्रत्यक्षीकरणको रिटका साथमा १२ वटा मुद्दा राखेका थिए । उनले आफ्नो एकल र अरु न्यायाधीशको ८ वटा संयुक्त इजलासमा भने बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा पेशी तोकेका थिए ।

न्यायाधीश केसी र शर्माको इजलासले एउटा बन्दीप्रत्यक्षीकरणको मुद्दा सुनुवाइ गरेको छ भने बाँकी मुद्दा ‘हेर्न नभ्याइने’ मा राखेको छ । अरु न्यायाधीशको भने इजलास नै बसेन । प्रधानन्यायाधीश जबराले भने आफ्नो एकल इजलासमा मुद्दाको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकेका छन् । उनको इजलासले एउटा मुद्दामा कारण देखाउ आदेश गरेको छ भने अर्को मुद्दा तामेलीमा राखेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्