अन्तरविरोधका नियम र मान्यताहरू

Maniratna Shrestha
लोकपाटी न्यूज

मणिरत्न श्रेष्ठ/कुनै पनि वस्तु, प्रकृति, समाज र चिन्तनमा दुई पक्षहरूबिच हुने द्वन्द्वलाई अन्तरविरोध भनिन्छ। विरोधी पक्षहरूको एकताको नियम भौतिकवादी द्वन्द्ववादको आधारभूत नियम हो। लेनिनको भनाइमा “समुचित अर्थमा द्वन्द्ववाद भनेको वस्तुहरूको सार तत्वहरूमा निहित अन्तरविरोधको अध्ययन हो।” त्यस कारण द्वन्द्ववादको अध्ययन गर्नु भनेको अन्तरविरोध र यसका नियमहरूको अध्ययन गर्नु हो। अन्तरविरोधलाई सही ढंगले सञ्चालन गर्ने प्रक्रियालाई अन्तरविरोधको नियम भनिन्छ।

अन्तरविरोधको नियमहरूको ज्ञानविना ठोस परिस्थितिको ठोस विश्लेषण ठिक किसिमले गर्न सकिन्न। अन्तरविरोधहरूका नियमहरूको सही ज्ञानद्वारा परिस्थितिको सही जानकारी प्राप्त गर्न सकिन्छ। जसले समस्याहरूको सही पहिचान र यसको समाधानका उपायहरू पत्ता लगाउन सक्दछ।

द्वन्द्ववादका तीन नियमहरूमा पहिलो विपरितहरूबिचको एकता र संघर्ष र दास्रो मात्राबाट गुणमा रुपान्तरणको नियमलाई माओत्सेतुङ्कद्वारा अन्तरविरोधको नियममा परिभाषित गरेका छन्। अन्तरविरोधको विभिन्न पक्षहरूको नियम र मान्यताहरू निन्नानुसार रहेका छन्, (क) अन्तरविरोधको सार्वभौमिकता, (ख) अन्तरविरोधको विशिष्टता, (ग) प्रधान अन्तरविरोध र अन्तरविरोधको पहलु, (घ) अन्तरविरोधको पहलुको एकता र तिनको संघर्ष, (ङ) अन्तरविरोधको शत्रुतापूर्ण स्थान, (च) अन्तरविरोधको रूपान्तरण।

(क) दुई विश्वदृष्टिकोण – मानव ज्ञानको सिंगो इतिहासभरि विश्वको विकासका नियमहरूको विषयमा सधै दुई किसिमका दृष्टिकोणहरू रहँदै आएका छन्, ती हुन् अधिभूतवादी दृष्टिकोण र द्वन्द्ववादी दृष्टिकोण।

(१) अधिभूतवादी दृष्टिकोण – अधिभूतवाद शव्दले भौतिक वस्तुभन्दा पर भन्ने अर्थ बुझाँउछ। अधिभूतवाद प्रकृति, प्रकृतिमा घटेको घटना, परिघटनाहरू, समाज र सामाजिक गतिविधिलाई हेर्ने, अध्ययन गर्ने, व्याख्या गर्ने द्वन्द्ववादी पद्धतिको विपरित रहेको हुन्छ। यसले कुनै विषयवस्तुलाई एकपक्षीय ढंगले मात्र हेर्ने बुझ्ने भएकोले यसलाई एकलकाँटे अवधारणा पनि भनिन्छ। कुनै पनि वस्तु कुनै पनि प्रकारले सम्वन्धित नहुने, छुट्टै स्वतन्त्र ढंगले अवस्थित रहेको हुन्छ भन्ने ठान्दछ। लेनिनले ‘‘अधिभूतवाद ज्ञानको निक्षेपीकरण हो’’ भनेका छन् भने माओले भडुवा विकासवाद, जडवादी, यात्रिकतावादी र सिर्जनात्मकता विरोधी भनी आलोचना गरेका छन्।

अधिभूतवादी दृष्टिकोणले शून्यमा आधारित रहस्यपूर्ण शक्तिले परमशक्तिको निर्माण गरी त्यसैबाट यो संसारको उत्पत्ति, स्थिति, जीव जगतको परिचालन भएको ठान्दछ। यो भौतिक वस्तुमा केन्द्रित नभई आत्मकेन्द्रित हुने गर्दछ । कुनै पनि वस्तुबारे जान्न नसकिने, अज्ञेय र रहस्यमयी ठान्दछ। त्यसैले यसलाई रहस्यवादी, अज्ञयवादी र आत्मवादी पनि भन्ने गरिन्छ। यसले पदार्थलार्ई अस्थायी र नाशवान ठान्दछ। शून्य र अज्ञेय तत्वलाई अविनासी देख्दछ। कुनै पनि वस्तुको अस्तित्व कायम भएदेखि नै जहाँको तहिँ स्थिर, नित्यता र गति तथा परिवर्तनहीन अवस्थामा रहन्छ भन्ने धारणा राख्दछ। यदि परिवर्तन भएको छ भने परिमाणको घटी बढी मात्र हुन्छ। त्यो घटिबढी हुनुमा आफैभित्रको आन्तरिक शक्तिबाट नभई बाह्य परम शक्तिबाट भएको ठान्दछ। कुनै वस्तु सधै त्यही वस्तुका रुपमा मात्र बारम्बार अवतरित हुन सक्छ। तर बेग्लै वस्तुको रुपमा रुपान्तरण हुन सक्दैन भन्ने मान्यता राख्दछ।

(२) द्वन्द्वात्मक विश्‍व दृष्टिकोण – अधिभूतवादी विश्‍व दृष्टिकोणको ठीक विपरित द्वन्द्वात्मक विश्‍व दृष्टिकोण हो। यसले कुनै पनि अदृष्य शक्तिलाई परिवर्तनको आधार नमानी वस्तुगत जगतलाई आधार मान्दछ। हरेक वस्तुको विकासको स्रोत वाह्य नभई अन्तरनिहित प्रेरक तत्व स्वयं वस्तुमा विद्यमान आन्तरिक अन्तरविरोधमा हुन्छ। वस्तुहरुको विकास प्रक्रिया विपरितहरुको एकता संघर्ष र छलाङ्गको रुपमा सम्पन्न हुन्छ। अधिभूतवादीहरुले सामाजिक विकासको कारणलाई समाज वाहिरको परिस्थितिलाई, जस्तै भूगोल र हावापानीलाई आधार मान्‍ने गर्छ। तर द्वन्द्ववादले यो कुरालाई स्वीकार गर्दैन, किनकी उस्तै भूगोल र हावापानी कुनै फेरबदल नभइकन पनि कयौँ विश्वका मुलुकहरुमा फेरबदल भएका छन्। हावापानी फेरबदल विनै रुस समाजवादमा फेरियो, जापान साम्राज्यवादमा परिणत भयो, चीनमा विकासले उथल पुथल ल्यायो।

द्वन्द्ववादीहरुले वस्तुहरुमा जुन परिवर्तनका स्वरुपहरु सधै आन्तरिक कारणमा निर्भर हुन्छन् भन्‍ने गर्दछ। यस विषयमा माओत्सेतुङको भनाइमा – कुनै वस्तुभित्र रहेका अन्तरविरोध नै त्यका विकासको मुलभूत कारण हुनछ, जबको त्यो र अरु वस्तुहरुको अन्तरसम्बन्ध र अन्तरप्रभाव त्यसको विकासका गौण करण हुन्छन्, बाहिरी कारण परिवर्तनको लागि खाली परिस्थिति हुन्छ भने आन्तरिक कारणहरु परिवर्तनका आधार हुन्छन्। तथा बाहिरी कारण आन्तरिक कारणहरुद्धारा क्रियाशिल हुन्छन्। उदाहरणको रुपमा माओत्सेतुङले पुनस् व्याख्या गर्छन् – कुखुराको फूलबाट चल्ला निकाल्ने प्रक्रियालाई लिनुस्। फूलमा चल्ला त्यतिबेला सम्म विकसित हुन्‍न, जबसम्म बाहिरबाट त्यसलाई ताप दिइन्‍न। तर फूलमा जे कुरा विकसित हुन्छ, जुन चल्ला त्यसबाट बाहिर आउँछ, त्यो फूलभित्र के छ भन्‍ने कुरामा निर्भर गर्दछ। उपयुक्त तापक्रममा फूल चल्लामा बदलिन्छ। तर ढुङ्गालाई जस्तै तापक्रम दिए पनि चल्ला निस्किँदैन। यसर्थ आन्तरिक कुरा नै प्रधान र वाह्य गौण हुन्छ।

(ख) अन्तरविरोधको सार्वभौमिकता – कुनै पनि वस्तु, मानव समाज घटना एवं चिन्तनमा अन्तरविरोध कायम रहेको हुन्छ। यो शुरुदेखि अन्तसम्म रहेको हुन्छ। हरेक चीजको अस्तित्व उसमा रहेको अन्तरविरोधमा निहित हुन्छ। एउटा अन्तरविरोध समाप्त भएपछि अर्काे अन्तरविरोध तत्कालै शुरु हुन्छ। अन्तरविरोध विनाको कुनै पनि चीजको अस्तित्व छैन र यो सार्वभौम हुन्छ भन्ने धारणा अन्तरविरोधको सार्वभौमिकता हो। अन्तरविरोधी पक्षहरूको आत्मनिर्भरता सम्वद्ध पक्षहरूबीचको संघर्षले उनीहरू जीवनलाई निर्धारण गर्दछ। अन्तरविरोधबारे कमरेड माओले भन्नुभएको छ, “अन्तरविरोधको सार्वभौमिकता वा निरपेक्षताको दुईवटा अर्थ छन्, एउटा हो, सबै वस्तुहरुको विकासको प्रक्रियामा अन्तरविरोध रहिरहन्छ र अर्काे हो, हरेक वस्तुको विकासको प्रक्रियामा विपरित तत्वहरुको गति शुरुदेखि अन्तसम्म रहिरहन्छ।” लेनिनले अन्तरविरोधको सार्वभौमिकताबारे स्पष्ट पार्दै, गणितशास्त्रमा – जोड र घटाउ, यन्त्र विज्ञानमा – क्रिया र प्रतिक्रिया, भौतिक विज्ञानमा – धनात्मक र ऋणात्मक विद्युत, रसायन विज्ञानमा – परमाणुहरुको संयोग र विच्छेद, सामाजिक विज्ञानमा – वर्गसमन्वय र वर्गसंघर्ष भन्नुभएको छ। यसमा माओ थप्नुहुन्छ – “युद्धमा आक्रमण र रक्षा, अघि बढ्नु र पछि हट्नु परस्पर घटनाहरू हुन्। एकको अभावमा अर्काको अस्तित्व रहन सक्दैन। यी सबै पहलु आपसमा संघर्ष पनि गर्दछन् र एक अर्काेमा निर्भर पनि रहन्छन्। यिनले युद्धलाई सम्पूर्ण पनि बनाउँछ, युद्धको विकासलाई अगाडि बढाउँछ र युद्धका समस्याहरूको समाधान गर्दछ।” यो नियम राजनीतिक पार्टीहरूमा र स्वयं कम्युनिस्ट पार्टीमा पनि लागू हुन्छ। पार्टीको जीवनबारे माओ भन्नुहुन्छ – “पार्टीभित्र विभिन्न विचारहरूको बिचको विरोध र संघर्ष चलिरहन्छ। यसले पार्टीभित्र समाजका विभिन्न वर्गहरूबिचको अन्तरविरोधहरूलाई प्रतिविम्व गर्दछ। यदि पार्टीभित्र अन्तरविरोध हुँदैन भने र तिनको समाधानका लागि विचारधारात्मक संघर्ष चलाइँदैन भने पार्टीको जीवन समाप्त हुन्छ।”

(ग) अन्तरविरोधको विशिष्टता – संसारको सबै वस्तु तथा समाजमा अन्तरविरोध कायम रहन्छ यसलाई अन्तरविरोधको सार्वभौम नियम भनिन्छ। तर ती क्षेत्रहरुमा सार्वभौमभित्र केही विशिष्ठता ९फरक, भिन्‍न० हुन सक्छ। कुनै पनि वस्तु तथा समाजमा अन्तरविरोधको सार्वभौम हुन्छ र त्यसभित्र पनि केही विशिष्ठता हुन्छ, त्यसलाई अन्तरविरोधको विशिष्ठता भनिन्छ। माओ भन्नुहुन्छ – गतिका प्रत्येक रुपमा विद्यमान विशिष्ट सारतत्व त्यसको आफ्नो विशिष्ट अन्तरविरोधद्धारा निर्धारित हुन्छ। यो कुरा प्रकृतिमा मात्रै होइन, अपितु सामाजिक र वैचारिक घटनामा पनि लागू हुन्छ। समाजमा हरेक रुप, विचारधाराको हरेक रुपको आफ्नो विशिष्ठ अन्तरविरोध र विशिष्ठ सारतत्व हुन्छ। उदाहरणको लागि मानिसको शरीरमा अक्सिजन र कार्बनअक्साइड र हाइड्रोजन हुने गर्दछ। तर कसैको कार्वनअक्साइड, अक्सिजन र हाइड्रोजन घटिबढी हुनु त्यसभित्रको विशिष्ठता हो। यसतै समाजमा पनि पुँजीवादी सबै देशहरुमा अन्तरविरोध हुनु सार्वभौम हो। तर ती देशबिच फरक खालको गुण भएमा त्यसलाई अन्तरविरोधको विशिष्ठता भनिन्छ। कुनै भीडमा आम मान्छेहरुको अन्तरविरोध सार्वभौम हुन्छ, तर त्यस भीडभित्र आम मान्छेको गुणभन्दा एउटा छुट्टै विषेश पहिचान भएमा त्यसलाई अन्तरविरोधको विशिष्ठता भनिन्छ।

(घ) प्रधान अन्तरविरोध र अन्तरविरोधको पहलु – अन्तरविरोधहरुको विशिष्ठताको अध्ययन गर्दा दुई कुरामा ध्यान दिन जरुरी छ। पहिलो कुनै मूल वस्तु वा प्रक्रियामा अनेकौ अन्तरविरोधहरु हुन्छन्। र तीनमा एउटा अन्तरविरोध प्रधान हुन्छ। दोस्रो अन्तरविरोधका दुई पहलुहरुमा कुनै एक पहलु प्रधान हुन्छ। हरेक वस्तुहरुमा दर्जनौ अन्तरविरोधहरु हुन्छन्। ती दर्जनौ अन्तरविरोधहरु कुनै खास समयमा आएर दुईको बिचमा अन्तरविरोध केन्द्रित भएर आउँछ र अन्य सबै गौण भएर जान्छन्। दुई विरोधी पक्षहरुमा जसको भूमिका निर्णायक हुन्छ र जुन पक्षले अर्को पक्षको अस्तित्व र भूमिकालाई प्रभावित पारिरहेको हुन्छ। त्यही नै अन्तरविरोधको प्रधान पक्ष हुन्छ। उदाहरणको रुपमा पुँजीवादी समाजलाई लिन सकिन्छ, पुँजीवादी समाजमा पुँजीपति वर्ग र सर्वहारा वर्गबिचको अन्तरविरोध, सामन्त वर्ग र पुँजीपति वर्गबिचको अन्तरविरोध, निम्न पुँजीपति वर्ग र सर्वहारा वर्गका बिच लगायतमा अनेकौ अन्तरविरोधहरुमध्ये पुँजीपति वर्ग र सर्वहारा वर्गबिचको अन्तरविरोध प्रधान अन्तरविरोध हुन्छ। नेपालमा द्दण्टघरण्टघ सालको जनआन्दोलनभन्दा अगाडि नेपाली काँग्रेस-एमाले, नेकपा माओवादी-एमाले, काँग्रेस लगायत दर्जनौं पार्टीहरुमा एक आपसमा थुप्रै मतभेदहरु थिए। तर माओवादी र संसदवादी पार्टीबिच १२ बुँदे समझदारी भएपछि ती दर्जनौं अन्तरविरोधहरु दुई पक्षबीच केन्द्रित भयो। प्रगतिशील लोकतान्त्रिक पक्ष र निरकुंश राजतन्त्रबीच देखा पर्‍यो। एक अर्कोबिच रहेको थुप्रै अन्तरविरोधहरु गौण भएर गए। यो प्रधान अन्तरविरोध हो भने अर्को एक अर्काबिच रहेका अन्य थुप्रै अन्तरविरोधहरु गौण अन्तरविरोध हुन गए। दोस्रो अन्तरविरोधको प्रधान पहलु विकासको क्रममा फेरबदल हुन्छ। आजको प्रधान अन्तरविरोध पछि गौण र गौण पहलु प्रधानमा बदलिने गर्दछ। यसलाई निषेधको नियमको रुपमा पनि बुझ्न सकिन्छ। पुँजीवादी समाजमा पुँजीपति वर्ग र सर्वहारा वर्गको पहलुमध्ये पुँजीपति वर्ग प्रधान पहलु थियो भने समाजवादी व्यवस्थामा सर्वहारा वर्ग प्रधान पहलुमा बदलिन्छ र पुँजीपति वर्ग गौणमा बदलिन्छ।

(ङ) अन्तरविरोधको पहलुको एकता र तिनको संघर्ष – अन्तरविरोधहरुको पहलुहरुको एकता र संघर्षलाई प्रतिपक्षहरुको एकता र संघर्षको रुपमा बुझ्न सकिन्छ। अन्तरविरोधमा पक्षहरुको बिच एकत्वकता र संघर्ष कुनै पनि वस्तुभित्र अन्तरनिहित रहेको हुन्छ। लेनिनले प्रतिपक्षहरुबिचको एकता र संघर्षको नियमलाई द्वन्द्ववादको सार र गुदि हो भन्नुभएको छ। जसरी चुम्बक उत्तरी ध्रुव र दक्षिणी ध्रुवको घनिष्ट सम्बन्धले चुम्बकको अस्तित्व रहेको हुन्छ। यसलाई एक अर्कोबाट अलग्याउन सकिँदैन। एउटा छड चुम्बकलाई दुई टुक्रा पारियो भने दुई टुक्रामा फेरी दुई टुक्रा पारियो भने दुई दुई ध्रुव पैदा हुँदै जान्छ। जति धेरै टुक्रा बनाए पनि यहि प्रक्रिया जारी रहन्छ। यस्तै समाजमा पनि प्रतिपक्षहरुको एकत्व र संघर्षमा आधारित रहेको हुन्छ। प्रतिपक्ष विनाको कुनै पनि वस्तुको अस्तित्व हुँदैन। प्रतिपक्षहरु नै वस्तुका ती आन्तरिक पक्षहरु प्रवृत्तिहरु र शक्तिहरु हुन्, जो एक अर्काको आश्रित भएको हुन्छ। एकले अर्काको अस्तित्वलाई अनिवार्य ठान्दछ। र एउटा बिना अर्काको कल्पना पनि गर्न सक्दैन्। ती दुई पक्षबिचको अटुट सम्बन्धलाई अन्तरविरोध पक्षहरुको एकत्व भनिन्छ। यस सन्दर्भमा कमरेड माओले ब्याख्या गर्नुभएको छ – “जीवन बिना मृत्यु हुँदैन, मृत्यु बिना जीवन हुँदैन, माथि नभए तल हुँदैन, तल नभए माथि हुँदैन, दुर्भाग्य नभए सौभाग्य हुँदैन, सौभाग्य नभए दुर्भाग्य हुँदैन, कठिनाई नभएर सुविधा हुँदैन, सर्वहारा नभई पुँजीपति हुँदैन, राष्ट्रमाथि साम्राज्यवादी उत्पीडन नभए उपनिवेश वा अर्ध उपनिवेश नभए राष्ट्रमाथि साम्राज्यवादी उत्पीडन हुँदैन। कुनै विशेष परिस्थितिमा कुनै पनि वस्तु, प्रकृति र समाजमा दुई विरोधी पक्षको एकत्व सँगसँगै संघर्ष पनि चलिरहेको हुन्छ। यसलाई अन्तरविरोधको पहलुहरुको एकरुपता र संघर्ष भनिन्छ।

(च) अन्तरविरोधमा शत्रुताको स्थान – कुनै पनि वस्तु तथा समाजमा अन्तरविरोध हुन्छ। अन्तरविरोध सर्वव्यापी र निरपेक्ष हुन्छ। अन्तरविरोध शत्रुतापूर्ण तथा मित्रातापूर्ण हुन सक्छ। पुँजीवादी समाजमा औद्योगिक पुँजीपतिहरु, व्यापारिक पुँजीपतिहरु, वित्तीय पुँजीपतिहरुको बिच अन्तरविरोध मित्रतापूर्ण हुन्छ। पुँजीपति वर्ग र मजदुर वर्गबिच अन्तरविरोध शत्रुतापूर्ण हुन्छ। त्यस्तै सामन्तवादी युगमा जमिन्दार वर्ग र किसान वर्गबिचको अन्तरविरोधहरु शत्रुतापूर्ण हुन्छ। समाजवादी व्यवस्थामा मजदुर वर्ग र किसान वर्गको अन्तरविरोध र जनताबिचको अन्तरविरोध मैत्रीपूर्ण हुन्छ।

पार्टीभित्र चल्ने अन्तरविरोधबारे कमरेड माओ भन्नुहुन्छ – “जबसम्म समाजमा वर्ग रहन्छन्, तबसम्म कम्युनिष्ट पार्टीभित्र सही विचार र गलत विचारबिचको अन्तरविरोधले पार्टीभित्र वर्ग अन्तरविरोधलाई प्रतिविम्ब गरिरहनेछ। सुरुमा केही मामिलामा केही जरुरी छैन भने यस्ता अन्तरविरोधहरु तत्काल शत्रुतापूर्ण बनिनहालुन्। तर वर्गसंघर्षको विकासको साथसाथै विकसित भएर ती शत्रुतापूर्ण बन्‍न सक्छन्। सोभियत संघको कम्युनिष्ट पार्टीको इतिहासले के कुरा बताउँछ भने लेलिन र स्टालिनका सही विचारहरु र ट्राट्स्की, बुखारिन तथा अरुका गलत विचारहरुबिचका अन्तरविरोधहरु शुरुमा शत्रुतापूर्ण रुपमा प्रकट भएको थिएन। तर पछि ती बिकसित भएर शत्रुतापूर्ण बने। चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासमा यस्ता उदाहरणहरु विद्यमान छन्। पार्टीमा हाम्रा अनेक साथीहरुका सही विचारहरुबिच अन्तरविरोधहरु पनि पहिला शत्रुतापूर्ण रुपमा प्रकट भएका थिएनन्। परन्तु ती पछि विकसित भएर शत्रुतापूर्ण बने। शत्रुतापूर्ण अन्तरविरोधको हल संघर्षबाट हुन्छ भने मैत्रीपूर्ण अन्तरविरोध मित्रतापूर्ण छलफलबाट र बहसबाट समाधान हुन्छ।

(छ) अन्तरविरोधको रुपान्तरण – कुनै पनि वस्तु वा समाजमा विद्यमान अन्तरविरोध सधैं उस्तै अवस्थामा रहन्छ। वस्तुभित्र विद्यमान परस्परविरोधी स्वत्वका कारण वस्तु निरन्तर गतिशील रहन्छ, जसले अन्तरविरोधको रुपान्तरणलाई प्रतिविम्बित गर्दछ। वस्तु वा समाजमा विद्यमानहरू एकअर्कामा टक्कर लिने क्रममा वस्तुको मात्रा र गुणमा समेत गुणात्मक परिवर्तन हुन्छ, जसलाई अन्तरविरोधको रूपान्तरण भनिन्छ। उदाहरणका लागिः पुँजीवादी समाजमा पुँजीपति वर्ग र सर्वहारा वर्गबिच अन्तरविरोध हुन्छ, यो शत्रुतापूर्ण अन्तरविरोध हो। यस्तो अन्तरविरोधले पुँजीवादी व्यवस्थाको अन्त्य र समाजवादी व्यवस्थाको उदय हुन्छ। अन्तरविरोधको रूपान्तरणबारे माओको संश्लेषण छ – ‘‘एकता, संघर्ष र रूपान्तरण।’’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्