तीज : हुनेखानेलाई उत्सव, हुँदाखानेलाई सकस

Manisha Acharya
लोकपाटी न्यूज
  • मनिषा आचार्य

बिहानीपख म काम विशेषले नजिकैको हार्डवेयर पसलमा गएकी थिएँ। पसलको अघिल्तिर ३२/३३ वर्ष उमेरका जस्तो देखिने एक जना दाइ बसेका थिए। बिहानै पसल खोलेर होला, पसले दाइ सामान यताउता मिलाउँदै झर्कोलाग्दो पाराले उक्त व्यक्तिसँग कुराकानी गरिरहेका थिए।

उनले पसलेलाई भन्दै थिए, ‘दाइ तलब आएपछि दिइहाल्छु। यस्तो कठिन परिस्थितिमा मलाई तपाईंले नै सहयोग गर्नुहुन्छ भनेर यहाँसम्म धाएको।’ यो अर्थमा पसले दाइले उनलाई अगाडि आइपरेका समस्या समाधानमा पनि सहयोग गरेका रहेछन् भनेर अनुमान लगाएँ। उनको कुरा सुनेर पसलेले भने, ‘अनि कहिले आउँछ त तिम्रो तलब ?’

ती व्यक्तिले निन्याउरो चेहरा बनाउँदै भने, ‘आज १० गते भयो। यो महिनाको अन्तिममा आउँछ।’ उनको बोली भुइँमा झर्न नपाउँदै पसलेले भने, ‘ए १ अझै तलब आउन समय निक्कै बाँकी रहेछ। अस्ति पनि बेलामा चुक्ता गरेनौं। यस पटक पनि त्यसै गर्ने त होइन नि ? अब कामचाहिँ चलाइदिन्छु। तर तलब आइसक्दा आजबाट सयकडा ३ को दरले ब्याज र सावाँसहित बुझाउनू।’

उनले पनि ‘दाइ तलब आएको दिन म अफिस छुट्टी भइसक्दा नै आएर बुझाइहाल्छु’ भने। उनले टाउकोमा हात लाउँदै थपे, ‘मेरा लागि त यो तीज नआएको भए बेसै हुने थियो।’ नजिकै उभिएर दुवै जनाका कुरा सुनिरहेकी थिए। ती अपरिचित व्यक्तिलाई सोधें, ‘दाइ तीजलाई लिएर तपाईं किन यति धेरै हतोत्साहित हुनुहुन्छ ?’

उनले जवाफ दिए, ‘बैनी, एउटा सानो खुद्रा पसलमा सहयोगीका रूपमा मजदुरी गर्छु। महिना दिनको तलब घरबार चलाउन र नानीहरूको पढाइ व्यवस्थापन गर्नसम्म धौधौ हुन्छ। तलब आउन नभ्याई यता तलबभन्दा बढी ऋण लागेको हुन्छ। १५ दिन भयो घरमा बुढीले सुनका गहना किन्देऊ नत्र तिमिसँग बस्दिन भनेर कचकच गरेर हैरान परिन्। त्यही कचकचले दिनभरि काममा चैन छैन। साहुले काममा ध्यान दिनुस् भनेर गाली गरिरहन्छ। प्रफुल्ल भएर दिनभर आफ्नो काम गर्न नि सक्दिनँ।’

उनका आँखाभरि आँसु थिए। मसँग कुनै जवाफ थिएन।

उनी एक छिन थामिएर फेरि बोल्न थाले, ‘आफ्नी श्रीमतीका इच्छा र चाहानालाई पूरा गर्ने रहर कसलाई हुँदैन र बैनी! तर मेरो अवस्था यस्तै छ। थाप्लोमा ऋणको भारी नबोकेको कुनै दिन नै छैन। सानो कमाइ छ, कुनै चाडबाड आयो कि श्रीमतीलाई नयाँ गहना र कपडाको चिन्ता हुन्छ। आफूलाई भने भरैको छाक कसरी टार्ने भन्ने चिन्ताले मन पोलिरहन्छ। बर्सेनि तीजमा अरूलाई देखाउनकै लागि भए पनि श्रीमतीलाई नयाँ गर-गहना किनिदिनुपर्ने बाध्यता छ। अहिले तोलाको ९५ हजार पुगेको सुन मैले १ वर्ष मजदुरी गरेर पनि १ तोला किन्ने आम्दानी गर्न सक्ने अवस्था छैन। तीज आएपछि मेरो मात्र होइन म जस्तै अन्य गरिब दाजुभाइको पनि यस्तै हालत हुन्छ होला।’

उनको बिहे गरेको पनि ८ वर्ष भएको रहेछ। प्रत्येक वर्ष ऋण नलागेको चाडै नै हुँदैन। उनले फेरि उदास भावमा सुनाए, ‘घरमा श्रीमती बिहेमा नि धेरै गहना ल्याइदिएनौ, चाडपर्वमा नि किनिदिँदैनौ भनेर सताउँछिन्। अरूका श्रीमतीले फेसनअनुसार कपडा र गहना लगाउँछन्, आफू भने १ वर्ष अघिबाट यही एउटा तिलहरीमा चित्त बुझाउनुपरेको छ भन्छिन्। यहाँको कमाइले धानेन बैनी, बुढीलाई खुसी राख्नकै लागि भए पनि २-४ साल खाडीतिर जानुपर्ला भन्ने सोच बनाउँदै छु।’

उनका कुरा सुनिरहँदा मेरो मन नै भारी भयो, गला अवरुद्ध भयो। त्यहाँबाट उठेर म आफ्नो बाटो लागेँ। थप उनका कुरा सुनिरहन मलाई निक्कै कठिन भैसकेको थियो। यसरी सर्सर्ती हेर्दा चाडबाडको नाममा अपनाइले देखासिकीले कति जनाको घर-परिवारमा खटपटी र सम्बन्धमा चिसोपना अनि दैनिक जीवन गुजार्नमा सकस हुँदो रहेछ भन्ने कुरा अनुमान गरेँ।

नेपाली महिलाहरूको चाड तीज आइरहँदा महिलाहरूमा जति उत्साह छाएको देखिन्छ, उति नै मात्रामा सामान्य परिवारका पुरुषहरूलाई आर्थिक बोझले थिच्ने गरेको छ। हुनेखानेहरुको देखासिकी गरेर हुँदाखानेहरु ऋणको चपेटामा पर्ने गरेको पाइन्छ। ऋण खोजेरै भए पनि महंगो गहना र लत्ताकपडा खरिद गरेर तीज मनाउने गरेका उदाहरण हामीसँग व्याप्त छन्। यसले गर्दा पछिल्लो समयमा तिज निकै भड्किलो र महंगो हुँदै गएको छ भने यसले समाजमा विभिन्न खालका समस्या पनि निम्त्याउने गरेको पाइन्छ।

पछिल्लो समयमा नेपाली महिलाहरूले मनाउने उत्साहको पर्व तीजलाई आधुनिकताको नाममा विसंगतितर्फ मोड्न प्रेरित गरिरहेको छ- बजारमा आएका थरीथरीका तीज गीतहरूले। उक्त गीतहरू नेपाली मौलिकता, नेपालीपन र संस्कृतिभन्दा फरक तरिकाले तोडमोड हुँदै विकृत बन्दै गएका छन्। नेपालकी चर्चित लोकदोहोरी गायिका कोमल वली पोइला जान पाम। बोलको गीत गाएर धेरै विवादास्पद बनिन्। त्यसयता अहिले खुलेआम कलाकारहरूले झन् भड्किला गीत गाएर तिजको मौलिकतामाथि प्रश्न चिन्ह खडा गरेका छन्।

‘जामा लाउँदा छोटो भयो,
सारी लाउँदा सुहाएन,
उखरमाउलो बैंस छोप्ने चिज नै भएन
जवानीले पार्‍यो नि पिरलो
तीज आउँदा नि पिरलो न आउदानी पिरलो
चोरी खान पल्केको यो ढाडे बिरालो।’

पछिल्लो समय यस्तै भड्किला तीज गीतहरूले नेपाली समाजमा विकृति मात्र भित्र्याएको छैन, विशेष त मौलिक तीज गीतकै गरिमामाथि प्रहार गरेको छ। पहिलेका लोक स्रष्टाहरू गाउँमा उकाली र ओराली गरेर, घुमेर सामाजिक परिस्थितिलाई बुझेर तीज गीतहरू सिर्जना गर्थे तर अहिलेका कतिपय गीतहरू सुन्दा ठमेलको चोकमा बसेर जवान युवतीका तिघ्रा हेर्दै सिर्जना गरिएको जस्तो आभास हुन्छ। हामीसँग न त यस्ता गीतलाई रोक्ने कुनै निकाय छ न त हामी नै यस्ता नकारात्मक चेतना फैलाउने विकृत तत्वहरुमाथि खबरदारी गर्ने हिम्मत गर्छौं। अहिले मादल र डम्फुको तालमा तीज गीतमा बज्नै छोड्यो।

नेपाली मौलिकता बोकेका तीज गीतहरू बज्नै छोडे, पप हिन्दी र अंग्रेजी गीतहरूले समेत तीजमा राम्रो बजार पिटेको देखिन्छ। यहाँ स्वतन्त्रताको नाममा स्वचन्दताले शिखर चुमेको पाइन्छ। एक जना दिदीले ठट्यौलो भावमा भन्नुभयो- ‘दशैँ-तिहारभन्दा बढी खर्च हुन्छ बैनी तीजमा। एक जना साथीले तीजमा दर खाने निम्तो दिएपछि आफ्नो नि दशा सुरु भयो भन्दा हुन्छ । एउटा दरखाने कार्यक्रमको आयोजना गर्‍यो भने ४० देखि ५० हजारसम्म खर्च हुन्छ।’ अहिले त तीज जनकार्यक्रम सामुदायिक विद्यालय, निजी विद्यालयहरू, कार्यालयहरूमा सम्बन्धित व्यक्तिहरूसँग चन्दा उठाएर मनाउने गरेको समेत देखिन्छ।

तीज आउनुभन्दा एक महिनाअगाडि नै शहरका पाँचतारे होटल र पार्टी प्यालेसमा साउन बक्स बजाएर भड्किलो र पश्चिमा शैली अनुसार तीजको दर महँगा होटेलका खाना खाएका देखिन्छ। हामीसँग जे-जति चाडबाडमा छन्, तिनीहरूको आआफ्नो विशेषता छ। तर अहिले धर्म र संस्कृतिअनुसार मनाउनुपर्ने तीजलाई मोज मस्तीको लोभमा हाम्रो संस्कृतिलाई खेलौना बनाइएको छ।

पहिले पहिले तीज कहिले आउँला भन्दै दिदी बहिनीहरू औंला भाँच्दै दिन गन्दै बस्ने प्रचलन थियो। रेडियो, टेलिभिजनबाट गुन्जने गीतहरू सुन्दा लाग्थ्यो- साँच्चै तीज गीत नै बजेको हो। तर अहिले आधुनिकताको नाममा तीज अतिक्रमित भएको छ। अहिले भनेको जेठमा तीज गीत गाउने असारमा पार्टी सुरु र भदौमा तीज मनाउँदा दुई चार-लाख सकिने अवस्था भएको छ। वर्षको एक दिन मनाइने चाड तीज महिनौंसम्म मनाउने चलन सुरु भएपछि पारिवारिक कलह र ऋणको भारी नबढेर के बढ्छ त ?

आजको समयमा सबै कुरामा प्रतिस्पर्धा भएजस्तै सबैभन्दा बढी तीज पनि हुनेखानेहरूमा भएको देखिन्छ। शहरका सु-सम्पन्न परिवारका महिलाहरू दिनहुँ जसो नयाँ लुगा र गहनामा सजिएर हिँडेको देख्दा दैनिक ज्याला गरेर खाने महिलाहरूको मनमा अशान्ति र निराशा छाउनु स्वाभाविक हो। उनीहरूसँग आफ्नो भाग्य र कर्मलाई दोष लगाउँदै बस्नुको विकल्प छैन। अचेल सामान्य परिवारका पुरुषहरूमा पारिवारिक दबाबका कारण जसरी पनि कमाउनुपर्छ भन्ने भावना बढ्दा विभिन्न समस्याहरू बढ्दै गएका छन्। नकमाएर छाकै टार्न पनि त मुस्किल पर्न थाल्यो।

यसर्थ हामीले आधुनिकताको नाममा मौलिकता बिर्सनु हुँदैन। यस यथार्थलाई हामी आफैँले महसुस गर्नु पर्दछ। यदि ढिला गर्‍यौं भने तीज तीज रहँदैन, अनि समाज समाज रहँदैन। धार्मिक नारीहरूलाई अघि बढ्न दिनु पर्दछ। तीज सभ्य रूपले मनाउनु हाम्रो जिम्मेवारी हो। नारीको मात्र भनेर मनाइने तीज अहिले सारा नेपाली दाजु भई दिदी बहिनीहरूको चाड बन्नु सकारात्मक हो। त्यसैले तीजको मर्म अनुसार हुनेखाने र हुँदा खाने दुवै वर्गको साझा बनाउनु हामी सबैको नितान्त आवश्यक छ। सांस्कृतिक रूपान्तरणका लागि सबै तयार बनौं र बनाऔं।

Tags
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्