‘मार्क्सवादी अर्थव्यवस्था आजको आवश्यकता’

Radhika ojha
लोकपाटी न्यूज

-राधिका ओझा

कमरेड कार्लमार्क्स भन्नुहुन्छ, दार्शनिकहरूले संसारलाई विभिन्न तरिकाले व्याख्या मात्र गरे तर मुख्य कुरा त्यसलाई बदल्नु हो। यसैले मार्क्सवादी दर्शन संसारलाई बुझ्ने र बदल्ने दर्शन हो। यो सर्वहारा वर्गको मुक्तिको दर्शन हो भन्नसक्छौं। द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद माक्र्सवादी दर्शन हो र अतिरिक्त मुल्यकोे सिद्धान्त मार्क्सवादी राजनीतिक अर्थशास्त्रको अधार हो।

मार्क्सवादीले विचार मात्र प्रस्तुत गर्दैन कि त्यसलाई व्यवहारमा लागू गर्ने वैज्ञानिक विधि र प्रकृया समेत प्रस्तुत गर्दछ।कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सद्वारा सन् १८४८ मा लिखित कम्युनिष्ट पार्टीको घोषणापत्रमा उल्लेख छ कि सम्पूर्ण मानव समाजको आज सम्मको इतिहास वर्ग संघर्षको इतिहास हो र हरेक युगमा शोसक र शोसित गरि मुख्य दुई वर्ग हुन्छन्।

यी दुई वर्ग विच शत्रुता पूर्ण व्यवहार बढ्दै जादा अन्तमा शोसीत पक्ष संगठित भई विद्रोह गर्दछन् र नयाँ युगको प्रारम्भ हुन्छ। वास्तवमा अहिले सम्म भएको पनि यहि छ। दास युगमा दास र दासमालिक दुई वर्ग थिए। दासहरु माथिको चरम यातना र उनिहरुमा आएको चेतनाले दासहरुले मालिकको विरुद्ध विद्रोह गरि दास युग अन्त्य भयो, सामान्ति युगमा कृषक र जमिन्दार दुई वर्ग रहन्छन्, भुस्वामिहरु र त्यसकै पक्षपोषक सामान्ति राज्यसत्ताको चरम शोषण दमन खप्न नसके पछि किसान मजदूर संगठित भई विद्रोह छेड्दन् र सामान्ति युग ढल्दछ र पुँजीवादी युगको उदय हुन्छ। पुँजीवादी युगमा पनि पुँजिपति र सर्वहारा दुई वर्ग रहन्छन्।

पुँजीपति वर्गले सम्पुर्ण उत्पादनका साधन र स्रोतमाथि कब्जा जमाउछ तर सर्वहारा वर्गसँग गुमाउन बाँकी केहि रहदैन। राज्यको सम्पूर्ण शक्ति आफ्नो हातमा लिएर पुँजीपति वर्गले सर्वहारामाथि चरम शोषण दमन गरि अकुत सम्पति आर्जन गर्ने र विलासि जीवन व्यतीत गर्दछन्। राज्यलाई आफ्ना ऐस टिकाउने साधनको रुपमा उपयोग गर्दछन्। कम्युनिस्ट घोषणा पत्रको पुजिजिवि र सर्वहारा भन्ने शिर्षकमा भन्नुहुन्छ, आधुनिक राज्य सत्ता भनेको तमाम पुँजिजिवि वर्गको सामान्य कार्यको प्रबन्ध गर्ने समिति मात्र हो।

१८औं शताब्दीमा बेलायतको औद्योगिक क्रान्तिसँगै शुरु भएको पुँजीवाद आज २१औं शताब्दीमा आइपुग्दा भुमण्डलिकृत एकाधिकार पँुजीवादमा परिणत भई नवसाम्राज्यवादको रुप धारणा गरेको छ। उत्पादनको प्रमुख शक्ति श्रमको अतिरिक्त मूल्य शोषण गरेर संकलित पुँजिलाई मानव मैत्रि प्रयोग भन्दा पनि शक्ति सञ्चयको साधनको रुपमा पुँजिपतिले एकलौटी उपयोग गर्दै आएको छ। यसले धनी र गरिबबिचको खाडल झन्झन फराकिलो बनाउदै लगेको छ। आजको दुनियाँमा विश्वका केही सिमित व्यक्तिहरु र मुलुकहरुसँग सम्पति र शक्तिको ठूलो हिस्सा केन्द्रिकृत छ भने बाँकी विश्व दोस्रो र तेस्रो दर्जामा परिणत भएका छन्।

आयको वितरणमा यति असमानता बढेको छ कि सुडान बुरुणडी जस्ता मुलुकका जनतासँग प्रतिव्यक्ति आय कुल ग्राहस्थ उत्पादनको लगभग ३०० अमेरिकी डलरको हाराहारीमा मात्र रहेको छ भने अमेरिका,चाइना ,बेलायत ,फ्रान्स,जापान जस्ता मुलुकका जनताको प्रतिव्यक्ति आय ६०००० अमेरिकी डलर भन्दा माथि नै पर्न आउँछ। त्यसै संसारका १० धनी व्यक्ति सग पृथ्वीको २० प्रतिशत भन्दा बढि सम्पति रहेको छ। यो सारा ब्राह्मणलाई यी नै व्यक्ति र मुलुकहरुले आफ्नो कब्जामा राखेका छन्। विश्व भर आफ्नो एकाधिकार कायम राख्ने उद्देश्यले नयाँ नयाँ खोज र आविष्कारको क्षेत्रमा अन्धाधुन्ध लगानी बढाइ रहेका छन्।

सहयोग र अनुदानको रुपमा चारो फालेर ती देशहरुमा आर्थिक, सामाजिक,राजनीतिक तथा साँस्कृतिक हस्तक्षेप बढाइ रहेका छन्। नेपालको एमसीसी विवाद र अहिले देखा परेको राजनीतिक अन्योलता पनि यसकै परिणाम हो। शक्ति सम्पन्न मुलुकहरुले कमजोर मुलुकहरुको प्राकृतिक श्रोत साधनमाथि आधिपत्य जमाउन व्यापारीक तथा वित्तिय एकाधिकारी संस्थाहरु खडा गरेर साम्राज्यवादी जालो फैलाइ रहेका छन्।

UNO, GATT, IMF, G7, EU यी संस्थाहरुले जति राम्रो कुरा गरेपनि अन्ततः तिनै शक्तिशाली राष्ट्रको भिटो पावरमा चल्ने र तिनिहरु कै पक्षपोषण गर्दछन्। कमजोर मुलुकहरुमा वित्तीय, सुचना तथा ब्यपारको माध्यम बाट परनिर्भर बनाउदै तिनै मुलुकको कच्चा पदार्थ र सस्तो श्रमिक उपयोग गरेर आफ्नो व्यपारि अड्डा जमाइ रहेका छन्। प्रविधिको विकाससँगै मजदूरको स्थानमा आधुनिक यन्त्र प्रयोग गरेर एकातर्फ अधिक र अनावश्यक उत्पादनलाई बढवा दिइ रहेका छन् भने अर्कोतर्फ बेरोजगारि र श्रम शोषणमा देखिएको तीव्र वृद्धिले बजार माग र पूर्तिमा असन्तुलन भई बारबार आर्थिक मन्दिको सामना गर्नु परिरहेको स्थिति पनि छ।

सन् १९३० को महामन्दी र २००८ मा देखा परेको वित्तीय संकट पुँजीवादको नाइके भनि चिनिएको अमेरिकाले भोग्नु परेको थियो। पुँजीवादमा यस्ता सानाठूला संकटहरु निरन्तर आइ रहन्छन् जो बाहिर ल्याइदैन। आफ्नो प्रभुत्व जमाउन कमजजोर मुलुकहरुमा सहयोग र अनुदानको रुपमा चारो फालेर ती देशहरुमा आर्थिक, सामाजिक ,राजनितीक तथा साँस्कृतिक हस्तक्षेप बढाइ रहेका छन्।

नेपालको एमसीसी विवाद र अहिले देखा परेको राजनीतिक अन्योलता पनि यसकै परिणाा हो। आजको भुमण्डलिकृत पुँजिवादले मानव समाजलाई पुँजीपति र सर्वहारा वर्गमा विभाजि त गर्यो नै त्यो भन्दा बढि प्रकृति र मानव समाजलाई असुरक्षा र अन्योलता तर्फ धकेलि रहेको छ।

हाल विश्व मानव समुदायले भोगिरहेको कोरोना भाइरसको महामारी यसकै उपज हो भन्दा अत्युक्ति हुँदैन। जलवायुमा आएको परिवर्तन,आधुनिक हातहतियारको उत्पादन र प्रक्षेपण, आर्टिफिसियल इन्टेलिजेन्टको प्रयोग, सूचना प्रणालिमा डाटामाथि नियन्त्रण र न्यानो टेक्नोलोजिको प्रयोग, शून्यवाद वा उत्तर आधुनिकतावाद, क्वान्टम मेकानिज्मको विच्छेद र सम्भावनाका नियमहरु, मार्जिनल कष्टोसाइटिको अवधारणा, यी र यस्तै नयाँ अवधारणाहरु बाहिर आइ रहेका छन्।

यसले दुनियाँ कता तिर गइरहेको छ, र यसले समग्र मानव जाति त्यसमा पनि हाम्रो जस्तो आर्थिक तथा राजनीतिक रुपले कमजोर धरातलमा रहेका मुलुकको भविष्य कस्तो हुने हो अनुमान लगाउन त्यति सजिलो छैन। श्रमको अतिरिक्त मूल्य शोषण गरेर सञ्चित पुँजीबाट विश्वका केहि मुठ्ठी भर व्यक्ति र मुलुकहरु मात्र मोटाएका छन्।

बाँकी श्रमजीवीहरु सर्वहारा वर्गमा परिणत हुने क्रम तीब्र छ। यदि यस्तै हो भने किन चाहियो विकास ? मानवता र समानता विरोधी विकासको के अर्थ रहन्छ र ? श्रमको अतिरिक्त मूल्य शोषण गरेर कुम्ल्याएको अकुत सम्पतिले पागल भएको पुँजीवाद आज आफैंमा समस्या ग्रस्त बन्दै गइरहेको छ भने समाजवादको अपरिहार्यता महशुस गराइरहेको छ।

वास्तवमै आज कार्ल माक्र्सले भन्नुभए जस्तो पुँजीवादले आफ्नो चिहान आफैं खनिरहेको छ। मानव शक्ति उत्पादनको प्रमुख र अनिवार्य साधन हो। श्रमको प्रयोग नगरी मालको उत्पादन सम्भव छैन। तर वितरण प्रणालीमा श्रमिकको उपेक्षा मात्र हैन शोषण गरिन्छ। पुँजिपतिले उत्पादनका सारा साधनमाथि कब्जा जमाएर श्रमिकलाई सस्तोमा श्रम बेच्न बाध्य पार्दछ।

अर्थात सामूहिक उत्पादन तर व्यक्तिगत वितरण प्रणालि पुँजिपति अर्थतन्त्रको विशेषता हो। समस्याको मुलजड पनि यहि हो। यहि विषयलाई कार्ल मार्क्सले अतिरिक्त मुल्यको सिद्धान्तमा व्याख्या गर्नु भएको छ। माक्र्सको यो सिद्धान्त श्रमको शोषणको सिद्धान्तको नामले प्रख्यात छ। वहाँ भन्नुहुन्छ जबसम्म मुद्रालाई वस्तु विनिमयको माध्यमका रुपमा प्रयोग गरिन्छ त्यो बेला सम्म ठिक छ। अर्थात् त्यहाँसम्म अतिरिक्त मूल्य सञ्चय हुन पाउदैन।

माक्र्सले यसलाई अर्थात माल-मुद्रा-माल (M-C-M)  को रुपमा शुत्रबद्द गर्नु भएको छ। तर जब मुद्रालाई नाफा आर्जन गर्ने वस्तुको रुपमा प्रयोग गरियो अर्थात मुद्रा-माल-मुद्रा (M-C-M)को आर्थिक धारणा विकास भयो त्यसपछि भने श्रमको चरम शोषण र पुँजी निर्माणले तीव्र गति लियो जुन आज आएर भुमण्डलिकृत एकाधिकार पुँजिवादको  रुपमा ग्रहण गरेको छ। हुन त पुँजीवादले संरचनागत निर्माण त गरेको छ। मानव समाजलाई डिजिटल युगमा ल्याई पुर्‍याएको छ तर अधिकांश भोकानाङ्गा मानवको कल्याण गर्न सकेको छैन।

मंगल ग्रहमा मानव वस्ति बसाउने प्रयासमा रहेको आजको दुनियाँ पृथ्वीका भोका वस्तिहरुमा आगो लगाइ रहेको छ। आर्टिफिसियल इन्टेलिटेन्टलाई प्रेम गर्ने पुँजीवाद बेरोजगार श्रमिकहरुको पेटमा हात बजारी रहेको छ। आखिर विकासको अर्थ के यहि हो ? आज विश्वका तमाम श्रमजीवी सर्वहाराले प्रश्न उठाइ रहेका छन्। यदि परिस्थिति यस्तै रहिरहे यो विषय प्रश्नमा मात्र सिमित रहने छैन कि विद्रोहमा परिणत हुने आधार बनिसकेको छ। अतः जबसम्म प्रकृति र मानवमैत्रि विकास तर्फ ध्यान केन्द्रित हुदैन वा समाजवाद उन्मुख अर्थ प्रणाली लागू हुँदैन तबसम्म विकासको नाममा शोषण र भावी पुस्ताको काँधमा बोझ सिवाय अरु केही हुनेछैन। अबको सामाजिक आर्थिक संरचना समाजवादी संरचना हो।

जो सर्वहारा वर्गको अधिनायकत्व सहितको वर्गरहित समतामुलक समाजको निर्माण। जो काल मार्क्सले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद अन्तर्गत प्रस्तुत गर्नुभएको वैज्ञानिक समाजवाद आजको अपरिहार्य आवस्यकता हो। अन्ततः आजको विश्व परिवेशमा समाजवाद अपरिहार्य भई सकेको छ। जसरि क्वान्टममा रहेको शक्ति विष्फोट हुँदा विच्छेद र सम्भावनाहरु देखा पर्छन् र पुरानो संरचना ध्वस्त भई नयाँ संरचना सिर्जना हुन्छ। त्यसरि नै समाजमा रहेको असमानतालाई अन्त्य गर्न र पुँजीवादलाई अन्त्य गरि साम्यवाद स्थापनाको लागि समाजका उत्पादक शक्तिमा विष्फोट गर्न जरुरी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्