‘आजै राजीनामा दिए प्रधानन्यायाधीशलाई ससम्मान बिदा गर्छौँं’

लोकपाटी न्यूज

काठमाडाैं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका कानून व्यवसायीहरुले आजै राजीनामा दिए ससम्मान बिदा गर्ने बताएका छन् । सोमबार नेपाल बार एशोसिएशनको नेतृत्वमा कानून व्यवसायीले सर्वोच्च अदालतमा धर्नासमेत दिएका छन् ।

धर्नामा जानुअघि कोणसभालाई सम्बोधन गर्दै कानून व्यवसायीहरुले न्यायापालिकालाई सुदृढीकरण गर्न प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । नेपाल बार एशोसिएशनका पूर्वसदस्य रमण मकुमार कर्णले न्यायाधीशले प्रधानन्यायाधीशको राजीनामा माग्नु आफैंमा दुःखद् कुरा भएकाे भन्दै माग गर्दा पनि राजीनामा नदिनु झन् ठूलो दुःखको कुरा भएकाे बताए।

यस्तै वरिष्ठ अधिवक्ता तथा संवैधानिक कानून व्यवसायी मञ्चका अध्यक्ष दिनेश त्रिपाठीले प्रधानन्यायाधीश राणाले न्यायापालिकालाई संकटमा पारेकाे बताए । उनले भने, ‘न्यायापालिका प्रधनन्यायाधीशकै कारण असम्मानित भएको हाे । उहाँ न्यायापालिकाको समस्या हुनुभएको छ । उहाँकै कारण सेवाग्राहीले दुःख पाएका छन्। उहाँकै न्यायाधीशहरुले उहाँलाइ साथ छोडेका छन् ।’

उनले सम्मान पाउन सम्मानजनक काम पनि गर्नुपर्ने बताए । उनले सञ्चार माध्यममा कुनै न्यायाधीशले आफ्नो बचाउमा अन्तर्वार्ता दिनु दुःखद् भएको बताए । प्रधानन्यायाधीश राणाले आफ्नो बचाउमा अन्तर्वार्ता दिएका थिए । उनले भने, ‘उहाँ जतिदिन प्रधान प्रधान्यायाधीशको पदमा बस्नुहुन्छ । उति नै उक्त पदको अपमान हुन्छ । जति सक्दो उहाँले छिटो राजीनामा दिनमा नै सबैको भलाइ हुन्छ । पशुपतिनाथले उहाँलाई सद्बुद्धी प्रदान गरुन र जतिसक्दो चाँडो राजीनामा दिनुहोस् भन्छु ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्