सबैको आत्मविश्वास बढाउने खालको मौद्रिक नीति ल्याउछाै : गभर्नर अधिकारी

लोकपाटी न्यूज

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सबैको आत्मविश्वास बढाउने खालको मौद्रिक नीति ल्याउने बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आगामी मौद्रिक नीतिमा समावेश हुनुपर्ने विषयमा दिएको सुझाव लिँदै उनले मौद्रिक नीतिले आत्मविश्वास बढाउने काम गर्ने बताए।

चालु आर्थिक वर्षको मौद्रिक नीतिले उद्योगी व्यवसायीसहित आम सर्वसाधारणको आत्मविश्वास मर्न नदिएको भन्दै उनले आगामी मौद्रिक नीतिले पनि उद्योगी व्यवसायीसहित आम सर्वसाधारणको आत्मविश्वास बढाउने बताए। “चालु वर्षको मौद्रिक नीतिका कारण हामीले उद्योगी व्यवसायीको आत्मविश्वास मर्न दिएनौँ। हामीले सबै सरोकारवालाहरूसँग छलफल पनि गरिसकेका छौँ। उद्योगी व्यवसायीको आत्मविश्वास बढाउन नै कोसिस गर्नेछौँ,” उनले भने। गभर्नर अधिकारीले सेजनले यथार्थपरक सुझाव दिएको भन्दै धन्यवाद व्यक्त गरे।

बिहीबार सेजनका अध्यक्ष भीमप्रसाद गौतमले गभर्नर महाप्रसाद अधिकारीलाई ३५ बुँदे सुझावका दिएका हुन्। चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनको चरणमै कोडिभ–१९ को दोस्रो लहरले अर्थतन्त्रलाई जटिल मोडको पुर्याएको भन्दै अर्थतन्त्र पुनरत्थानलाई नै ध्यानमा राखेर नीति ल्याउन उनले आग्रह गरे।

“चालु आर्थिक बर्षको मौद्रिक नीतिले कोरोना भाइरसबाट थलिएको अर्थतन्त्रलाई पुर्नजीवित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। राष्ट्र बैकले लिएको नीतिका कारण अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ तर मौद्रिक नीति कार्यान्वयनको चरणमै दोस्रो लहरको कोरोना भाईरसको असर बढेपछि फेरि नेपालको अर्थतन्त्र जटिल मोडमा पुगेको छ,” सेजनले भनेको छ, “यसबाट प्रभावित अर्थतन्त्रको पुनरत्थान गर्न मौद्रिक नीति सामु चुनौती थपिएको छ। एकातिर वित्तीय क्षेत्रलाई स्थायित्व दिनुपर्ने र अर्कोतर्फ राहत समेत दिनुपर्ने परस्परमा विरोधी (म्युचुअल्ली एक्सक्लुसिभ) विषयहरूलाई सन्तुलन गर्नुपर्ने चुनौती रहेको छ।”

कार्यक्रममा डेपुटी गभर्नरद्धय बम बहादुर मिश्र र निलम ढुंगाना, कार्यकारी निर्देशक एवं प्रवक्ता देवकुमार ढकाल पनि सहभागी थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्