दर्शन विश्वकोश : के हो वंशानुविज्ञान ?

Earth globe
लोकपाटी न्यूज

 वंशानुगतता तथा प्राणीहरूको शरीररचनाको परिवर्तनका नियमहरूसँग सम्बन्धित विज्ञान। वंशानुविज्ञान जीवविज्ञानका मुख्य शाखाहरूमध्ये एक हो र यसको विषय हो जीनप्ररुप (genotype), जसको कार्य एउटा जैविक प्रणालीको नियमन गर्नु हो। विज्ञानको रुपमा वंशानुविज्ञानको उत्पत्ति वंशानुगतताका नियमहरूको मेण्डलको खोज (१८६६) सँग सम्बन्धित छ, १९०० मा यी नियमहरूको एच. द फ्रिज, के. कोर्रेन्स, इ. चेर्माकले पुनः खोज गरे। पछि गएर वंशानुगतताको क्रोमोजोम सिद्धान्तको प्रतिपादन र जिनको भौतिकवादी अवधारणाको विस्तार गरियो (टी. मोर्गन तथा अन्यद्वारा)।

वंशानुविज्ञानको सूत्रपातको समयमा त्यसको र डार्विनको विकासको सिद्धान्तको बीचमा रहेको खाल्डोलाई पछि गएर समष्टि-वंशानुविज्ञानले मेटायो, जसको जग एस. चेत्वेरिकोभले राखेका थिए (१९२६)। वंशानुविज्ञानमा एउटा प्रगतिशील पक्ष थियो वंशानुगतताको क्रोमोजोम सिद्धान्तका कैयौं यान्त्रिकतावादी सूत्रहरूसँग सम्बन्ध विच्छेद, जुन जिनको स्थिरताको अतिशयोक्तिमा, कोशिकाहरुका अन्य अवयवहरुसँग त्यसका जटिल सम्बन्धहरूको उपेक्षामा तथा बाह्य कारकहरू, जिनप्ररुप र लक्षणप्ररुप (phenotype)को अखण्डता तथा आ-आफ्नो र ऐतिहासिक परिवर्तनीयताको दृष्टिले तिनीहरूका सम्बन्धहरूको कम मूल्यांकनमा अभिव्यक्त भए। यो सम्बन्ध विच्छेदलाई जिनहरूमाथि एक्स-किरणहरुको परिवर्तनकारी प्रभावको खोज (जी. एस. फिलिपोभ, एच. मुल्लर), रासायनिक विधिबाट प्रेरित परिवर्तनमाथि कार्यले (भी. साखारोभ, एम. लोवाशो, इ. रापोपोर्त, आदि) बढवा दिए।

कृषिमा व्यावहारिक छनौटको कामको क्रममा एन. वभिलोभले प्राकृतिक अवस्थाहरूमा परिवर्तनको परिमाणात्मक र गुणात्मक सम्भावनाहरूको खोज गरे। इ. मिचुरिनले दूरवर्ती संकरण विधिहरूबाट जैविक प्रकृतिको सक्रिय ढंगले परिवर्तन गर्ने सिद्धान्तहरूको विकास गरे। जिनको आन्तरिक संरचनाको खोजका प्रयत्नहरू सफल भए। ए. सेरेब्रोभ्स्की र एन. दुबीनीनले यो दर्साए कि जिनलाई रेखीय क्रममा पृथक-पृथक अंशहरुमा विभाजित गर्न सकिन्छ। पछिका विभिन्न प्रयोगहरूले यो दर्साए कि क्रोमोजोमहरुमा विद्यमान डिअक्सीराइबोन्यूक्लिक एसिड (म्ल्ब्) नै जिनको विशिष्ट रूपले रासायनिक आधार हो, यसैमा वंशाणुगत सूचना लेखिएको हुन्छ, जसानुसार अनुसंश्लेषण र अन्ततः कोशिका तथा सम्पूर्ण रुपमा जैविक प्रकृतिको स्वपुनर्जन्म भइरहन्छ। वंशानुगतताको भौतिक आधारको आणविक संरचनाको अध्ययनमा एन. के. कोल्त्सोभको अनुसन्धान (१९२७), जे. वाट्सान तथा एफ. क्रिकद्वारा डि. एन. ए. को, जसको द्विक सर्पिल रूप हुन्छ, आणविक प्रारूपको खोज (१९५३), आदिले धेरै ठूलो भूमिका निर्वाह गरे।

२० औं शताब्दीका अन्तिम दशकहरूमा वंशानुविज्ञानको अन्य जीवविज्ञानहरू, प्रयोगात्मक कृषि विज्ञान, चिकित्साशास्त्र, सूक्ष्म जीवविज्ञान तथा अन्तरिक्ष जीवविज्ञानसँग फलदायक सम्बन्धहरूको बढीभन्दा बढी गहन विकास हुँदै गइरहेको छ। वंशानुविज्ञानको क्षेत्रमा वैज्ञानिक खोजको साथसाथै भौतिकवाद तथा आदर्शवाद, द्वन्द्ववाद तथा अधिभूतवादको बीचमा तीक्ष्ण दार्शनिक संघर्ष चलिरहेको छ। तर वंशानुविज्ञानमा प्रगति सदा भौतिकवादमाथि आधारित रहेको छ, किनभने वंशानुगतताका वस्तुगत गुणहरूको अध्ययनले वंशानुविज्ञानविद्हरुमा स्वतःस्फूर्त भौतिकवादी दृष्टिकोणलाई जन्म दिएको छ। वंशानुविज्ञानको क्षेत्रमा द्रूत प्रगति सँगसँगै यान्त्रिकतावादी सीमाहरूमाथि नियन्त्रण प्राप्त गरिएको छ र द्वन्द्वात्मक अध्ययन विधिको बढ्दो आवश्यकता अनुभव गरिँदैछ, किनभने अंश तथा सम्पूर्ण (जिनप्ररुपसँग जिनको सम्बन्ध), नियतत्ववाद (लक्षणहरूसँग जिनको, जिनप्ररुपसँग लक्षणप्ररुपको, विकाससँग परिवर्तनको सम्बन्ध) को समस्याको समाधान गर्न र साथसाथै वंशाणुगत विश्लेषणको लागि विज्ञानका विशेष शाखाहरूका विधिहरूको प्रणालीस्वरुपलाई आत्मसात् गर्नको लागि परिस्थितिहरू परिपक्व भएका छन्।

वंशानुविज्ञानको अग्रगतिको साथै त्यसको प्रगतिशील, मानवतावादी, सामाजिक तथा नैतिक अन्तर्वस्तु पनि सम्बर्धित भइरहेको छ। यो मानववंशानुविज्ञान, चिकित्सावंशानुविज्ञान, वंशाणुगत इन्जिनियरिंगको लागि पनि विशेष रूपले महत्त्वपूर्ण छ, जसमा मानव संज्ञानको कर्ता मात्र होइन, बरु मुख्य विषय पनि बन्दछ। वंशानुविज्ञानप्रति मार्क्सवादी दृष्टिकोण यसमा निहित छ कि त्यसमा प्रकृति विज्ञानका साधनहरूको माध्यमबाट मानिसको संज्ञानको सम्बन्धमा बुर्जुवा वैचारिक अवधारणाहरूको अवैज्ञानिक स्वरूपलाई उद्घाटन गर्ने क्षमता छ। मानिसको सम्पूर्णतालाई बनाउने प्रक्रियाको सैद्धान्तिक निरूपणका द्वन्द्ववादी-भौतिकवादी सिद्धान्तले मानिसका सामाजिक तथा जैविक (वंशानुगतसमेत) पक्षहरूको एउटै समुच्चयको रुपमा व्यापक अध्ययन गर्ने दार्शनिक आधार र कार्यविधि प्रस्तुत गर्दछन्। -रमेश सुनुवारको दर्शन विश्वकोशबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्