क्रान्तिको सामान्य तथा सार्वत्रिक अर्थ हो विद्यमान अवस्था विशेषमा गुणात्मक परिवर्तन, जसले विद्यमान अवस्थाको निषेध गर्दै नयाँ अवस्थालाई जन्माउँछ। यस शब्दले कुनै पनि वस्तु विशेष वा परिघटना विशेषमा गुणात्मक परिवर्तनको अग्रगामी फड्कोलाई बुझाउँछ र विषयगत र क्षेत्रगत अवस्थामा यसका आ-आफ्ना विशिष्ट अवस्था, अर्थ र चरित्र हुन्छन्। जस्तै वैचारिक क्रान्ति, वैज्ञानिक र प्राविधिक क्रान्ति, औद्योगिक क्रान्ति, कृषि क्रान्ति, हरित क्रान्ति, सामाजिक क्रान्ति आदि इत्यादि आ-आफ्नो क्षेत्रका विशिष्टीकृत अवधारणा हुन्।
त्यस्तै सामाजिक सन्दर्भमा हेर्ने हो भने विद्यमान सामाजिक-आर्थिक संरचनामा समष्टिगत रूपमा परिवर्तन गरी नयाँ सामाजिक-आर्थिक संरचना स्थापित गर्ने आमूल परिवर्तनकारी विशिष्ट परिघटनालाई सामाजिक क्रान्तिको रूपमा परिभाषित गरिएको छ। यस प्रक्रियामा विद्यमान उत्पादन सम्बन्ध परिवर्तनका लागि गरिने आर्थिक संघर्ष अन्ततोगत्वा राज्यसत्तासँग टकराउँछ र आर्थिक संघर्ष राजनैतिक संघर्षमा परिणति हुन्छ। जसको पहिलो र आधारभूत चरित्र विद्यमान राज्य सत्ता परिवर्तन गरी त्यसको ठाउँमा नयाँ आर्थिक, सामाजिक, राजनैतिक, वैचारिक, सांस्कृतिक र उत्पादन सम्बन्ध सहितको नयाँ राज्यसत्ता स्थापना गर्नु हो। फलतः सामाजिक क्रान्तिको लक्ष राज्यसत्ताको परिवर्तनसँगै सिंगो सामाजिक-आर्थिक संरचनाको रूपान्तरणसँग जोडिन्छ र क्रान्तिले रूपान्तरणको काम सम्पन्न गर्छ। क्रान्तिपछि नयाँ तथा बढी उन्नत सामाजिक-आर्थिक संरचना र उत्पादन सम्बन्ध अस्तित्वमा आउँछन्।
आर्थिक संरचनाको पक्षबाट हेर्दा सामाजिक क्रान्तिको लक्ष विद्यमान सामाजिक-आर्थिक संरचनाका उत्पादन सम्बन्ध परिवर्तन गरी नयाँ उत्पादन सम्बन्ध कायम गर्नु हो। विद्यमान उत्पादन सम्बन्ध परिवर्तनका लागि गरिने आर्थिक संघर्ष अन्ततोगत्वा राज्यसत्तासँग टकराउँछन् र आर्थिक संघर्ष राजनैतिक संघर्षमा परिणति हुन्छ। फलतः सामाजिक क्रान्तिको लक्ष राज्यसत्ताको परिवर्तनसँगै सिंगो सामाजिक-आर्थिक संरचनाको रूपान्तरणसँग जोडिन्छ र क्रान्तिले रूपान्तरणको काम सम्पन्न गर्छ।
वर्गीय समाजमा सामाजिक क्रान्तिको प्रमुख कारक त्यस्ता समाजहरूमा विद्यमान रहने शत्रुतापूर्ण अन्तर्विरोधी चरित्रका उत्पादक शक्ति र उत्पादन सम्बन्ध, अर्को शब्दमा- उत्पादनको सामाजिक चरित्र र उपभोगको व्यक्तिवादी चरित्र बीच उत्पन्न हुने शत्रुतापूर्ण अन्तर्विरोध हो। दास व्यवस्थामा दाश र दाशस्वामी बीच शत्रुतापूर्ण विभाजनको अवस्था, सामन्ती संरचनामा भूस्वामी तथा भूदास र किसान तथा सामन्ती सम्भ्रान्त वर्ग बीचका शत्रुतापूर्ण सम्बन्ध र पूँजीवादी व्यवस्थामा पूँजीपति वर्ग र सर्वहाराबीचका अर्थात् पूँजी र श्रम बीच रहने शत्रुतापूर्ण सम्बन्धनबाट उत्पन्न श्रम र पूँजी बीचको द्वन्द्व हो। यस द्वन्द्वमा उत्पादक शक्तिहरूले उत्पादन सम्बन्धलाई परास्त गरी नयाँ सम्बन्ध स्थापित गर्नु सामाजिक क्रान्तिहरूको चारित्रिक पहिचान हो।
क्रान्ति सम्पन्न गर्दा सर्वप्रथम क्रान्तिकारी शक्तिहरूले सामाजिक उपरि संरचनाको प्रमुख अंग राज्यसत्ता परिवर्तन गर्छन् र नयाँ राज्यसत्ता कायम गरिन्छ। सामान्यतया वर्गसंघर्षको सघनता र शक्ति हेरि आर्थिक संरचना, राजनैतिक अवस्था र नागरिक अधिकारको क्षेत्रमा केही सानातिना परिवर्तनहरू भइरहने गर्छन्। तर, ती फाँटहरूमा गरिने यस्ता परिवर्तनहरूबाट सामाजिक क्रान्ति सम्पन्न हुँदैन। तिनले सामाजिक क्रान्तिका लागि केही आवश्यक आधार अवश्य तयार गर्दछन् तर आफैमा पूर्ण सामाजिक क्रान्तिको रूप लिँदैनन्। सामाजिक क्रान्तिको आधारभूत पक्ष राजनैतिक क्रान्ति हो । जसले सामाजिक जीवनको राजनैतिक परिपाटीदेखि लिएर त्यसको आर्थिक, वैचारिक, सांस्कृतिक, आध्यात्मिक यावत् क्षेत्रमा परिवर्तन गर्दछ। सामाजिक क्रान्तिको अर्थ हो विद्यमान सामाजिक परिपाटी र सामाजिक आर्थिक, सांस्कृतिक सम्बन्धहरूमा पूर्णरुपेण आधारभूत परिवर्तन गर्नु, जसले पुराना सामाजिक संरचना तथा त्यसका संस्कार र जीवन पद्धति सहित अन्य यावत आधारभूत पक्षलाई निषेध गर्दै तिनलाई नयाँ रूपमा स्थापित गर्दछ र सामाजिक संरचना सार र रूपमा नयाँ किसिमले स्थापित हुन्छ।
माथि उल्लिखित अन्य क्रान्तिहरू भन्दा सामाजिक क्रान्ति चारित्रिक रूपले नै भित्र यस अर्थमा छ कि पहिले त यो समाजका सम्पूर्ण क्रान्तिकारी जमातको सामूहिक संघर्षद्वारा सम्पन्न गरिने विशुद्ध सामाजिक परिघटना हो र दोस्रो सर्वत्र यो उही सार र रूपमा सम्पन्न हुँदैन। ‘आम रूपमा मानव इतिहास र विशिष्ट रूपमा क्रान्तिहरूको इतिहास विविधताको दृष्टिकोणबाट वा सार र रूपको दृष्टिकोणबाट वा जीवन्तता र गतिशीलताको दृष्टिकोणबाट हामीले सोचे भन्दा वा अनुमान गरेभन्दा बढी विविधतायुक्त हुन्छन् जस बारे कुनै पनि वैचारिक रूपले परिपक्व पार्टी नेतृत्व वा सबभन्दा बडी अग्रणीय वर्गले पनि निश्चित रूपमा पूर्वानुमान गर्न सक्दैन’। (लेनिन- संकलित रचना भाग ३१ मस्को)
राज्यसत्ताको उत्पत्तिको विकास क्रमलाई हेर्ने हो भने एउटा अधिकार सम्पन्न सामाजिक प्रशासकीय अंगको पहिलो रूप गोत्र अथवा कविला समाजभित्र कविलाको कार्य व्यवस्थापन गर्न निर्माण गरिने ‘जेष्टजन परिषद’ थियो, जसले गोत्र अथवा कविलाहरूभित्र कार्य विभाजनदेखि कविलाका सम्पूर्ण क्रियाकलापको व्यवस्थापन र निर्देशन गर्दथे र यिनको निर्णय सर्वमान्य थियो। तर, ज्यूँदा कविलाभित्र वलशाली अभिजात समूह, कबिलाई व्यवस्थापक जमात तथा त्यसका लडाकु नायकहरूको श्रेष्ठता र दबदबा बढ्दै गयो कविलाई समाज वा गोत्र समाजभित्र नयाँ अभिजात शासक तपकाको उदय सामाजिक विभाजनको कारण बन्यो र पहिलेका यी ‘जेष्टजन परिषद’ पनि वर्गीय राज्यसत्ताको उदयको आधार बने।
कविलाई सामूहिक सम्पत्ति विस्तार बिस्तारै तिनको निजी सम्पत्तिका रूपमा परिणीत हुँदै गयो। यो निजी सम्पत्तिका उदयको कारण र प्रारम्भिक चरण थियो। युद्धमा जितेका दाश, घरपालुवा पशु तथा विस्तार बिस्तारै जमिनमाथि यस अभिजात वर्गीय तपकाको स्वामित्व स्थापित हुन पुग्यो र विजित दाश तथा कविलाभित्रैका कमजोर सगोत्री जमात शोषित वर्ग र वलशाली सम्पत्तिवान शोषक वर्गको रूपमा विभाजित हुन पुगे। यसले कविलाई समाजलाई दाश युगमा संक्रमणको तथा राज्यसत्ताको उदयका लागि आधार तयार गरेको थियो। यो पहिलो सामाजिक क्रान्ति थियो जसले समाजलाई वर्गविहीन अवस्थाबाट वर्ग विभाजित समाजमा संक्रमण गरायो। शासक र शासित, शोषक र शोषित वर्गमा समाज विभाजित भएपछि यसले शासक वर्गको राज्यसत्तालाई जन्म दियो।
अतः वर्गीय दमनको हतियारको रूपमा राज्यसत्ता इतिहासको एउटा निश्चित कालखण्डमा आएको थियो र आगामी कुनै कालखण्डमा यसको वर्गीय दमकारी संयन्त्रको रूप समाप्त हुने छ। श्रमिक वर्गले राज्यसत्ता हातमा लिएपछि वर्गीय शोषण र दमनको हतियारको रूपमा रहेको उत्पादनका साधन श्रोतमाथिको निजी स्वामित्वको अवस्था समाप्त गरी त्यसको ठाउँमा सामूहिक स्वामित्व कायम गरेपछि वर्गीय विभाजन र वर्गीय शोषणको अवस्था नै समाप्त हुने छ। त्यस अवस्था कुनै एक वर्गले अर्को वर्गमाथि शासन गर्ने, शोषण र दमन गर्ने अवस्था समाप्त भएपछि राज्यसत्ता जस्तो दमनकारी हतियाको आवश्यकता नै समाप्त हुने छ। सामाजिक सुशासन, व्यवस्थापन र परिचालनको लागि साझा संयन्त्रको रूपमा जनप्रशासन संयन्त्र स्थापित हुने छन्। यस अवस्थामा राज्यसत्ता समाप्त हुने छ। यो समाजको साम्यवादी अवस्था हुने छ।
माथि नै भनियो समाजको सामाजिक-आर्थिक संरचना जड यान्त्रिक संरचना होइन जीवन्त गतिशील संरचना हो, जसको अंगविन्यासका प्रत्येक अंगप्रत्यंग निरपेक्ष स्वतन्त्रतामा होइन पारस्परिक सहअस्तित्व र अन्तर निर्भरता सहित सापेक्षिक स्वायत्ततासहित स्थित छन् र गतिशील रहन्छन्। एक-आर्कोबाट स्वतन्त्र पनि छन् र पारस्परिक निर्भरतामा पनि छन् र निरन्तर एक अर्कालाई प्रभावित गर्छन्। फलस्वरूप एउटै संरचनाभित्र पनि विभिन्न परिमाणात्मक परिवर्तन भइरहेका हुन्छन्। विभिन्न फाँटमा भइरहने यी परिमाणात्मक परिवर्तनहरूको समष्टिगत प्रभावले नै गुणात्मक सामाजिक परिवर्तनको आधार तयार गर्दछ र समाज परिवर्तनले नयाँ फड्को मार्दछ । जसलाई सामाजिक क्रान्ति भनिन्छ।
अतः सामाजिक क्रान्ति समाज परिवर्तनको आकस्मिकता होइन नियमितता हो र सामाजिक जीवनका प्रत्येक अंगमा हुने परिमाणात्मक परिवर्तनहरूको एकीकृत प्रभावबाट एउटा निश्चित चरणमा घटित हुने गुणात्मक परिवर्तनकारी छलाङ हो, जसले पुरानो सामाजिक संरचनाको ठाउँमा नयाँ संरचना स्थापित गर्दछ। यो गुणात्मक परिवर्तन एउटा लामो र जटिल प्रक्रियाको परिणाम हुन्छ । राजनैतिक सत्ता परिवर्तनको काम एउटा निश्चित बिन्दुमा छलाङको रूपमा हुने परिवर्तन हो भने भौतिक, वैचारिक, सांस्कृतिक आदि परिवर्तन क्रमिक परिवर्तन हुँदै अगाडि बढ्छन् र गुणात्मक परिवर्तन का लागि सापेक्षिक रूपमा लामो समयको माग गर्छन्। चरणबद्ध परिवर्तनको यो निरन्तरता नै क्रान्तिको निरन्तरता हो र यिनको पूर्ण प्रतिस्थापनको अवस्था क्रान्ति सम्पन्नताको अवस्था हो।
क्रान्तिहरूको वर्गीकरण र चरित्र त्यसले सम्पन्न गर्ने कार्यभार, त्यस क्रान्तिबाट स्थापित गरिने राज्यसत्ताको स्वरूप र चरित्र, आर्थिक संरचना आदि कुराका साथै त्यस क्रान्तिले कुन सामाजिक-आर्थिक संरचनालाई प्रतिस्थापित गर्दै छ र कुन सामाजिक अन्तर्द्वन्द्वलाई समाप्त गर्दै छ, कुन वर्ग त्यस क्रान्तिको मुख्य संवाहक शक्ति हो र कसका विरुद्ध र के प्राप्त गर्नलाई त्यो क्रान्ति सम्पन्न गरिँदैछ भन्ने आधारभूत परिसूचकहरूबाट निर्धारित हुन्छ। जस्तो भनूँ पूँजीवादी क्रान्तिले सामन्ती संरचनालाई विस्थापित गरी पूँजीवादी संरचना स्थापित गरेको थियो। यस क्रान्तिमा एकतर्फ सामन्ती अभिजात वर्ग विरुद्ध ग्रामीण गरिब श्रमिक किसान र भूदासहरूको वर्गसंघर्ष उच्चतम विन्दुको अवस्थामा थियो भने अर्कोतर्फ नवोदित पूँजीपति वर्गको तीव्र गतिमा पूँजीवादी संरचनाको निर्माण गर्ने लक्ष प्राप्त गर्न सामन्ती उत्पादन सम्बन्ध बाधक भइरहेका थिए।
स्वतन्त्र पूँजीवादको विकास र औद्योगीकरणका लागि अति आवश्यक श्रमशक्ति प्राप्त गर्न स्वतन्त्र श्रम बजारको निर्माण आवश्यक थियो। यसका लागि संघर्षरत ग्रामीण किसानलाई मुक्त गरी श्रम बजारमा ल्याउनु पर्ने आफ्नो वर्गीय स्वार्थका कारण नवोदित पूँजीपति वर्ग संघर्षरत श्रमिक किसान आन्दोलनको पक्षमा उभिन पुग्यो। स्वाभाविक थियो आफ्नो बौद्धिक क्षमता, आर्थिक अवस्था आदि कारणले पूँजीपति वर्गले त्यहाँ नेतृत्वदायी भूमिका निर्वाह गर्यो र क्रान्ति सम्पन्न भएपछि, क्रान्तिको प्रमुख शक्ति मजदुर, किसान, शहरिया मध्यम वर्ग, भए पनि सत्ताको मालिक नवोदित पूँजीपति हुन पुग्यो। त्यस्तै पूँजीवादी क्रान्तिको सम्पन्नतासँगै अस्तित्वमा आएको सर्वहारा वर्ग तथा पूँजीपति वर्गको संघर्षमा सर्वहारा वर्गको नेतृत्वमा सम्पन्न हुने क्रान्तिमा समाजमा सर्वहारा वर्गसहित सम्पूर्ण श्रमजीवी वर्गको सत्ता स्थापना हुने छ र त्यो सर्वहारा वर्गको नेतृत्वमा हुने समाजवादी क्रान्ति हुने छ।



लोकपाटी न्यूज

