प्रहरीले चोरहरूलाई नै लुटेपछि…

लोकपाटी न्यूज

काठमाण्डाैं। उत्तर प्रदेशको फिरोजाबादमा चोरहरूबाट चोरीको पैसा लिएर सुरक्षित जिल्ला पार गराएको आरोपमा चार प्रहरीलाई पक्राउ गरिएको छ ।

गएको अक्टोबर १५ मा रसूलपुर प्रहरी चौकीमा एक डेलिभरी अटोबाट एक लाख १० हजार भारु चोरी भएको थियो । चोरहरूले ड्राइभिङ सिट काटेर पैसा निकालेका थिए । पीडित गौरव घर पुगेपछि पैसा नदेखेपछि रसूलपुर प्रहरी चौकीमा जानकारी दिए । चोरीको पूरा घटनाक्रम सीसीटीभीमा कैद भएको थियो ।

एसएसपी अशोक कुमारले भने, ‘घटनाको स्पष्ट फुटेज थियो । चोरले अटोबाट पैसा निकालिरहेको देखिएको थियो । हामीले पूरै जिल्लामा सतर्कता अपनायौँ र नाकाबन्दी गरेर जाँच गर्याैं।’

अक्टोबर १८ मा चोरी गर्ने दुई चोर पक्राउ परेका थिए । त्यसपछि चोरहरूलाई चोरी भएको पैसाको बारेमा सोध्दा पैसा प्रहरीले लगेको बताएका थिए । जाँचका क्रममा प्रहरी चौकीमा रहेका एसआई सुनील चन्द र उनको टिमले चोरहरूबाट चोरीको पैसा लिएपछि उनीहरूलाई आफ्नो गाडीबाट एस्कर्ट गरेर फिरोजाबाद जिल्लाको सीमा पार गराएका थिए ।

त्यसपछि प्रहरीले चोरहरूलाई लुट्ने पूरै प्रहरी टिमलाई पक्राउ गरेर जेल पठायो र पैसा पनि बरामद गर्यो । पक्राउ पर्ने प्रहरीमा एक एसआई, दुई सिपाही र एक प्रहरी जीपका चालक रहेका छन् । -एजेन्सी