-विश्वेश्वर कट्टेल
व्यक्तिवादी वैज्ञानिक दार्शनिक हरवर्ट स्पेनसर (Herbert Spenser) १९ औं शताब्दिका एक सबैभन्दा महत्वपूर्ण राजनीतिक विचारकको रूपमा लिइन्छ। व्यक्तिवादी विचारधाराका प्रतिपादक जेम्स स्टुवार्ट मिल्सलाई लिने गरिए पनि यसको विकास र विस्तारमा भने स्पेनसरको विचार महत्वपूर्ण रहन पुग्यो। सपेन्सरको जन्म सन् २७ अप्रिल १९२० मा इंल्याण्डको एक मध्यमवर्गीय गरिब शिक्षक परिवारमा भएको थियो। र, उनको मृत्यु ८ डिसेम्बर १९०३ मा भएको थियो। जुन समय स्पेन्सरको जन्म भएको थियो, त्यो समय इंल्याणडमा विज्ञान र दर्शनका क्षेत्रमा नयाँ प्रवृत्तिहरू भित्रदै थिए। गरिबीका करण स्पेन्सरले कुनै क्याम्पसमा अध्ययन गर्न पाएनन्। बाल्य अवस्थामा उनको रूचि जीवशास्त्रमा अत्यधिक थियो। उनि जीवशास्त्री लेमार्कको सिद्धान्तबाट बढी प्रभावित थिए। पछि उनले डारविनको सिद्धान्त समेत अध्ययन गरी दुवै जीवशास्त्रीको विचारबाट उनले वैज्ञानिक रूपमा व्यक्तिवादको नविन स्वरूप प्रदान गरे। पछि उनलाई अमेरिका र वेलायतका ठूला विश्वविद्धयालयहरूले डाक्टर उपाधि दिन खोजे तर उनले त्यो उपाधि स्वीकार गरेनन्।
स्पेनसरले विभिन्न विचारका स्रोतबाट प्रेरणा लिए पनि उनको विचारको मुख्य स्रोतमा भने प्रारिम्भक पर्यावरण, अंग्रेजी ¥याडिकलवाद, शैलिङ्ग र श्लेगतद्वारा प्रतिपादित जर्मनको आदर्शवादका साथै प्रकृति विज्ञान सम्बन्धी आफ्नो स्वअध्ययन नै थिए। (स्रोतपेज– १५१ पाश्चात्य राजदर्शन)
स्पेनसरका महत्वपूर्ण पुस्तकहरूमा
१. Social Statics–(१८५०–५१)
२. Principles या Sociology (१८७६–९६)
३. Descriptive Sociology (१८७६–९६)
४. Principles of Biology
५. Principles (१८७२)
६. Principles (१८७६–९६)
७. Synthetic Philosophy (१८६०–९६)
८.The people Sphere of Government (१८४२)
९. The man verses V/S State Political Institutions जस्ता धेरै विषयका धेरै पुस्तकहरू रहेका छन्।
स्पेनसरका पुस्तकहरूमा राजनीतिक विचार, प्रकृति र जीवको विकास बारेको विकासवादी सिद्धान्त, राज्यको अवधारणा र प्राकृतिक अधिकारको सिद्धान्त जस्ता विषयवस्तुहरु मुख्य रुपमा उल्लेख भएको पाइन्छ। व्यक्तिवादी वैज्ञानिक सोच राख्ने स्पेनसरले प्रतिपादन गरेका सिद्धान्तहरूको बारेमा संक्षिप्तमा चर्चा गर्न गइरहेका छौँ।
दर्शनको अध्ययन
दार्शनिकका विचार र सिद्धान्तहरू अध्ययन गर्दा प्रायः विषयवस्तु समानता जस्तै पाइन्छ। दर्शनहरू प्रायः मानव जीवनका लागि र जीवनका बारेमा महत्त्व दिएर नै प्रतिपादन भएको पाइन्छ। फरक यत्ति हो कि कुन दर्शन कति वास्तविक जीवनसँग सापेक्ष छ। कति कल्पनाको संसार खडा गरेर रमाउने गरेको छ। कुन कतिमा विज्ञान सम्मत ढङ्गले सत्य तथ्यहरू प्रस्तुत गरेर विवेचना भएका छन्। प्रस्तुत भएका ती विवेचना मानव जीवनको पथ–प्रदर्शन गर्न, जीवन व्यवस्थापन सुधार ल्याउन, सत्यको खोज र न्यायको पक्षमा लड्न र अड्न सक्ने तागत पैदा गर्न सक्षम देखिन्छ वा देखिदैनन्। र, यसले कस्तो शिक्षा प्रदान गर्छ भन्ने सन्दर्भ र जीवन व्यवहारका लागि दर्शनले खेल्न भूमिकाको आधारमा दर्शनको महत्त्वलाई लिन सकिन्छ।
पथप्रदर्शकको रुपमा
दार्शनिकका व्याख्या विश्लेषणले, हाम्रो जीवनका लागि पथप्रदर्शकको रुपमा काम गरेको हुनु पर्दछ। पथप्रदर्शक नाममा भ्रम थुपार्ने हैन, कतिपय भ्रम चिर्ने, विचार बनाउने, जीवनको महत्त्व बुझ्ने, प्रकृति र जीवन बिचको सम्बन्ध चिन्ने, साथै मानिसलाई सत्य, न्याय र वस्तुगत जीवनमा सजाउने खालका तर्कशील शक्ति पैदा गर्न मद्दत गरेको हुनु पर्दछ। मानिसले आफूलाई सिर्जनशील लगनशील र जीवन्त तुल्याउन दार्शनिक सिद्धान्त र त्यसले गरेको व्याख्या विश्लेषणले अतुलनीय सहयोग र्पुयाउने हुँदा दर्शनको अध्ययन मानव जीवनका लागि महत्त्वपूर्ण छ।
स्पेनसरको विकासवादी सिद्धान्त
स्पेनसरले भौतिक विकास र प्राणी शास्त्रीय विकासको सिद्धान्त समाजमा लागु गरेर मात्र सामाजिक विकासको सिद्धान्त प्रतिपादन गरे। उनले विकासको सिद्धान्तलाई तीन भागमा विभाजन गरेर व्याख्या गरे। जसमा, भौतिक विकासको सिद्धान्त, प्राणी विकासको सिद्धान्त र समाज विकासको सिद्धान्त। उनका अनुसार, ‘भौतिक जगत शक्ति र पदार्थबाट बनेको हुन्छ। शक्ति र पदार्थ यस्तो तत्त्व हो कि, यसको विशालता कहाँबाट शुरु हुन्छ र कहाँ अन्त हुन्छ थाहा पाउनै सकिँदैन। साथै शक्ति र पदार्थ आफ्नो अस्तित्वका लागि एकबाट अर्कोसँग अलग रहन पनि सक्दैनन्।’ (श्रोत पाश्चात्य राज दर्शनको पेज नं–५५४)
Nature of matter का बारेमा स्पेनसरको मत छ, पदार्थ अविनाशी तत्त्व हो। यसको कहिल्यै विनाश हुँदैन मात्र रूपान्तरण हुन्छ। रूपान्तरण प्रक्रियालाई दर्साउन उनको तर्क थियो कि, ‘विकास पदार्थको समन्वय तथा समयसँग सम्बन्धित त्यस्तो सक्रिय गति हो, जुन बेला त्यो पदार्थ एक अनिश्चित असम्बद्ध समानताबाट निश्चित सम्बन्ध तर्फ अगाडि बढ्दै भिन्नतामा बदलिन पुग्दछ।’
पदार्थ अविनाशी छ, त्यसैले शक्ति पनि अविनाशी छ। पदार्थ विना शक्ति र शक्ति विना पदार्थको अस्तित्व खोज्न सकिँदैन। यी दुवै सधैँ परिवर्तनकै मोडबाट गुज्रिरहेका हुन्छन्। यिनीहरूको स्वरूप स्थिर हुँदैन। यस कारण शक्ति र पदार्थबाट बनेको भौतिक जगत् अस्थिर छ र हरहमेसा बदलिइरहन्छ। (श्रोत पाश्चात्य राज दर्शनको पेज नं–५५५)
विकासवादी विधि
शक्ति र पदार्थको परिवर्तन एक विशेष विधिको प्रयोगबाट भएको हुन्छ। यिनका पृष्ठभूमिका समय गति र परिवर्तनका स्वः नियमले काम गरिरहेको हुन्छ। हामी त्यसलाई विकासवादी विधि र पद्धति भन्दछौँ। विकासवादी सिद्धान्तको नियम समग्र पदार्थमा लागू हुन्छ। तर, समय (वस्तुगत अवस्थाको प्रकृति र परिपक्वता) र पदार्थको गतिका कारण परिवर्तनको शक्तिमा भने समानता हुँदैन। शक्ति सङ्घर्षमा जो धेरै सक्रिय रहन्छ, जसले संघर्षमा बढी गति पैदा गर्न सक्छ, त्यसले नै बढी शक्ति हासिल गर्दछ। बढी शक्ति हासिल हुनु भनेको परिवर्तनको दर अझ तीव्र हुनु हो। यही पद्धति विकासवादी विधि हो।
विकासवादी सिद्धान्तलाई अचेतन (Inorganic) चेतन (organic) र चेतनोत्तर (Superorganism)गरी तीन किसिमबाट समान रुपमा लागू हुन्छ भनेर स्पेनसरले व्याख्या गरेका छन्। उनले विचारको व्यवहारिक पहलुको विवेचना गर्दै ‘विश्व शाश्वत जगत परिवर्तनशीलतामा निहित छ। परिवर्तन जगतको विषेशता वा गुण हो। परिवर्तनको यो चक्र बराबर चलिनै रहन्छ।’ भन्दै यसको विकास प्रक्रियालाई स्पष्ट पार्नका लागि उनले तीन मौलिक नियम र चार उपनियम प्रतिपादन गरे।
तीन मौलिक नियमहरू
१.Law या Persistence या Force शक्तिमा आधारित नियमः गति र पदार्थको विकासको कारण जुन शक्ति प्राप्त हुन्छ त्यस्तो शक्ति स्थायी हुन्छ र कम बेसी वा घटी बढी हुँदैन।
२.Law या Indestructibility या Matter पदार्थको अविनाशी नियमः यस अनुसार विकासको प्रक्रियामा पदार्थको स्वरूप परिवर्तन हुन्छ। तर, परिवर्तनले यसको गुण चरित्रमा भने असर गर्दैन। जस्तो पानी बाफ बन्दछ त्यही बाफ पानी पनि बन्दछ। अनुकूलता अनुसार।
३.Law या continuity या Motion गतिको निरन्तरताको नियमः पदार्थ गतिवान हुन्छ। गति निरन्तर भइन्छ। गतिको निरन्तरतासँगै पदार्थको रुपमा पनि परिवर्तन भइरहन्छ। जुन परिवर्तन चरम रुपमा पुगेपछि दृश्यमा देखा पर्दछ।
चार उप–नियम
पदार्थभित्र गतिको निरन्तरता कायम भई रहने हुँदा शक्ति, पदार्थ र गतिका बारेमा यी तिन नियमका अतिरिक्त चार वटा उपनियमहरू रहेको पनि बताएका छन्।
क. एकत्वको नियम (Law of uniformity) स्पेन सरका अनुसार ‘विकासको प्रक्रियामा सर्वत्र एकै नियमले काम गर्दछ।’
ख. रूपान्तरण र समन्वयको नियम (Transformation and Equivalent) पदार्थ रूपान्तरण अवस्थामा मात्रा समान रूपमा रहेको हुन्छ।
ग. न्यूनतम प्रतिरोध अधिकतम आकर्षण Law या (last Resistance) पानी त्यतै बग्न थाल्दछ जता उसका लागि कम भन्दा कम अवरोध हुन्छ। कम अवरोध खोज्ने गुण पानीको अधिकतम आकर्षण हो। जुन सहज बाटो छ त्यतै तिर आकर्षण बढ्दछ। र, पानी आखिर त्यही ठाउँमा पुग्दछ जहाँ पहिला देखि नै पानी जम्मा भएर रहेको थियो। यसमा आकर्षणको नियमले काम गरेको हुन्छ।
घ. क्रमिक गतिका नियम (Law of Attraction of Motion) गतिमा परिवर्तन क्रमशः हुँदै जान्छ। जति गति, त्यति तीव्रता। जति तीव्रता, त्यति गति। तीव्रता शक्ति हो, वेग हो, जोड हो र बल हो। शक्तिबाटै शक्ति पैदा हुने हो। पदार्थको क्रियासिलताको स्वभाव र अवरोध प्रतिरोध क्षमता अर्थात् चुनौती झेल्न सक्ने तागत अनुसार यसमा शक्ति पैदा हुन्छ। चुनौती झेल्ने तागत कम भयो भने गति अर्थात् शक्ति कम हुँदै जान्छ। गति भन्ने कुरा निरन्तर कहिल्यै पनि हुँदैन। कम बेसी कम बेसी चलिनै रहन्छ। किनकी गति शक्तिमा भर पर्दछ। शक्ति बढेको बेला गति बढ्दछ र गति घटेको बेला शक्ति घट्दछ।
प्रकृतिको उत्पत्ति बारेको धारणा
स्पेन्सरलेको समयमा प्रकृतिका बारेमा विभिन्न दार्शनिक विचारकले विभिन्न किसिमका वैचारिक धारणा र दृष्टिकोण अगाडि ल्याएका थिए। वैज्ञानिक सिद्धान्तको माध्यमबाट उनेले प्रतिपादन गरेका यो सिद्धान्त अनुसार ‘शुरु देखि नै यो ब्रह्माण्ड निरन्तर घुमिरहने वाला एक ग्याँसको गोला थियो। पछि त्यो गोला विस्तार विस्तार सेलाउँदै गयो। ठोस वस्तुमा परिणत हुन पुग्यो। पदार्थ ठोस वस्तु बन्दै गर्दा तीव्र गतिमा आफ्नो कक्षमा घुम्दै हुन्थ्यो। घुम्दै गर्ने क्रममा पदार्थबाट बनेको ठोस वस्तुहरू तीव्र गतिमा विभिन्न ससाना टुक्राहरूमा विभाजन हुन पुग्यो। टुक्रिएका पदार्थहरू सबैले आआफ्नो कक्ष निर्धारण गरी आफ्नै गतिमा घुम्न थाले। हामी यसैलाई ब्रह्माण्ड भनेर भन्दछौँ। घुमिरहेका यी गोलाहरूमा पहिला ग्यासको रूपमा विभिन्न पदार्थ कै प्रकृति अंश थियो। त्यहाँ बाफको रूपमा कुनै शक्ति उत्पन्न भएको थिएन। यसरी कुनै रूप विना नै यी ग्रह उपग्रह पृथ्वी चन्द्रमा र सूर्यले एउटा स्वरूप प्राप्त गरिरहेको थियो।’
भ्रमको जन्जालमा घेरिएका विचार
चेतनाहिन अवस्थाको त्यो समाजमा विज्ञान र ब्रह्माण्डको बारेमा उनले अगाडि ल्याएका यो सिद्धान्तको विकास प्रगतिशील थियो। यसले त्यस समय समाजमा फैल्याएका भ्रमहरूलाई चिर्न र सत्यको पक्षमा वकालत गर्नेहरूका लागि यो महत्त्वपूर्ण हतियार साबित भयो। त्यस वेला पादरीहरूमा ब्रह्माण्ड, सूर्य र ग्रहादि तारा गणको उत्पतिका बारेमा आफ्नै कुण्ठायुक्त धारणहरू थिए। ब्रह्माण्डको उत्पत्ति कुनै महापुरुषबाट भएको भ्रम थुपारिरहेका थिए। आज पनि छ। त्यो ससमय दार्शनिकहरू प्रायः पादरीहरू नै हुने हुँदा पनि सत्य भन्दा हिजोको आफ्ना पुर्खाका भ्रमको वकालत गर्नु नै उनीहरू धर्म ठान्दथे। यसरी मानव सभ्यताको विकास भ्रम र असत्यको जन्जालमा घेरिएको थियो।
अनिश्चितताको योगबाटै जीवको उत्पत्ति
उनले विकासको एक रोचक पक्ष उद्बोधन गरेका छन्। स्पेनसरले अचेतन समाजमा विकासको सिद्धान्त व्याख्या गर्ने क्रममा अनिश्चितताको नियम प्रतिपादन गरे। यो नियमले, पृथ्वी वा ब्रह्माण्ड पनि अनिश्चितताबाटै बन्न पुगेको र यो पृथ्वीमा जन्मेका हरेक जीवहरूको विकास र विविधता पनि काल क्रम अनुसार अनिश्चितताको संयोजन योगबाट नै बन्न पुगेको हो।
उनले चेतना जगतको अध्ययन गरेर यो निष्कर्षमा पुग्नुभयो कि, समस्त जीवको वर्तमान स्वरूप निर्धारण हुन धेरै वर्ष लाग्यो। यो निरन्तर परिवर्तनको तीव्र गतिमा छ, र परिवर्तन हुँदैछ। हामी भोलि यसको यस्तै स्वरूप हुन्छ भनेर भन्न सक्दैनौं। न कि हिजो हामीले आजको यस स्वरूपको कल्पना सम्म गर्न सकेका थिएनौं। मानिस र मानव समाजको परिवर्तन पनि यही अनिश्चितताको सिद्धान्तको पर्याय हो।
विकास र परिवर्तनबाट विविध स्वरूप
स्पेनसरका अनुसार विकास र परिवर्तनको यो युगमा जस्ता जीवहरू पृथ्वीमा रहेका थिए, तिनीहरू नै हजारौँ वर्षको जीवन बनेर अनेकौँ विभिन्न रूप र आकारमा यो पृथ्वीमा आज हाम्रा सामु देखा परेका छन्। यिनीहरु पहिला यस्ता थिएनन्। विकास र परिवर्तनसँग यस्तो हुन पुगेको हो। यसरी परिवर्तन हुनमा मुख्य रूपमा पदार्थबाट प्राप्त शक्ति नै हो। जसले सक्रियताको माग गरिरहेको हुन्छ। निरन्तर सक्रिय गति र गतिका लागि शक्ति नै विकास पद्धतिको वैज्ञानिक आधार हो। विकासका सबै पक्ष आज भन्दा भोलि विविधता बोकेर, पदार्थको गति र शक्तिमा निरन्तर अगाडि बढिरहन्छ।
स्पेनसरको विकासवादी सिद्धान्तमा विकासको सुरुवातमा जस्ता र जति जीवहरू पृथ्वीमा रहेका थिए तिनीहरूमा जीवन बाहेक कुनै विविध स्वरूप र आकार थिएन। जीवमा देखा परेको विकास र परिवर्तनको वैज्ञानिक विश्लेषण गरेर (Theory of Biological Evaluation) विकास र परिवर्तनमा प्राणी शास्त्रीय विकासको नियम प्रतिपादन गरे।
प्राणी शास्त्रीय विकासको सिद्धान्त
स्पेनसरले चेतना जगत् भन्दामाथि राखेर विकास सिद्धान्त लागू गरिनु पर्दछ भन्ने मान्यता अगाडि सारे। किनकी आज देखा परेको यो पृथ्वी, ब्रह्माण्ड , यहाँको भूगोल, वातावरण लगायत सम्पूर्ण जीव र प्रकृतिको स्वरूप रङ्ग, अकार प्रकार, गति गुण, स्वभाव, चरित्र जस्ता कुरा हजारौँ हजार वर्ष देखि निरन्तर समय सँगसँगै गति र परिवर्तन हुँदै हुँदै आज यो अवस्थामा आइपुगेको हो। यो क्रम निरन्तर जारी छ र जारी रहने छ।
उनले सिर्जनाको सुरुवाती अवस्थामा जीवको मात्र उत्पत्ति हुन पुगेको कुरा यस सिद्धान्तमा उल्लेख गरेका छन्। उनका अनुसार सुरुवाती चरणमा जीव बाहेक त्यसमा अन्य कुनै रूप रङ्ग थिएन। पछि विस्तारै जीवमा विभिन्न रूप रङ्गहरू देखापर्न थाल्यो। त्यही अनुसार जीवमा स्वभाव र प्रकृतिपन पनि फरक फरक देखिन थाल्यो। यही फरकपनले गर्दा प्रकृति विविध र रङ्गिन बन्न पुग्यो। प्रकृतिले सजाएको जीवन, जगत् र वनस्पति विविधता सँगै रूप र रङमा एक अर्काबाट अलग अस्तित्वमा देखा परे। यसबाट विभिन्न र फरक फरक रूप रङ्ग देखिन थाल्यो। आज हामी त्यसको एक खण्डको यात्रामा निरन्तर छौं। यो यात्रा भोलि पनि यसरी नै जारी रहने छ।
विकास चेतना र जगत
स्पेनसरको यस दृष्टिकोणमा दार्शनिक टी. डब्ल्यु. लिई.को धारणा छ कि, विकासवादलाई चेतना जगत भन्दामाथि राखेर स्पेनसरले जीवनको योग्यताको बारेको सिद्धान्त प्रतिपादन गरे। उनले प्राणी शास्त्रीय विकासको सिद्धान्तमा भनेका छन्– अस्तित्व रक्षाका लागि जीवन र जगतमा निरन्तर सङ्घर्ष हुन्छ। सङ्घर्षका स्वरूप र प्रभावका कारण जीवमा विविधताहरू क्रमिक रूपमा विकास हुँदै जान्छ। त्यसले जीवलाई पहिले भन्दा पृथक र विविध प्रकारको बन्न र बनाउन मद्दत गरिरहेको हुन्छ।
पृथ्वीको नियम अनुसार त्यही जीव मात्र जीवित हुन सक्दछ, जुन जीवसँग आफ्नो अस्तित्व रक्षा गर्न सक्ने अर्थात् अस्तित्व कायम गर्न सक्ने शक्ति हुन्छ। कुनै जाति दोस्रो जीव जातिको शत्रु हुन्छ भने कुनै जति मित्र पनि हुन सक्दछ। यसले समूहगत जातिको विकास गराउन पुग्दछ। यसका साथै आफ्नो अनुकूलताको लागि जीवले प्रकृतिलाई चिन्न जान्न बुझ्न र त्यसको अनुकूलन हुन प्रयास गर्दछ। प्रकृतिसँग सम्झौता गर्न पर्ने पनि हुन्छ। प्रकृतिले हरेकलाई बाँच्ने अवसर प्रदान गरेको हुन्छ। अवसर चिन्न सक्ने क्षमताले पनि जीवलाई आफ्नो रक्षा गर्न र विविधतामा निरन्तरता प्रदान गर्न सक्षम र सहयोगी तुल्याउँछ। प्रकृतिसँग सम्झौता गर्ने काम आफसे आफ बाँच्नका लागि गरेको सङ्घर्षले सिकाएको हुन्छ।
अस्तित्वको लागि संघर्ष
प्रकृतिका सबै जीवले आफ्नो अस्तित्व रक्षाका लागि संघर्ष गरिरहेका हुन्छन्। जीवले आफूलाई दुस्मन रुपी जीवसँग मात्र आफ्नो रक्षा गरेर हुँदैन। उसले प्रकृतिसँग पनि बच्न सिक्नु पर्दछ। प्रकृतिलाई चिन्न सक्नु पर्दछ। उसको नियमको अनुसरण गर्नु पर्दछ । प्रकृतिको नियम विरुद्ध जान कसैलाई छुट हुँदैन। कसैले जान खोजेमा पनि एक पटक निश्चित दण्ड पाउने छ। जुन दण्डले उसको विनाश गर्ने छ वा ठूलो क्षति ब्यहोर्ने छ।
प्रकृतिका यही नियमलाई दुरुपयोग गरी समाजमा रहेका टाठा बाठा भनाउँदाहरूले फट्याइँ गरेर ईश्वर र ईश्वरीय शक्तिको परिकल्पना गरे। प्रकृतिका रहस्यलाई ईश्वरीय लीला, कला र चालाको रूप दिई काल्पनिक ईश्वर खडा गरे। स्वर्ग नर्क जस्ता संसार खडा गरेकै कारण आज धर्मको नाममा मानिसमा भ्रम सिर्जना गरिएको छ। त्यही भ्रमको आडमा व्यापार र ठगि धन्दाको केन्द्रको रूपमा धर्म स्थापित गर्न मानिस सफल भएको छ। धर्मको नशा पिलाएर आज मानिसले आफ्नो घमन्ड, कुण्ठा, महत्त्वाकाङ्क्षा र शोषण प्रवृत्ति र राक्षसी व्यवहार छिपाउन सफल बनिरहेको छ।
छनोटको सिद्धान्त
प्रकृतिसँग संघर्ष गर्ने क्रममा जीवले आफूलाई भौतिक परिवेश अनुसार अनुकूलता खोज्दै जानु पर्दछ। जसले आफूलाई प्रकृति नियममा आबद्ध गर्न सक्दैन उसको अस्तित्व पनि समाप्त हुन्छ। संघर्ष विना जीवको अस्तित्व रहँदैन। त्यसैले सङ्घर्ष नै जीवको अस्तित्व रक्षाको आधार भएको कुरा बुझाउनका लागि स्पेन्सरले (The Principles of Natural selection) छनोटको सिद्धान्तको प्रतिपादन गरे। जुन जीवले आफूलाई प्रकृति अनुकूलन बनाउन असमर्थ हुन्छ, त्यसलाई प्रकृतिले नष्ट गरिदिन्छ।
प्रत्येक जीवले आफूलाई प्रकृति अनुकूलन बनाउन प्रयास गरिरहेको हुन्छ। जुन जीव बढी क्रियाशील रहन्छ ऊ कुशल हुन्छ र प्रकृतिको प्रतिस्पर्धामा अग्र रहन्छ। जो निष्क्रिय र कमजोर रहन्छ, ऊ प्रतिस्पर्धामा पनि पछि पर्दछ र तिनीहरूको जीवन असुरक्षित रहन्छ । यो प्रकृतिकै नियम हो। जो अकाट्य जस्तै छ। प्रकृतिको नियममा विजयी हुन प्रतिस्पर्धी बन्नै पर्छ। त्यसका लागि सक्रिय रहनै पर्दछ। हरेक जीव प्रकृतिको नियम भित्र आबद्ध छ। प्रकृतिको नियम विरुद्ध लाग्नु भनेको जीवले आफैँलाई समाप्त गर्न खोज्नु हो।
शिक्षा लिन जरुरी
प्रकृतिको नियम आजको मानव समाजले बुझ्न जरुरी छ। यो अकाट्य नियमबाट शिक्षा लिन जरुरी छ। हामी मानव सभ्यताको नाममा प्रकृतिलाई हातमा लिएका छौँ। कुनै बेला अकल्पनीय यस्तो भविष्य हाम्रा सामु रहेका छन्। डाइनासोर सभ्यता समाप्त भए जस्तै मानव सभ्यता त समाप्त हुँदैन र ? अवश्य हुन्छ। प्रकृति प्रतिको यो दोहनले प्राकृतिक असन्तुलन हुनासाथ त्यसलाई थेग्ने तागत शक्ति र हतियार मानवले न विकास गरेको छ, न विकास गर्न सक्दछ। प्रकृतिको छनोटको सिद्धान्तले प्रकृतिमाथिको हस्तक्षेपको गलत नतिजा प्राप्त हुने देखाएको छ।
कोभिड–१९ले दिएको शिक्षा
आज कोभिड- १९ कै कुरा गरौँ न कसले कल्पना गरेको थियो ? गाउँ बस्ती भन्दा सहर बजार किन बढी आक्रान्त भयो ? लाखौं मानिसले अकालमा मृत्युवरण गर्न परिरहेछ। लाखौंलाख अपाहिज जस्तै जीवन बाँच्न विववस भइरहेका छन्। इटालीका शहरमा डलरहरू हावामा उडिरहँदा पनि कसेले वास्ता गरेन। आखिर किन ? पैसा, प्रविधि, विज्ञ, विशेषज्ञ प्रयोगशाला के थिएन बनाएको तर सबैका मालिक मरिरहे। बचाउने आधार केही भएन ! बाबुको लास छुन छोराले पाएन ! श्रीमानको मृत्यु शोकमा श्रीमतीले साथ दिन सकिनन्।
यी सबले के कुरा दर्साउँछ भने यो शरीर हावा, पानी, माटो र ताप र आकासको संयोजनबाट तयार भएको प्रकृतिको उपहार हो। प्रकृतिको काख र कोख नै हाम्रो हुर्कने खेल्ने घर हो। हामीले प्रकृतिमाथि अत्याचार गर्नु भनेको आफ्ना सन्ततिका सुन्दर भविष्य कुल्चिएका छौं। प्रकृतिलाई सजाउन सके मात्र हामी प्रकृतिसँग फुल्न र फल्न थाल्छौं। प्रकृतिलाई जलाउन सके प्रकृतिसँग जल्न पुग्दछौँ। हिजोदेखि हाम्रा दार्शनिकहरूले गरेको यो सचेतना आज सम्म पनि मानिसले बुझेको छैन। बुझ्न आवश्यक छ।
राज्यको आवश्यकता
स्पेनसरले राज्यको आवश्यकता सम्बन्धी विश्लेषणात्मक र ऐतिहासिक गरी दुई दृष्टिकोण अगाडि सारेका थिए। यी दुवै दृष्टिकोणमा उनले समाजमा राज्यको अस्तित्व रहिरहने बताएका छन्। अर्थात् समाजको सञ्चालनका लागि राज्य र सरकार दुवैको उत्तिकै आवश्यकता र महत्व रहने बताएका छन्। व्यक्तिको आवश्यकता समाजको आवश्यकता बन्न पुग्दछ। समाजको आवश्यकता नै राज्यको आवश्यकता बन्न पुग्दछ। यसरी राज्यले व्यक्तिगत सहयोगको प्रतिनिधित्व गर्दछ भन्ने उनको मान्यता रहेको छ।
राज्य सार्वजनिक संस्थाको रूपमा
समूह ठूलो वा सानो भए पनि त्यहाँ श्रम विभाजन अधिकारको विशेषिकरण हुन्छ भन्दै उनले दार्शनिक औचित्यको रूपमा पनि समाजको सुरक्षाको लागि राज्यको आवश्यकता उल्लेख गरे। राज्यले सार्वजनिक भावनाको प्रतिनिधित्व गर्दछ। सो भावना पूरा गर्न प्रयत्नशील रहन्छ। त्यसैले राज्य सार्वजनिक संस्थाको रूपमा रहेको हुन्छ। राज्य कुनै व्यक्ति विशेषको नभई समाजका सबै सबैको हित समेट्ने साझा संस्था हुन्छ।
राज्यको अस्तित्व रहिरहने सम्बन्धमा स्पेनसरले राज्यका तीन वटा महत्त्वपूर्ण कार्यभार भएको बताएका छन्। जसमा, शान्ति स्थापना, बाह्य आक्रमणको रक्षा र समाज विरोधी कार्यका लागि व्यक्तिलाई दण्ड दिने जस्ता पर्दछन्। उनले राज्यले व्यक्तिको काममा कम भन्दा कम हस्तक्षेप गर्न पर्दछ र प्रत्येक व्यक्तिलाई अर्को व्यक्तिको तुलनामा समान अधिकार प्रदान गर्नु पर्दछ भन्ने दृष्टिकोण प्रस्तुत गरे। उनले राज्यले गर्न नहुने कामका बारेमा पनि सूची नै तयार बताएका छन्। जसमा, धार्मिक संस्थापन, दोस्रो देश माथिको अतिक्रमण, उद्योग, व्यापार र विनिमय आदि जस्ता कुराहरू पर्दछन्। उनले राज्य मनुष्यको एक अङ्गको रूपमा रहने र रहनु पर्ने धारणा पनि राखेका छन्।
दार्शनिकले दर्शन प्रतिपादन गरेर मात्र हुँदो रहेनछ। त्यसलाई चिन्ने जान्ने बुझ्ने र त्यसका सबल पक्षहरूलाई जीवन रूपान्तरणको रूपमा धारणा गर्ने, नेता, प्रशासक र राज्यको सार्वजनिक क्षेत्रमा काम गर्ने सबै सबैका लागि आवश्यक छ। यसैले प्रगतिशील सोच चिन्तन, विचार व्यवहार र सदाचार जीवनको उत्तम सम्पति मान्ने सदाचारी दार्शनिक स्पेन सरबाट केही शिक्षा मिल्न सक्ने आशा गरी यो आलेख यही समापन गर्दछु। अस्तु…।



लोकपाटी न्यूज

