काठमाडाैं। जनता समाजवादी पार्टीले बिहीबारसम्म मन्त्रीको नाम टुंग्याउने भएको छ। जसपाको बुधबार बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा जाने नेताको नाम टुंग्याउने जिम्मा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएको थियो।
‘सरकारमा जाने नामबारे छलफल भएको छ,’ एक नेताले भने, ‘तर आकांक्षी धेरै भएकाले कसलाई पठाउने भन्ने अझै टुंगो लगाउन सकिएकाे छैन।’
शीर्ष तीन नेताले बिहीबार बिहान छलफल गरेर सरकारमा सहभागी हुने मन्त्रीकाे नामबारे निर्णय लिन लागेका हुन्। जसपा स्राेतका अनुसार बिहीबार ८ बजे तीन नेताबीच छलफल हुँदै छ, त्यही बैठकपछि मन्त्रीको नाम टुंगो लाग्नेछ।
जसपाको आजको बैठकमा संसदमा नभएका व्यक्तिलाई मन्त्रिमण्डलमा नपठाउने, एक महिला अनिवार्य, शीर्ष नेता सरकारमा नजाने, भूगोल मिलाएर सरकारमा पठाउने, समुदायगत रूपमा पनि मिलाउनुपर्ने जस्ता विषयमा छलफल भएकाे थियाे।
जसपामा राजेन्द्र श्रेष्ठ, महेन्द्र यादव, रेणु यादव, अमृता अग्रहरी, इस्तियाक राई, मृगेन्द्र यादव, प्रदीप यादव, रामसहाय यादवलगायत नेताहरु मन्त्रीका आकांक्षी देखिएका छन्।



लोकपाटी न्यूज

