श्रमिक वर्गका चेतनाको विकास, संगठनात्मक र वैचारिक आधारको विकास र पूँजीको दासताबाट मुक्तिको एक मात्र बाटो वर्गसंघर्ष हो भन्ने सत्य बुझेपछि सर्वहारा वर्ग पूँजीवाद विरुद्ध संगठित रूपमा संघर्षमा ओर्लिएको छ। श्रमिक वर्गले एकपछि अर्को गर्दै पूँजीवादी आर्थिक-सामाजिक संरचना समाप्त गरी विभिन्न देशहरूमा समाजवादी सामाजिक-आर्थिक संरचना स्थापित गरेको छ। सोभियत संघको विघटनपछि रुस लगायत पूर्वी युरोपका देशहरूमा अहिले यो समाजवादी आर्थिक-सामाजिक संरचना समाप्त भएको छ भने चीन, भियतनाम, क्युबा, कोरिया लगायतका देशहरूमा समसामयिक परिवर्तन र परिमार्जन सहित समाजवादी आर्थिक-सामाजिक संरचना कायम छ।
समाजवादी क्रान्तिपछि स्थापित हुने श्रमजीवी वर्गको राज्यसत्ताले पूँजीवादी संरचनाका सम्पूर्ण सामाजिक, आर्थिक, राजनैतिक र वैचारिक, सांस्कृतिक, आध्यात्मिक परिवर्तन गरी समाजवादी सामाजिक-आर्थिक संरचनाका नयाँ आधार तथा उत्पादन सम्बन्ध स्थापना गर्छ। जहाँ प्रमुख उत्पादनका साधनहरूमाथि सीमित पूँजीपति शोषक वर्गको स्वामित्व समाप्त गरी श्रमजीवी वर्गको सामूहिक स्वामित्व कायम गरिन्छ। सामाजिक उत्पादन र वितरण प्रणालीको सामूहिकीकरण गरी सामूहिक रूपमा यिनको व्यवस्थापन र सञ्चालन गरिन्छ। यस परिवर्तनले एकतर्फ श्रमलाई वस्तुको अवस्थाबाट मुक्त गरी सामाजिक संस्कृतिका रूपमा स्थापित गर्छ भने अर्कोतर्फ वर्गीय शोषणको आधार निजी स्वामित्वलाई समाप्त गरी सामूहिक स्वामित्व स्थापित गर्छ।
सामाजिक-आर्थिक संरचनाको विकास तथा परिवर्तनका उपरोक्त ढाँचाहरू, जसले समाज विकासका मुख्य-मुख्य चरणहरू, संरचनाहरूको मूल चरित्र र परिवर्तनको दिशा र बाटो दर्साउँछन्। समाज विकासको ऐतिहासिक विश्लेषण तथा ज्ञानका लागि र ऐतिहासिक विकासको द्वन्द्वात्मक चरित्र बुझ्नका लागि अति आवश्यक पक्षहरू हुन्। तर, यो बाटो, यो क्रमिकता प्रत्येक ठाउँको र प्रत्येक देशको समाजले आ-आफ्नो ऐतिहासिक विकासको क्रममा अनिवार्य रूपले पार गर्नै पर्ने भए पनि त्यसले कुनै एउटै निश्चित रूप र क्रम पछ्याउनै पर्ने अनिवार्यता भने होइन। यो एउटा सामान्य नियम मात्र हो जसमा कतै सादृश्यता देखिन्छ भने कतै आफ्नै विशिष्ट अवस्थाको विशिष्टता र विविधता पनि देखिन्छ। इतिहासमा समाजवादी क्रान्ति र समाजवादमा संक्रमणका विभिन्न अवस्था र संक्रमणकालीन चरण देखिएका छन्।
सामान्य रूपमा मानव समाजले सामाजिक-आर्थिक संरचनाको परिवर्तनमा यो क्रमिकता पछ्याएको भए पनि कतिपय देश र समाजले रोम, ग्रीक, सिसली, इजिप्ट आदि जस्ता देशहरूमा देखा परे जस्तो दाश युगीन संरचना न बेहोरेर सोझै कृषि युगमा प्रवेश गरेको पनि देखिन्छ। कतिपय देशहरूमा घरेलु निजी दाशहरू यो अथवा त्यो रूपमा थिए र यिनको प्रयोग कृषि उत्पादनको क्षेत्रमा व्यापक रूपमा गरिन्थ्यो। भूदासको रूपमा बधुवा कृषकहरू पनि थिए। यस अर्थमा त्यहाँ दास प्रथा थियो तर त्यसको रूप रोम, इजिप्ट आदि जस्तो थिएन।
समाजमा विविध सामाजिक सम्बन्धहरू, जस्तै आर्थिक सम्बन्ध, राजनैतिक सम्बन्ध, सामाजिक, मनोवैज्ञानिक र वैचारिक सम्बन्ध, कानूनी तथा नैतिक सम्बन्ध आदि, एकसाथ अस्तित्वमा रहेका हुन्छन् र यिनले एक अर्कालाई प्रभावित गरिरहेका हुन्छन्। यी मध्ये सामाजिक-आर्थिक संरचनामा आर्थिक सम्बन्धको विशिष्ट स्थान भए पनि राजनैतिक सम्बन्धहरू बढी सक्रिय र सापेक्षिक स्वतन्त्रता सहित सामाजिक जीवनमा विशेष महत्त्व राख्छन्। त्यस कारण हाम्रा आफ्ना सामाजिक क्रान्तिकारी क्रियाकलापहरूका लागि यी सम्बन्धहरूलाई तिनका प्रभावको आधारमा प्रमुख र गौड महत्त्वको आधारमा पहिचान गर्नु आवश्यक हुन्छ। क्रान्तिकारी गतिविधिमा प्रभाव सबैको हुन्छ तर त्यस मध्ये राजनैतिक सम्बन्धहरूको विशेष महत्त्व रहन्छ।



लोकपाटी न्यूज

