काठमाडाैँ। नेकपा एमाले कार्यदलले पार्टीभित्र देखिएका विवाद समाधान गरेको र भोलि सहमतिको घोषणा हुने बताएका छन्।
सिंहदरबारमा शनिवार बसेको कार्यदल बैठक पछि एमाले सचिव एवं कार्यदलका सदस्य गोकर्ण विष्टले भोलि सकारात्मक सन्देश प्रवाह गर्ने जानकारी गराएका छन्। ‘हामी सहमतिका लागि अन्तिम अन्तिम अवस्थामा आइपुगेका छौ, लगभग समस्यालाई समाधान खोज्ने विन्दुमा आएका छौं। आजको दिनमै सुखद समाचार घोषणा गर्न सकेका छैनौं’ शनिवारको बैठकपछि विष्टले भने, ‘भोलिको दिन एकताको सन्देश सुन्न आतुर कार्यकर्तालाई भोलि सकारात्मक सन्देश दिन्छौ। औपचारिक दिने काम मात्र बाँकी छ।’
पार्टीलाई एकताबद्ध गर्न दुवै पक्षले इमानदारी प्रयत्न गरेको बताए। सर्वोच्चको आदेश अगावै एमाले सहमतिको घोषणा हुने विष्टले बताए।
लामो समयदेखि अनौपचारिक सम्वादमा रहेका दोस्रो तहका नेताहरुले सोमबारदेखि कार्यदल स्तरमा छलफल गरेका थिए। पछिल्ला दिनहरुमा नेताहरुले सहमति नजिक पुगेको दाबी गरेपनि सर्वोच्च अदालतमा विचाराधीन संसद विघटनको मुद्दामा के गर्ने भन्ने समझदारी बन्न सकेको छैन।



लोकपाटी न्यूज

