राजेन्द्र बिक/बाजुरा। बेमौसमी वर्षादका कारण बाजुराका ४९ परिवार विस्थापित हुन पुगेका छन्। कार्तिक १ गते देखि ३ गतेसम्म निरन्तर आएको बेमौसमी अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका १ माझगाउँका ४७ परिवार र त्रिबेणी नगरपालिका ४ का २ परिवार गरी ४९ परिवार विस्थापित भएका हुन् ।
स्वामीकार्तिक खापर गाउँपालिका १ माझगाउँ क्षेत्रको चारैतिरबाट पहिरो बग्न थालेपछि माझगाउँ पूरै विस्थापित भएका हुन्। त्यस्तै त्रिबेणी नगरपालिका ४ को मालागाड खोलाले जमिन कटान गर्न थालेपछि त्यहाँका २ परिवार पनि विस्थापित हुन पुगेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
विस्थापित परिवारलाई स्थानीय जनप्रतिनिधि लगायत अन्य छिमेकी गाउँका बासिन्दाले सुरक्षित ठाउँमा उद्धार गरिहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख मदनजित महराले बताए। स्वामीकार्तिक खापर गाउँपालिकामा पहिरोले ४७ परिवार, जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीका केही भवनहरु र त्रिबेणी नगरपालिकामा २ परिवार विस्थापित भएका प्रहरी प्रमुख महराले बताए।
जिल्लामा ४ दिनदेखि सञ्चार सेवा बिच्छेद भएको छ भने सबै सडक खण्ड अबरुद्ध भएका छन्। सञ्चार सेवा बिच्छेद हुँदा जिल्लाभरि भएको क्षतिको पूरा विवरण लिन नसकिएको प्रहरी कार्यालय बाजुराले जनाएको छ।



लोकपाटी न्यूज

