काठमाडौं। विसं २०७३ को तिहारमा लक्ष्मीपूजाको राति देशैभर कतै पनि विद्युत् सेवा अवरुद्ध भएन। सबैतिर झिलिमिली भयो। लोडसेडिङको मार खेप्न बाध्य नागरिकले लक्ष्मीपूजाको दिन राति बिजुली बाल्न पाएपछि त्यतिबेला विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हैसियतमा कुलमान घिसिङको चर्चा चुलियो। उनको यो सफल परीक्षणपछि चारैतिर वाहवाही चल्यो। यही सफलतापछि उनी २०७३ चैत १ देखि नेपालमा लोडसेडिङको विधिवत् अन्त्य गर्न सफल भए।
लोडसेडिङ अन्त्य गर्नु मात्रै उनको परिचय थिएन। वर्षौंदेखि घाटामा डुबेर नाजुक बनेको संस्थालाई कुलमान घिसिङले नयाँ जीवन दिएका थिए। उनले प्राधिकरणको गुमेको साख पुनः स्थापितसमेत गरेका थिए। जसका कारण आमनागरिकको विश्वास जित्न उनी सफल भए। उज्यालो नेपालको परिकल्पना साकार बनाएर आमनागरिकको मन जितेका कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा चार वर्ष बिताएर बिदा हुनैलाग्दा त्यतिबेला उनलाई फेरि नियुक्ति दिनुपर्ने मागले सामाजिक सञ्जालदेखि सडकसम्म चर्चा भइरह्यो।
सरकारी सेवामा रहेका कर्मचारीहरूमा कुलमान घिसिङप्रतिको नागरिकले प्रकट गरेको सम्मान उदाहरणीय बन्यो। उनले आफूलाई नागरिकको सेवकका रूपमा प्रस्तुत गरे। जस भावनाले उनलाई आमनागरिकले आफ्नो हिरोका रूपमा देखे। र उनको पुनरागमनको निम्ति सडक प्रदर्शन पनि भए। तथापि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई पुनर्नियुक्ति दिएन। ओली सरकार ढलेपछि पाँच दलको गठबन्धनको सरकारले घिसिङलाई पुनः नेपाल विद्युत् प्राधिकरणको जिम्मेवारी सुम्पेको छ।
को हुन् कुलमान ?
नेपाली जनताको मन मुटुमा बस्न सफल कुलमान घिसिङको प्राथमिक शिक्षा रामेछापको दुर्गममा अवस्थित सरकारी स्कुलबाट सुरु भएको हो। उनले कक्षा पाँचसम्मको अध्ययन त्यही पुरा गरेका थिए। त्यतिबेला विद्यालय पढ्दाको अनुभव उनी यसरी स्मरण गर्छन्, ‘गाउँमा टुकी बालेर पढ्थेँ। राति अबेरसम्म टुकी छेउमा बसेर पढ्दा नाकमा कालो ध्वाँसो बसेको हुन्थ्यो।’
कक्षा पाँच पास गरेपछि उनी काठमाडौं आए। त्यसपछि कुलमानले बानेश्वरको अमर आदर्श बोडिङ स्कुलमा पढे। सोही स्कुलबाट २०४३ सालमा उनले एलएलसी पास गरेका थिए। लैनचौरस्थित अमृत साइन्स क्याम्पसबाट आइएसी गरेका उनले त्यसपछि छात्रवृत्तिमा भारतबाट इलेक्ट्रिकल इन्जिनियरिङमा बीएससी गरे। पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट ‘पावर सिस्टम इन्जिनियरिङ’ मा स्नातकोत्तर सकेपछि उनले सिनामंगलको एस इन्स्टिच्युटबाट व्यापार प्रशासनमा पनि स्नातकोत्तर गरेका थिए।
२०५१ सालमा प्राधिकरणको सातौं तहको इन्जिनियरबाट सेवा सुरु गरेका उनले झण्डै २० वर्षको अवधिमा प्रसारण, वितरण र उत्पादन क्षेत्रमा अनुभव हासिल गरेका छन्। चिलिमे जलविद्युत कम्पनीमा उनले २०६७ साउनदेखि २०७१ असारसम्म चार वर्ष प्रबन्धक सञ्चालकको जिम्मेवारी सम्हालेका थिए। रसुवागढी, मध्यभोटेकोसी, सान्जेन माथिल्लो सान्जेन अघि बढाउन उनले विशेष भूमिका खेलेका थिए।
२०७१ मा तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले हस्तक्षेप गरेपछि उनलाई २०७१ साउनमा घिसिङलाई प्राधिकरणमा फिर्ता बोलाइएको थियो। २०७१ असोजमा उनी प्राधिकरणको ११औँ तह अर्थात् निर्देशकमा बढुवा भएका थिए। निर्देशक भएपछि उनी राहुघाट जलविद्युत आयोजना प्रमुखको जिम्मेवारीमा थिए।
जब आमनागरिक लोडसेडिङको मार खेप्न बाध्य थिए, त्यही बेला कुलमान घिसिङ उज्यालो बनेर उदाए। सरकारले उनलाई नेपाल विद्युत् प्राधिकरणको जिम्मेवारी सुम्पेपछि कुलमान घिसिङले नेपाललाई लोडसेडिङ मुक्त बनाएर देखाई दिए। तर, नेपालमा ‘राम्रो व्यक्तिलाई राम्रो स्थान नदिने’ जस्तो नियति नै देखिन्छ। कुलमानको नेपाल विद्युत् प्राधिकरणमा कार्यकाल सकिएपछि हजारौं नागरिक सामाजिक सञ्जालदेखि सडक आन्दोलनमा आए। सबैको एउटै आवाज थियो ‘कुलमानलाई नेपाल विद्युत् प्राधिकरणमा पुन नियुक्ति गरियोस्।’
तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको आवाजलाई व्यवास्था गरेर आफ्नो साला हितेन्द्र देव शाक्यलाई नियुक्ति गरी छाडे। कुलमान घिसिङ हुँदा ३५ अर्ब घाटा आपूर्ति गरेर १२ अर्ब नाफा पाएको विद्युत् प्राधिकरण, हितेन्द्र देव शाक्य आएपछि जनताले फेरि अँध्यारो महसुस गरे। विद्युत् प्राधिकरणमा पुनः कुलमान घिसिङको अभाव महसुस भयो। देशले नयाँ सरकार पाएसँगै प्राधिकरणको जिम्मेवारी पुनः कुलमान घिसिङले सम्हालेका छन्।
एउटा सक्षम, कुशल र इमान्दार व्यक्तित्व कुलमान घिसिङ पुनः नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो कार्यकालका लागि पाउनु देशका लागि खुसीको कुरा हो। उनको दोस्रो कार्यकाल मुलुकको समृद्धिको बाटोमा एउटा महत्त्वपूर्ण आधारशिला बन्ने विश्वास र अपेक्षा आमनागरिकको छ। ब्राजिल पछिको विश्वकै दोस्रो जलश्रोतको धनी देश नेपालले कुलमानको नेतृत्वमा जलस्रोतबाट ठूलो आर्थिक समृद्धि हासिल गर्ने अपेक्षा छ। उनको यो कार्यकाल देशका लागि अविस्मरणीय बनोस् शुभकामना।



लोकपाटी न्यूज

