काठमाडौं। दशैं सिकारी युगको मानिसको प्रवृत्ति हो। भोज खाने, रमाइलो गर्ने, बस्ने। परिवार चलन त धेरै अगाडि देखिको हो। त्यो निरन्तर अहिलेसम्म आइरहेको छ। संस्कृति समाज भनेको परिवर्तनशील हुन्छ। समय परिस्थिति र काल खण्डमा समाज, संस्कृतिमा भिन्नता आइरहन्छ। परिवर्तन आइरहन्छ।
विभिन्न धार्मिक कथाहरू दशैंमा जोड्न थालियो। रामले रावणलाई मारेको कथा, अष्टमात्रिका, नवदुर्गाले महेश्वरलाई मारेको पौराणिक कथाहरू यसमा जोडिँदै आए। दशैं विकसित रूपमा अघि बढ्दै अहिलेको अवस्थासम्म आइपुगेको छ। सामाजिक, सांस्कृतिक र धार्मिक तीनै पक्षलाई मिश्रित गरेर दशैंलाई रमाइलो बनाउने पक्षमा मानिसहरू सुरुदेखि लागेका देखिन्छन्। त्यसकारण मानिसहरूको परिवार एक ठाउँमा जमघट गर्ने, राम्रो लगाउने, मिठो खाने र रमाइलो गर्ने दशैंकाे मूल उद्देश्य हो।
पछि गएर मध्य कालतिर कस्तो भयो भने भारत र नेपालका विभिन्न ठाउँमा राजा महाराजाहरूले पनि हात हतियारहरूलाई पूजा गर्ने, दुर्गाको पूजा गर्ने, शक्ति आर्जन गर्ने अनि युद्धमा जाने गर्दथे। त्यो बेला साना-साना राज्यहरू थिए। लडाई बारम्बार भइरहने, वर्षापछिको समय लडाइँको लागि उपयुक्त मानिन्छ। उनीहरू पनि देवीको पूजा गर्ने, हतियारको पूजा गर्ने, एउटा वीरयोद्धाकाे विजयको प्रतीकका रूपमा यो भइदियो। यो विभिन्न कालखण्डको विकासक्रमसँगै भएको हो। राजा महाराजाहरूले लडाइँमा जानै पर्ने बाध्यता थियो त्यति बेला। यही क्रममा रातो टीका लगाउने, दिर्घायूको रूपमा जमरा लगाउने जस्ता प्रचलनहरू थपिँदै गए। दशैंलाई मानिसहरूले आ-आफ्नो अपेक्षा अनुसार आ-आफ्नै तरिकाले मनाए।
संसारमै विभिन्न जात जातिका मानिसहरू जुनसुकै धर्मका मानिसहरू होस् उनीहरूले वर्षमा एक पटक जमघट गरेर चाड मनाउने गर्छन्। आ-आफ्नो ढंगले नाम दिए पनि पारिवारिक जमघट गर्छन्।
अर्को एउटा चाखलाग्दो विषय के छ भने ढुंगे युगदेखि मानिसहरूले आ-आफ्ना पुर्खाहरूलाई सम्झिने गर्छन्। हामीकहाँ पनि सोह्रश्राद्ध गर्ने भनेको त्यही हो। दशैं पहिले पूर्खालाई सम्झन्छौं। अनि त्यसपछि दशैं मनाउँछौं। यो भनेको पूर्खालाई पनि भाग दिएको हो भनौंन। तिमीहरू पनि रमाइलो गर भनेर पूर्खालाई सम्झेर अनि मात्र दशैं मनाइरहेका छौं। यो चलन धेरै अगाडिदेखिको हो। विश्वका अरू देशहरूमा पनि यस्तो प्रचलन भेटिन्छन्।
पछि गएर बंगालमा तन्त्रमन्त्रको विकास भयो। त्यो तान्त्रिक विकासले शाक्तधर्मको विकास भयो। त्यो एकदमै तीव्र गतिमा फैलियो। त्यसले गर्दा देवी दुर्गा भवानी पनि दशैं पर्वमा मिसियो। त्यसैले उनीहरू दुर्गा पूजा भन्छन्। त्यो दुर्गामा पनि पछि नवदुर्गाको अवधारणा आयो। हामी पनि अब विजयादशमी अथवा दशैं भन्छौं। यी सबै पक्ष जोडिँदै गए। त्यसैले दशैं आ-आफ्नो दृष्टिकोण र आ–आफ्नो कोणबाट मनाउने प्रचलन नेपालमा पनि प्राचीन समयदेखि रहेको देखिन्छ।
आधुनिक युगमा दशैं खोज्ने हो भनेदेखि पहिले शुभकामना आदान प्रदान गर्ने गर्थे। अहिले परिवर्तन भयो। मानिसहरू टाढा टाढा भए। आधुनिक युगमा मानिसहरूले टेक्नोलोजीको प्रयोग गर्न थालेका छन्। आधुनिक प्रविधिको विकास भएपछि संस्कृतिमा पनि विस्तारै परिवर्तन आउँछ। अझ भनौं, पशुपतिको पूजा अमेरिकाबाट गर्न सक्छन् अनलाइन मार्फत। विस्तारै यस्तो परिवर्तन आउँछ। संस्कृतिमा परिवर्तन नभएर संसारमा एकरूपता आउन सक्दैन। त्यसमा परिवर्तन हुन्छ।
हिन्दू र दशैं
दशैंलाई धर्ममा राखेर हेरियो। दशैं पर्व भनेको कुनै धर्म विशेषको पेवा होइन। जुनसुकै धर्म मान्ने मानिसहरूले पनि दशैंको मूल मर्म बुझेर मनाउन सक्छ। विभिन्न समय काल खण्डमा दशैंसँग धार्मिक कुराहरू जोडिँदै आए। मानिसले आफ्नो श्रद्धा भक्तिका विविध पक्षहरूलाई जोड्दै जोड्दै दशैंलाई धार्मिक रूपमा ल्याए।
वास्तवमा धार्मिक भन्दा पनि दशैं भनेको सांस्कृतिक पर्व हो। हिन्दू धर्मलाई तपाईँले कसरी बुझ्नु हुन्छ ? मेरो बुझाइमा हिन्दू, धर्म होइन। हिन्दू भनेको संस्कृति धर्म हो। धर्मलाई जसरी विदेशीहरूले व्याख्या गरे त्यो किसिमको हामी कहाँ धर्मको ठ्याकै अर्थ त्यो होइन। हामी मानव धर्म भन्छौं, एक बुवाले छोरा प्रति गर्ने धर्म, विद्यार्थीको धर्म पढ्ने, शिक्षकको धर्म पढाउने भनेको जस्तो हामीहरूको धर्म भनेको संस्कृतिसँग आबद्ध ‘रुल एण्ड रेगुलेशन’ पछ्याउने हो।
तर धर्म, जुन किसिमको आस्था, विश्वास देवी देवताहरूमा राख्ने र पूजा गर्ने यो चाहिँ आ-आफ्नो व्यक्तिगत हुन्छ। यहाँ कस्तो प्रचारबाजी गरियो भने दशैं हिन्दू धर्मको मात्र महान् चाड हो। वास्तवमा यो हिन्दूहरुको मात्र महान् चाड होइन। यो समस्त मानव समुदायको सांस्कृतिक पक्ष हो।
यसमा हिन्दू संस्कृतिका मानिसहरूले आफ्नो पक्षमा हो भन्ने पार्न रामको कथा पनि जोडे । दुर्गाको कथा जस्ता विभिन्न पक्षले आ-आफ्नो पक्ष जोड्दै गए। अन्यत्र ठाउँमा अन्य नाममा पारिवारिक जमघट गर्ने, दिर्घायूको कामना गर्ने प्रचलन हरेक समाजमा हुन्छ। हुनु पनि पर्छ। उनीहरूको नाम र दिन फरक होला त्यो उनीहरूको सांस्कृतिक पक्ष हो। हामीहरूले सांस्कृतिक पक्षलाई धार्मिक पक्षको रूपमा प्राथमिकता दियौं। त्यसलाई धर्मसँग मिसाइ दियौं।
अहिले दशैंको महत्त्व घटेको कुराहरू पनि सुन्न पाइन्छ। तर मलाई दशैंको महत्त्व घटेको लाग्दैन। मानिसहरूले दशैंलाई कुनै न कुनै रूपमा मनाइ रहेका हुन्छन्। वास्तवमा रमाइलो गर्ने, पारिवारिक जमघट गर्ने प्रचलन नै दशैं हो। ठूला मानिसबाट आशीर्वाद लिने, सानालाई आशीर्वाद दिने, दिर्घायूको कामना गर्ने जस्ता पक्ष दशैंका मूल पक्ष हुन्।
यसमा धर्मलाई जोडेर आ-आफूले विश्वास गर्ने, देवी देउतालाई आह्वान गर्ने, पूजा गर्ने। यो आफ्नो पक्ष हो। वास्तवमा समाज परिवर्तनशील छ। पहिलाको ग्रामीण समाजबाट विकास भएर अहिले सहरी समाजको रूपमा विकास भएको छ। हुँदा हुँदा विश्वव्यापीकरणको अवधारणा आएको छ। विश्व एक हुन थालेको छ। मानिसहरूले समय परिस्थितअनुसार कुनै न कुनै रूपमा यो पर्व मनाउँछन्। परिवर्तन स्वाभाविक कुरा हो। तर जहाँसम्म मलाई लाग्छ, मानिसहरूले आफ्नो संस्कृति छोड्दैन।
एक अर्को पक्ष
पाकिस्तान र इन्डियाको बोर्डरमा सिन्दू नदी छ। पर्शियनमा सिन्दूलाई हिन्दू भन्छ। उनीहरूको शब्दकोशमा स भन्ने शब्द हुँदैन। उनीहरू स लाई ह भन्छन्। त्यसैले सिन्दूलाई हिन्दु भने। जस्तो हामीले सप्ताहलाई हप्ता भन्छौं वास्तवमा त्यो सप्ताह नै हो। त्यसैले यी शब्द पर्शियनबाट आएका हुन्। उनीहरूले सिन्दू नदीको पूर्वबाट जो मानिस गए उनीहरूलाई हिन्दु भन्न थाले। त्यो भनेको सिन्दूतिरका मानिस आएको भनेको हो।
हिन्दू शब्द त्यसरी उच्चारण भयो। इन्डसदेखि पूर्वतिर जति पनि संस्कृति छन्। धर्म छन् ती सबैलाई उनीहरूले हिन्दू भनिदिए। त्यसमा झारफुक पनि आयो, मासु खाने पनि आयो, भगवती मान्ने पनि आए, विष्णु मान्ने पनि आए, महावीर मान्ने पनि आए। उनीहरूले को हो भन्दा यिनीहरू हिन्दू संस्कृति हो भन्ने भयो। पछि गएर पश्चिमाहरूले यसलाई पूर्वीय दर्शन, पूर्वीय धर्म भन्न थाले।
त्यसकारण यो सांस्कृतिक हो। हरेक समुदायमा हेर्नुहोस् सिकारी युगदेखि नै मानिसले आफूलाई मन पर्ने जनावर मारेपछि, मिठो लाग्ने मासु भएपछि पारिवारिक जमघट गर्छन्। पछि दिनहरू निश्चित भए। जब मानिसहरू कृषि युगमा प्रवेश गरे त्यसपछि चाडको रूपमा संस्कृतिको रूपमा यसलाई विकास गरे।
त्यो संस्कृति भनेकै दशैं संस्कृति हो। यसमा विभिन्न मानिसहरूले आ-आफ्नो समुदायहरूले आ-आफ्नो धर्म अनुसारको आफूले आस्था राखेको देवी देवतालाई मानेर संस्कृतिमा मिसाएको पाइन्छ।
जस्तो मलाई विश्वास छ बुद्धमा। बुद्धको पूजा गरेर दशैं मनाउन पाइन्छ नि त। काटमार गर्ने नगर्ने आफ्नो ठाउँमा छ। कोही मासु खान्छन्। कोही मासु खाँदैनन्। अनि बलि दिने भनेको त दान हो। दान कसलाई गर्ने ? देवी देउतालाई। कसैले मासु खाएर दान गर्छन्। कसैले चामल खुवाएर दान गर्छन्। त्यो आफ्नो ठाउँमा छ। तर यो संस्कृति हो। यसलाई हरेक समुदायले कुनै न कुनै रूपमा मानिरहेका हुन्छन्।
वास्तवमा दशैं धार्मिक होइन सांस्कृतिक पर्व हो। यो हाम्रो संस्कृति हो। संस्कृतिलाई कसैले म परिवर्तन गरिदिन्छु, रोकिदिन्छु भनेर कुनै व्यक्ति वा संस्थाले रोक्न सक्दैन। तर मानिसले नियतवश कसैले दुर्भावना राखेर जे पनि गर्छन्। तर त्यसबाट क्षणिक लाभ लिन सक्छन्। यसले हाम्रो संस्कृतिमा त्यति असर पार्दैन।
मान्नुहोस्, कसैमाथि विश्वास राखेर उसले धोका दिन्छ भने व्यक्तिले नै फल पाउने हो। त्यसैले हामी हाम्रो संस्कृति जसरी पनि मनाउँदै आएका छौं। मनाइरहेका हुन्छौं। महत्त्वपूर्ण कुरा के हो भने। दशैं हाम्रो सांस्कृतिक पर्व हो। संस्कृतिलाई हामीले छोड्नु भएन। संस्कृतिलाई छोड्न हामी चाहेर पनि सक्दैनौं।
(त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. मदनकुमार रिमालसँग गरिएको कुराकानीको सम्पादित अंश।)



लोकपाटी न्यूज

