बाँकी विवादका विषय शनिबार टुङ्ग्याउने एमाले कार्यदल बैठकमा सहमति

UML_Karyadal
लोकपाटी न्यूज

काठमाडाैँ। नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलमा एमालेलाई एकताबद्ध राख्ने सहमति जुटेको नेताहरुले दावी गरेका छन्। शुक्रबार झण्डै ८ घण्टा सिंहदरबारमा बसेको कार्यदलको बैठकले विवाद निम्त्याएका एजेण्डामा सहमति जुटाएको नेताहरुको भनाई छ। बैठकपछि कार्यदलका सदस्य एवम् एमाले प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार भाषिक शुद्धता लगायतका विषयलाई पूर्णता दिएर टुङ्ग्याउने जानकारी दिए।

‘केही भाषिक शुद्धता मिलाउनुपर्ने भएकाले भोलि फेरि बैठक बस्ने गरेर आठ घण्टा लामो बैठक सकिएको छ। एमालेको भविष्य के हुन्छ भनेर चिन्ता गरिरहेका कार्यकर्तालाई पार्टी एकता हुन्छ भन्ने कुरामा विश्वस्त हुन आग्रह गर्दछु’ ज्ञवालीले भने-‘आजको बैठकले एकताको आधार तय गरिसकेको छ। भोलिको बैठकले त्यसलाई अन्तिम रुप दिन्छ। विवादमा कसरी सहमति खोजियो भन्ने बारेमा पनि भोलि थाहा पाउनुहुनेछ।’

त्यस्तै कार्यदल सदस्य गोकर्ण विष्टले पनि लामो छलफलपछि सहमतिमा पुगेको बताए। उनले बाँकी विषयमा भोलि छलफल गरेर सहमति जुट्ने बताए। ‘आधा दर्जन विषयमा छलफल भयो, एकाध विषयमा छलफल बाँकी रह्यो, भोलि निष्कर्षमा पुग्छौ’ विष्टको भनाइ छ।