काठमाडौं । नेपाल बार एसोसियसनको टोली सर्वोच्च अदालत पुगेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट गर्न बारको टोली सर्वोच्च पुगेको हो । प्रधानन्यायाधिशको भूमिका निष्पक्ष नभएको भन्दै प्रश्न उठेपछि बारकाे टाेली सर्वाेच्च गएकाे हाे।
यसैबीच नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदन कार्यन्वयनका लागि १५ दिने अल्टिमेटिम दिने तयारी भएको बताए । यस्तै बारले पेसी तोक्ने प्रणाली स्वचालित बनाउन पनि माग गरेको छ ।
बारका अध्यक्ष श्रेष्ठले शनिबार एक कार्यक्रममा बोल्दै आफूहरुले प्रधानन्यायाधीश जबराको राजीनामा नमागेको बताएका थिए । श्रेष्ठले विगतमा भागबण्डाको आधारमा न्यायाधीश नियुक्ति गरिएको हुनाले अहिले समस्या उत्पन्न भएको समेत टिप्पणी गरेका छन्।
उनले भने,‘उच्चतम योग्यताको आधारमा न्यायाधीश नियुक्ति भएन, भागबण्डाको आधारमा न्यायाधीश नियुक्ति गरिने काम भए, त्यो बेलादेखि नै हामीले यस किसिमको नियुक्ति ठिक भएन भनेर पटकपटक भन्दै आएका थियौं।’
‘त्यसको परिणाम न्याय सम्पादनमा असर पर्ने नै भयो। हामीले न्याय परिषद् सुधारका लागि, न्यायाधीश नियुक्तिको सम्बन्धमा हामीले सुझाव दिएका थियौं’, उनले भने, ‘यही बीचमा न्यायाधीश नियुक्तिको विषय, न्यायापालिकाभित्र विसंगति, विकृति, विचौलियाहरु मौलाएको विषय, भ्रष्टाचार नियन्त्रणको विषय, न्यायाधीशहरुको सम्पत्ति रातारात बढ्दै जाने विषयको सम्बन्धमा, सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेलगायतका विषय र कुराहरु उठाउँदै आएका थियौं।’



लोकपाटी न्यूज

