- प्रतिमा शर्मा (अधिवक्ता, महिला अधिकारकर्मी)
घटस्थापनाको दिनदेखि गाउँ र शहर हेर्ने लायकका हुन्छन्। शिक्षा तथा रोजीरोटीको लागि गाउँ बाहिर, शहर बाहिर र देश बाहिर गएका नागरिकहरू आ-आफ्नो घर फर्कँदै गरेको दृष्य जति रमाइलो छ, त्यति नै रोचक छ दुर्गा भवानीको शक्तिपीठहरुमा बली चढाउने र पूजा गर्नेहरूको घुइँचो। विशेषगरि पुरुषहरूको उपस्थिति हेर्ने लायक छ। घटस्थापनाको दिनदेखि महाशक्तिशाली मानिएको काली र दुर्गाभवानीको मन्दिरमा बली चढाउने र पूजा गर्नेहरूमध्ये पुरुषको लामो लस्कर देखिन्छ। यसलाई महिलावादी दृष्टिकोणबाट ‘शक्तिका भोका’ र जीवित महिलाको उपेक्षा गर्नेहरूले महिला भगवानको मूर्तिमा दुई हात जोडेर, सीर निहुराएर, देवीको पाउ परेर काली र दुर्गाभवानीमा भएको महाशक्ति मलाई प्राप्त होस भनेर याचना गरिएको देखिन्छ। जसलाई ‘ढोगी र नौटंकी’ भनेर विश्लेषण गर्न सकिन्छ। जहिले पनि जहाँ पनि, सक्षम महिला भए पनि पुरुषहरूलाई समान शक्ति सम्बन्ध अस्वाभाविक लाग्दछ र आफूलाई महिलाभन्दा श्रेष्ठ हुन मन पर्छ। महिलाको सही तर्कलाई पनि सहजरुपमा लिन र स्वीकार गर्न हिच्किचाउँछन् पुरुषहरू। किनकि पितृसत्ताको प्वाल हो। त्यो र पितृसत्ताकै कारण सिर्जित जड मानसिकता हो, त्यो जो पुर्न जरुरी छ।
पितृसत्ताकै कारण सबै धर्महरूमा महिलालाई प्रलोभनको रूपमा प्रस्तुत गरिएको छ। व्रत, पूजा र पुरुषको आराधनामा नलाग्ने महिलालाई पापी, अलच्छिनी र भगवानले मन नपराउने व्यक्तिको संज्ञा दिएर जबरजस्ती व्रत, पूजा र पुरुषको आराधनामा लाग्न मानसिक रूपमा बाध्य बनाइएको छ। पढेलेखेका महिलाहरू समेत यद्यपि स्नातक र स्नातकोत्तर गरेका, डाक्टर, वकिल, विद्यावारिधि गरेका व्यक्ति, शिक्षिका र तालिम दिँदै हिँड्ने प्रशिक्षक जस्ता महिलाहरू समेत आफ्नो स्वास्थ्यका लागि होइन, पतिको आयु र स्वास्थ्य राम्रो होस भनेर व्रत बस्छन्। दिनभरि लाइनमा बसेर पूजा गर्दछन् र पत्नीको यो हालत देखेर अधिकांश पतिहरू वा ! रे वा ! मेरी पत्नी कति संस्कारी भनेर बेहद खुसी हुन्छन्।
चाडपर्व कुनै न कुनै धर्म र संस्कारसँग जोडिएको छ। मान्ने नमान्ने वा विश्वास गर्ने नगर्ने आ-आफ्नो कुरा होला। तर पनि अन्धविश्वासको अनुसरण जारी छ, गाँजा र अफिमको लत जस्तो। कार्लमार्क्सले धर्मलाई अफिमको संज्ञा दिएका थिए भने माओत्सेतुङले पनि धर्मलाई मार्क्सवादी दृष्टिकोणसँग जोडेर सन १९४९ मा परम्परागत आडम्बरी धर्मका विरुद्ध नास्तिकताको नीति घोषणा गरेका थिए। तथापि समुदायमा यो नीति स्थापित हुन सकेन। किनकि धर्म अफिम जस्तै एउटा लत हो। माओले भने झैँ अन्धविश्वासी धर्मबाट महिला र पुरुष दुवै बाहिर आउन सकेका छैनन्। कार्लमार्क्सले त्यो जमानामा पनि धर्मलाई अफिम किन भनेका थिए ? किनकि अफिम एउटा जटिल लत हो। यस्तो लत बसेपछि खराब छ भन्ने थाहा पाएर पनि छुटाउन गाह्रो हुन्छ। धर्म पनि त्यही अफिम जस्तै खतरनाक लत हो, जो बानी परेपछि छुटाउन गाह्रो हुन्छ। उदाहरणका लागि संस्कार र धर्मका नाममा जातिगत छुवाछुत, महिनावारी, छाउपडी, सुत्केरी हुँदाको छुवाछुत र भेदभाव, नछुने र बार्ने संस्कार, पतिका लागि पत्नी व्रत, छोरीको कुमारीत्व र श्रीमतीको सतीत्व पनि धर्म र संस्कारसँग जोडिएको खराब लत हुन। यो अन्धविश्वासीपन हो, तर नबारेका कारण वा यौनिकताको अधिकार प्रयोग गरेबापत पाप लाग्ने विषय होइनन्।
मार्क्सवादी समाजवादी महिलावादीहरूले पनि धर्मलाई लैंगिकमैत्री बनाउनका लागि पुनर्लेखन गर्न जोड दिँदै आएका छन्। धर्म एउटा समाज व्यवस्था भएकोले लैंगिकमैत्री समाज व्यवस्था बनाउनका लागि सबै प्रकारका धार्मिक दर्शनहरूलाई पुनर्लेखन गर्नु आवश्यक छ र यसरी पुनर्लेखन गरिने वा संशोधन गरिने धार्मिक ग्रन्थहरूलाई लैंगिक दृष्टिकोणबाट सेन्सर गरेर मात्र प्रकाशन र वितरण गर्नुपर्दछ। लैंगिकमैत्री पाठ्यक्रम बनाउने देखि, शिक्षण सामाग्री, गीतसंगीत, धार्मिक ग्रन्थ, उत्पादनका साधन, विज्ञापन, वितरण प्रणाली आदि सबै लैंगिकमैत्री हुन जरुरी छ। यसको लागि खास जिम्मेवारी राज्यको हो भने दबाब सिर्जना गर्ने जिम्मेवारी हाम्रो पनि हो किनकि घिउ सजिलै निस्किँदैन भन्ने कुर महिलावादीले बुझ्न जरुरी छ।
सयौं वर्ष अगाडिको सन्दर्भमा राज्यसत्ता कब्जा गर्ने हेतुले बनाइएका देवी देवताका पौराणिक कथाहरू सोधखोज र बहसका विषय होलान्। तथापि वर्ग र पूँजीवादसँगै उत्पन्न भएका राज्यसत्तासँग साइनो गाँसेको कथाले वर्तमान समाजमा र शिक्षित परिवारमा समेत सामाजिक मूल्यमान्यताको रूपमा गहिरो जरा गाडेको छ, जुन हानिकारक अभ्यास हुन। चिनिया कम्युनिस्ट पार्टीले आफ्ना नेता र कार्यकर्तालाई परम्परावादी अन्धविश्वासी धर्मको पछाडि नलाग भनेर निर्देशन दिइएको पाइन्छ। नेपालमा पनि क्रान्तिकारी कम्युनिस्टहरूले अन्धविश्वासी धर्मप्रति विश्वास छैन भन्दै आएता पनि विभिन्न बहानामा सबै प्रकारका चाडपर्व मनाउँदै आएको देखेकै छौ। विभिन्न युगको विकाससँगै सत्ता व्यवस्थापन गर्ने विविध विधिहरू मध्ये एक विधि हो धर्म व्यवस्था। गीता, रामायण, महाभारत, बाइबल, कुरान, उपनिषद आदि धार्मिक तथा आध्यात्मिक दर्शनलाई उपकरणका रूपमा प्रयोग गरिएको पाइन्छ। यद्यपि चाडपर्वले व्यक्ति, परिवार, समाजको जीवनमा एउटा फरक रौनकता, रमाइलो भेटघाट र अनुभव आदानप्रदानको लागि हौसला दिन सक्छ। तथापि तिज, इद, दशैं, तिहार, छड, माघी, ल्होसार आदि तिनै पुराना, माक्कियका, विभेदपूर्ण र पुरुष प्रधान राज्यसत्तालाई मलजल गर्ने परम्परागत धार्मिक, सांस्कृतिक र राजनीतिक अभ्यास हुन। यस्ता चाडपर्वलाई अन्धाधुन्ध अंगाल्नु भन्दा, वा सांस्कृतिक मिथकलाई पुस्तान्तरण गर्नुभन्दा वैज्ञानिक तरिकाले समयसापेक्ष, मितव्ययी, लैंगिकमैत्री र सहअस्तित्व बोध हुने खालको रूपान्तरित पर्व बनाउन जरुरी छ। नयाँ पुस्तालाई चाडपर्वभित्र पनि लैंगिक समानताको सन्देश दिन जरुरी छ।
दन्त्य कथा होस वा पौराणिक कथा, सत्ते कथा होस वा भ्रमपूर्ण धार्मिक सांस्कृतिक मन्दविषपान गराउँदै पूँजीवादी पितृसत्तात्मक राज्यसत्ता जोगाउने द्वैधसंस्कृति बोकेको कथा होस, राजनेता देखि काजनेतासम्मले दुर्गाभवानीका शक्तिपीठको सहारा लिएर आफू पनि सफल हुन सकूँ भनेर वरदान माग्दछन्। यिनले नयाँ पुस्तालाई कस्तो सन्देश दिएका छन् ? यतिबेला राजा, महाराजा, नेता, कार्यकर्ता, धर्मगुरु, अध्यात्मवादी, जागिरे, व्यापारी, उद्योगी, गृहिणी, विद्यार्थी, विकाशे कार्यकर्ता, मानवअधिकारवादी अभियन्ता, महिलावादी आदिले बडा दशैं मनाएका छन्। कसैले घरमै शक्तिपीठ निर्माण गरी पूजाआरधना गरेर मनाएका छन् भने कसैले दुर्गाभवानीको मन्दिर मै धाएर आफू पनि काली जस्तै सशक्त र दुर्गाभवानी जस्तै सफल हुनको लागि आशीर्वाद लिने गरेको पाइन्छ। किनकि, दुर्गाभवानी, काली आदि महाशक्तिशाली भएको कथा पढाइएको छ। फोटो, मूर्ति, मुभी र सिरियल्सहरु बनाइएको छ। जसका कारण सबैलाई शक्तिशाली हुन मन पर्छ। तर यो लैंगिक दृष्टिकोणले विभेदपूर्ण संस्कृति हो र विभेदपूर्ण संस्कृति भए पनि यसकै अनुसरण र पुस्तान्तरण गरिएको छ। सन्तानलाई संस्कृति र संस्कार सिकाउने नाममा विभेदपूर्ण, तडकभडक सहित, खर्चालु धार्मिक र परम्परागत संस्कारको पुस्तान्तरण गर्नु अवश्य पनि कुनै दृष्टिकोणबाट पनि हितकर छैन। यसलाई समय सान्दर्भिक, लैंगिकमैत्री, वर्गीय विभेद नहुने गरी तडकभडकको अन्त्य र असल संस्कारको विकास गर्न परिमार्जन जरुरी छ।
यसै सन्दर्भमा मैले विभिन्न शक्तिपीठमा आएका ११० जना पुरुषलाई सोधेको थिए, किन दुर्गाभवानीको मन्दिरमा धाउनु भएको छ ? १० प्रतिशतले मन शान्तिका लागि र बाँकी ९० प्रतिशतले आफूले चाहेको शक्ति प्राप्त गर्न भन्ने जवाफ दिएका छन्। यसबाट आंकलन गर्न सकिन्छ, पुरुष मानसिकता। हाम्रो समाजमा सबैभन्दा बढी शक्तिशाली पुरुष नै छन्। महिला र पुरुषबिच असमान शक्ति सम्बन्ध छ भन्ने कुरा हामी सबैले भोगेकै छौ। महिलामाथि सधैं हिंसा, विभेद र कुदृष्टि लगाउनेहरूले दशैका नौ दिन महिला भगवानको पूजा गरेर उनीहरूसँग भएको शक्तिको गुणगान गाएर आफूले त्यस्तै शक्तिप्राप्त गर्नको लागि आर्शिवाद माग्छन् दशौं दिन। त्यसैगरी तिहारमा दिदी बहिनीहरूले दाजुभाइलाई यमराजबाट बचाउनको लागि विधिपूर्वक पूजा गरेर टिका र माला लगाइदिने परम्परा छ। तिजमा पतिका लागि पत्नीले व्रत बस्दै आएका छन्। छड र इद पनि यस्तै पर्व हुन। मात्र पुरुषको हितमा परिकल्पना गरिएको छ यी पर्वहरू। पितृसत्तात्मक राज्यसत्ता टिकाउनका लागि धेरै रहस्यात्मक छन् यी पर्वहरू जसलाई मैले महिलावादी दृष्टिकोणबाट हानिकारक अभ्यास हुन र यी सबै परिमार्जन गर्न जरुरी छ भन्छु।
चाडपर्वलाई समाजमा एकता स्थापित गर्ने, भेटघाट हुने र उत्सवको रूपमा मनाउने कुरा गर्दै गर्दा पुरुष प्रधानतालाई स्थापित गरेको पाइन्छ। जस्तै, पत्नीहरूले भोक भोकै आफ्नो श्रीमानको लागि लामो आयु र राम्रो स्वास्थ्य मागेर तिजको व्रत बस्छन् र ऋषि पञ्चमी गर्छन्। तिहारमा दिदीबहिनीहरूले दाजुभाइकै लागि पूजा गर्दछन्। दशैं पुरुषहरूले नै शक्ति प्राप्तिका लागि बलि दिने पूजा गर्ने गर्दछन्। त्यसैगरी छोरा जन्मेमा खुसी मनाउँदै खसी काट्दछन्, छैटी गर्दछन्। छड र इदमा पनि पुरुष प्रधानता देखिन्छ। यी सबै धर्म कर्म र चाडपर्वले पितृसत्तात्मक राज्यसत्तालाई बलियो र संस्थागत बनाउन सहयोग गरेका छन्।
पुरुषलाई प्रधान मान्ने र लैंगिक भेदभाव भएका चाडपर्व, दर्शन, धर्म र संस्कृतिले लैंगिक विभेद त गरेकै छ। महिला मानव अधिकारको हनन पनि भएको छ। महिलाको प्रजनन स्वास्थ्य अधिकार र यौनिकतामाथि नियन्त्रण गरिएको छ। महिलाको सामाजिक जीवनमा अंकुश लगाइएको छ। विभिन्न समयमा विभिन्न कार्यक्रम, अन्तरवार्ता, लेख, बहस र सेमिनारबाट रुपान्त्रण हुनुपर्छ भनेर भाषण गरे पनि रुपान्त्रणका लागि राज्यव्यवस्था तयार देखिँदैन। यसलाई द्वैधवादी संस्कृति पनि भनिन्छ। महिलावादी आन्दोलनलाई कमजोर बनाउने खतरनाक भाइरस पनि हो यो, जसले सकारात्मक रुपान्त्रणका लागि अंकुश लगाउँछ र महिलालाई आफ्नो अधिकार र यौनिकताबारे बोल्नबाट सयौं वर्ष पछाडि धकेल्छ। महिला सक्षम छैनन् भन्ने कुरा आरोप मात्र हो। कानूनमा एउटा लेख्ने, व्यवहारमा अर्को गर्ने, भाषणमा एउटा भन्ने संस्थागत संरचनाको विकास र अवसरमा पहुँच वृद्धि गर्ने समयमा मुटु कमाउने प्रवृत्ति रहेसम्म रुपान्त्रण सम्भव छैन। त्यसैले महिलावादी दृष्टिकोण अनुसार लैंगिक समानताका लागि धार्मिक ग्रन्थको पुनर्लेखन, सामाजिक, सांस्कृतिक र राज्य व्यवस्थाको रूपान्तरण र पूँजीवादी पितृसत्ताको अन्त्य हुनु आवश्यक छ।



लोकपाटी न्यूज

