काठमाडाैं। बाढी तथा पहिरोमा परी प्रदेश १ मा ४९ जनाको मृत्यु भएको छ भने १६ जना वेपत्ता भएका छन् । विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण बिसीका अनुसार हालसम्म पहिरोमा परी ४६ जना र बाढीमा परी तीन जनाको मृत्यु भएको हाे।
प्रहरी प्रमुख बिसीले पहाडी जिल्लामा पहिरोमा परी सबैभन्दा बढी पाँचथरमा २१ जनाको मृत्यु भएको जानकारी गराए। त्यस्तै पहिराेमा परी इलाममा १३, धनकुटामा ७, उदयपुरमा २ जनाको मृत्य भएको छ । त्यसैगरी भोजपुरमा एक र सुनसरीमा दुई जनाको मृत्यु भएको प्रहरी नायव महानिरीक्षक बिसीले बताए । मोरङमा एक, सुनसरीमा दुई जनाको बाढीले बगाएर मृत्यु भएको छ ।
वर्षासँग मानवीय तथा भौतिक संरचनाको क्षतिबारे थप विवरण आउन बाँकी रहेको उनले बताए। सडक तथा सञ्चार क्षेत्र समेत प्रभावित हुँदा थप विवरण संकलन गर्ने काम भइरहेको छ। उनका अनुसार पाँचथर, धनकुटा, उदयपुर लगायतका जिल्लाका विभिन्न स्थानमा पहिरो र बाढीले सडक अवरुद्ध भएको छ । बाढीका कारण तराईको झापा, सुनसरी र मोरङ बढि प्रभावित भएका छन् ।



लोकपाटी न्यूज

