विहान ८ बजेदेखि कार्यदलकाे बैंठक जारी, नेम्वाङले भने : सहमतिमा हस्ताक्षर गरेर यूरोकप हेर्न जान्छौं

UML_Karyadal
लोकपाटी न्यूज

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विवाद समाधानका लागि गठन गरेको कार्यदलको बैठक बिहान ८ बजेदेखि सिंहदरबारस्थित अर्थमन्त्रालयमा जारी छ।

बैठकमा विवाद समाधान खोज्नेबारे कार्यदलमा रहेका नेताहरु दिनभर लागे पनि समाधानको विन्दु भेटिएको छैन। कार्यदलमा रहेका ओली पक्षका उपप्रधानमन्त्री विष्णु पौडेलले विवाद समाधानका लागि पहल जारी रहेको बताएका छन्। कार्यदल बैठक चलिरहेका बेला आइतबार साँझ नक्सालस्थित होटल मेरियट पुगेर फर्किएका पौडेलले समस्या समाधानका लागि प्रयास भइरहेको बताएका हुन्। सहमति हुन्छ त ? भन्ने सञ्‍चारकर्मीको प्रश्नमा पौडेलले भने, ‘प्रयास जारी छ, हेरम्।’ उनी होटल मेरियटमा अर्थसम्बन्धी एउटा कार्यक्रममा सहभागी भएर फर्किएका थिए।

कार्यदलका सदस्य सुवास नेम्वाङले छलफल सकारात्मक भइरहेको दाबी गरेका छन्। ‘विवाद टुंग्याउन भनेर हामी लाग्यालाग्यै छौं, बिहान ८ बजेदेखि हामी एउटै कोठामा छौं,’ नेम्वाङले भने।

कार्यदल बैठक चलिरहेका बेला नेपाल पक्षका नेता घनश्याम भुसाल पनि बाहिरएका थिए। उनी कार्यदलमा भइरहेको छलफलका विषयवस्तुबारे नेता नेपालसँग परामर्श गरेर फर्किएका थिए। नेता नेपालले भने प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दालाई प्रभावित पार्ने गरी कुनै पनि सम्झौता नगर्ने आफूनिकट केन्द्रीय सदस्यहरुलाई जानकारी दिएका छन्। उनले दिउँसो आफू निकटका केन्द्रीय सदस्यहरुसँग छलफलसमेत गरेका थिए।

उता अध्यक्ष ओलीले दिउँसो ४ बजेका लागि एकलौटी रुपमा स्थायी कमिटी बैठक बोलाएका थिए। सहमति नजुट्दै बोलाइएको बैठकबारे कार्यदलमा छलफल भएको थियो। उक्त बैठक रोक्न कार्यदलका सदस्यहरुले आग्रह गरेका थिए। त्यसपछि ओलीले स्थायी कमिटी बैठक सोमबार साँझसम्मका लागि सारेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। कार्यदलबाटै विवाद समाधान गर्न भनेर बैठक सारिएको नेम्वाङले बताए। उनले भने, ‘हामी यता समाधान खोज्नकै लागि स्थायी कमिटी बैठक पनि सारिएको हो। हामी सहमति पत्रमा हस्ताक्षर गरेर यूरोकप फुटबल हेर्न जान्छौं।’

आज राति पौने १ बजे यूरोकप फुटबलको फाइनलमा इटाली र इंग्ल्यान्ड भिड्दैछन्। यसरी नेम्वाङले रातिसम्म वार्ता जारी रहने संकेत गरेका हुन्।