प्रधानन्यायाधीश र बारका अधिकारीबीच भेट, के भयो कुरा ?

लोकपाटी न्यूज

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा र बारका अधिकारीबीच आइतबार भेटवार्ता भएको छ । प्रधानन्यायाधीशकाे पछिल्लाे व्यवहार र आचरण शंकास्पद भएकाप्रति नेपाल बारले आपत्ति जनाउँदै आएकाे थियाे।

भेटमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायापालिकाको सुधारका विषयमा प्रधानन्यायाधीशसँग छलफल भएको बताए । उनले भने, ‘प्रधानन्यायाधीश जबराले पर्सी मंगलबारदेखि केही मुद्धामा नमूनाको रुपमा गोलाप्रथाबाट पेशी तोक्ने प्रतिवद्धता जनाउनुभएको छ। मंगलबारदेखि परीक्षणका रुपमा गोलाप्रथाबाट पेशी तोक्ने कुरा आएको छ । यस्तै भोली सोमबार फूलकोर्टको बैठक डाक्नु भएको छ । त्यसमा हामीलाई पनि प्रतिनिधिकारुपमा बोलाउने बताउनुभयो।’

बैठकमा न्यायापालिका सुधारका विषयमा पनि छलफल भएको छ। उनले भने, ‘ न्यायापालिकाका सम्पूर्ण खराबी र सुधार गर्नुपर्नेबारे सोध्यौं । उहाँले न्यायापालिका सुधार्न म तत्पर छु भन्नुभयो ।’

बार अध्यक्ष श्रेष्ठले अहिलेको मुख्य विषय न्यायापालिकामा देखिएको विकृति समाधान गर्नु रहेको बताए । उनले भने, ‘न्यायापालिका सुधार्न बार आन्दोलन गर्न पनि तयार छ । हाम्रो मुख्य माग न्यायापालिका भित्रको विकृति अन्त्य हुनुपर्छ भन्ने हो । न्यायापालीकाभित्र विचौलिया रोक्ने संयन्त्र बनाइनुपर्छ । आफू खुसी इजलास तोकिने काम रोकिनुपर्छ भन्ने हो।’ प्रधानन्यायाधीले भोलि सोमबार १:३० मा फूलकोर्ट डाकेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्