जुवा तास खेलिरहेकाे अवस्थामा ७९ जना पक्राउ

लोकपाटी न्यूज

काठमाडाैं। देशका विभिन्न स्थानबाट जुवा तास खेलिरहेको अवस्थामा ७९ जना पक्राउ परेका छन् । काठमाडौँको चन्द्रागिरि नगरपालिका-१४ पुरानो नैकाप बस्ने ४१ वर्षीय शंकर थापाको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५२ वर्षीय पुष्कर थापा सहित १६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

उक्त घरमा जुवा तास खेलिरहेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ४३ हजार ३ सय ५ रुपैयाँ, जुवा तास खेल्न प्रयोग भएको गलैँचा १ थान र ६ सय ३४ पत्ती तास सहित पक्राउ गरेको हो ।

यता भक्तपुरको चाँगुनारायण नगरपालिका-८ मा पनि सुडाल पुरीगाउँ बस्ने ५२ वर्षीय मणिराम पुरीको घरमा तास खेलिरहेको अवस्थामा पुरी लगायत १५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १२ लाख ४३ हजार ७ सय ८० रुपैयाँ र २ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै बाँकेको नेपालगंज उपमहानगरपालिका-१३ बाबुगाउँबाट जुवा तास खेलिरहेको अवस्थामा ४८ जनालाई नगद ४ लाख ६६ हजार ७७ रुपैयाँ र १० गड्डी तास सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा केही मानिसहरू जुवा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको प्रहरीले उनीहरूलाई जुवा तास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्